‘अटो व्यवसायको भविष्य राम्रो छ’

 

पोखरामा अटोमोबाइल्स व्यवसायप्रति व्यवसायीको आकर्षण बढिरहेको छ भने यसका उपभोक्ता पनि बढिरहेका छन् । नयाँ–नयाँ गाडी पोखरा भित्रिने क्रम बढेसँगै नयाँ गाडी चढ्ने ग्राहकको संख्या पनि बढ्दो छ । यस क्षेत्रमा अटोमोबाइल व्यवसायको सम्भावना निकै राम्रो छ । भूकम्प तथा नाकाबन्दीका कारण ३ वर्ष अगाडि खस्किएको अटो बजार पुन चलायनमान भएको छ ।

यद्यपि, बीचमा बैंकहरुले लगानीमा कडाई तथा व्याजदर बृद्धिले गर्दा पनि असहज भएको थियो । अहिले पुन अवस्था सुध्रिएको छ । अहिलेको पछिल्लो समयमा हाम्रो व्यवसायमा सुधार भएको छ । व्यवसायीहरु पनि प्रतिस्पर्धी बजारमा चाडपर्वलाई लक्षित गरी विभिन्न उपहार योजनाहरु मार्फत ग्राहक आकर्षण गर्न लागि परेका छन् ।

समग्रमा पोखरामा अटो व्यवसायको अवस्था राम्रो छ । बिगतका प्रत्येक वर्ष वर्षेनी सवारी बिक्रीदर बृद्धि भइरहेको तथ्यांक छ । यस हिसाबले पनि पोखरा क्षेत्रमा यो व्यवसायको सम्भावना बढिरहेको पुष्टि हुन्छ । पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले पनि अटोलगायत अन्य व्यवसायको अवस्था राम्रो छ । सवारी साधनलाई शोखका रुपमा लिने पुरानो मान्यता छ । अब सवारी आधारभूत आवश्यकता बनेको छ । समयको परिवर्तनले यसलाई आधारभूत आवश्यकता बनाएको छ ।

पहिला मोबाइल, टेलिफोनलाई पनि शोखका रुपमा लिइन्थ्यो । अहिले मोबाइल, टेलिफोन आधारभूत आवश्यकता बने जस्तै सवारी साधन पनि आधारभूत आवश्यकता बनिसकेको छ । यसको ज्ञान सरकारलाई हुन आवश्यक छ । सरकारको सवारी नीति अटोमोबाइल मैत्री छैन । जनताको आधारभूत आवश्यकतालाई बिलासिताको बस्तुका रुपमा सरकारले लिने गरेको छ । जनताको आधारभूत आवश्यकतालाई बिलासिताको बस्तु भन्नु गलत हो । सरकारको यो नीतिमा सुधार हुन आवश्यक छ ।
कुराकानीमा आधारित

You might also like

Comments are closed.