‘अतिथि सत्कारका लागि आतुर छौं’

लालकाजी गुरुङ
अध्यक्ष, युनाइटेड क्लब पोखरा

युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचोक चौरमा पुस २७ देखि माघ ८ गतेसम्म नवौं संस्करणको ‘पोखरा महोत्सव’ हुँदैछ । महोत्सवका विविध विषयमा केन्द्रित रहेर क्लबका अध्यक्ष लालकाजी गुरुङसँग आर्थिक आवाजका लागि सन्देश श्रेष्ठले गरेको कुराकानीः

महोत्सवको तयारी कस्तो छ ?

पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । अब हामी उद्घाटनको प्रतिक्षामा छौं । महोत्सवका लागि आवश्यक सम्पूर्ण कामहरु भइसकेका छन् । स्टल व्यवस्थापनको काम भइसकेको छ । स्टलमा उद्योगी÷व्यवसायीहरुले आ–आफ्ना सामानहरु राखिसकेका छन् । मञ्च निर्माण गरिएको छ । सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ । सांस्कृतिक कार्यक्रम अन्तर्गतका सम्पूर्ण कलाकार तथा व्यवस्थापन टीम कार्यक्रम गर्नका लागि तयार भएर बसेका छन् । महोत्सवको प्रचारप्रसार पनि एकदमै राम्रो छ । आयोजक तथा स्थानीयहरु महोत्सवमा आउने दर्शक तथा पाहुनालाई आतिथ्यता दिन तयारी अवस्थामा छन् । सबै हिसाबले महोत्सवको तयारी शतप्रतिशत पूरा भएर अब उद्घाटनका लागि कुरेर बसेका छौं । अर्थात महोत्सवको तयारी सकेर अतिथि सत्कारका लागि आतुर भएर बसेका छौं ।

महोत्सवमा के–केका स्टलहरु रहन्छन् ?

महोत्सवमा तीन सय बढी स्टल रहनेछन् । महोत्सवका स्टलहरुमा कृषि, हस्तकलाका सामग्री, बाल उद्यान लगायतलाई प्राथमिकताका साथ राखेका छौं । खाद्य, कपडा लगायतका स्टलहरु पनि छन् । महोत्सवमा होमस्टेका स्टलहरु पनि छन् । होमस्टेमा हुने गतिविधीहरु महोत्सवमा राखिएको होमस्टेको स्टलबाटै अवलोकन गर्न सकिन्छ । टिपिकल तरिकाले होमस्टेका स्टल बनाइएको छ । यो विशेष आकर्षणका रुपमा रहने विश्वास लिएका छौं । साथै बाल उद्यानपनि महोत्सवको विशेष आकर्षण हो । यसका साथै पिङलगायतका रमाइलो गर्ने स्थल पनि छ ।

महोत्सवका मूख्य आकर्षणहरु के–के हुन् ?

प्रत्येक महोत्सवमा हामीले नयाँ कुराहरु दिने गरेका छौं । यस वर्ष पनि विशेष आकर्षणका रुपमा हामीले खुल्ला चिडियाखाना घुमाउने व्यवस्था मिलाएका छौं । यो सबैले मन पराउनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं । हामीले खुल्ला चिडियाघरको लक्ष्य लिएर काम शुरु गरेपछि पोखरेलीले विशेष चासोको रुपमा लिँदै आएका छन् । करिब ३ वर्ष बितिसकेकाले धेरैले खुल्ला चिडिया घर निर्माण कहाँ पुग्यो ? के–के काम भए ? लगायत जिज्ञाशा राख्नु हुन्छ । त्यसैले हामीले चिडियाघर निर्माण कसरी भइरहेको छ र त्यो कसरी बनिरहेको छ भनेर देखाउने व्यवस्था मिलाएका हौं । दैनिक रुपमा गाडीमा लगेर अवलोकन गराउँछौं । त्यस्तै यस वर्ष होमस्टे पनि विशेष आकर्षणका रुपमा रहन्छन् । विभिन्न ठाउँका होमस्टेहरुलाई स्टल बनाएर राखेका छौं । होमस्टेको झल्को महोत्सवको स्टलमै दिने हाम्रो प्रयास हो । त्यसका लागि उनीहरुले होमस्टेमा हुने टिपिकल घर नै बनाएका छन् भने होमस्टेमा हुने सम्पूर्ण गतिविधी महोत्सवमै प्रदर्शन् गर्छन् । हस्तकलाका स्टलहरु पनि महोत्सवको आकर्षणका रुपमा रहन्छन् । कृषि, फर्निचर लगायतलाई पनि महोत्सवमा राखेका छौं । त्यसैले हामीले कुनै निश्चित भन्दा पनि सबै किसिमका आइटमहरुलाई प्राथमिकता दिएर स्टल उपलब्ध गराएका छौं । यी जानकारीका साथै महोत्सवमा सांस्कृतिक कार्यक्रमहरुलाई पनि जोडेका छौं । बच्चाहरुलाई रमाउन बाल उद्यान, पिङलगायत पनि राखेका छौं । यी सबैमा पुग्ने हो भने दर्शक महोत्सवमा मज्जाले रमाउँछ ।

महोत्सवमा दर्शक चाहिं किन आउने ?

स्वभाविक हिसाबले महोत्सवमा नयाँनयाँ दिन खोजिएको छ । खाद्य, लत्ता कपडा लगायतका अत्यावश्यक सामान खरिद गर्न पनि दर्शक आउनुपर्छ । ती स्टलमा राखिएका सामानहरुको अवलोकन, तिनका विशेषता, उत्पादन गर्ने तरिका, लागत, त्यसको व्यवसाय, भविष्य लगायतबारे जानकारी लिन पनि सर्वसाधारण महोत्सवमा आउनुपर्छ । एक हिसाबले महोत्सव समय बचत गर्ने ठाउँ पनि हो । किन भने महोत्सवमा दर्शकले एकै थलोमा आफूलाई चाहिने सम्पूर्ण सामानहरु खरिद गर्न सक्छन् । लेखनाथको पचभैयामा निर्माण गरिएको खुल्ला चिडियाघर सित्तैमा घुम्ने र चिडियाघरको अवलोकन गर्ने मौका पनि यही महोत्सवमा मिल्छ । त्यसको सदुपयोग गर्नपनि दर्शक आउनुपर्छ । त्यतिमात्र होइन बालबालिकालाई रमाइलोका लागि पनि बाल उद्यान राखिएकाले बच्चाहरुलाई मनोरञ्जन दिनका लागि पनि महोत्सव आउनुपर्छ । कामको व्यस्तता र काम गर्दाको ह्याङ मेटाउन पनि महोत्सव आउन सकिन्छ । सांस्कृतिक कार्यक्रम भएकाले त्यो हेर्नपनि दर्शक आउनुपर्छ ।

महोत्सवमा साँझमा विशेष केही हुन्छ कि ?

पोखरा महोत्सव पोखरेलीको एउटा छुट्टै पर्वजस्तै हो । यहाँ दर्शकहरु सामान खरिद गर्न मात्रै नभई रमाउन पनि आउँछन् । त्यसैले त्यस्ता दर्शकका लागि हामीले साँझमा विशेष कार्यक्रम गर्छौं । दिउँसो बुबाआमा आएर दोहोरीमा रम्नुहुन्छ, नाच्नु हुन्छ र रमाउनु हुन्छ । घाम डुबेसँगै रात चिसिन थाल्छ । त्यसलाई तताउनका लागि साँझमा प्रत्येक दिन विशेष सांगीतिक प्रस्तुति हुन्छ । त्यसका लागि हामीले हरेक दिन छुट्टाछुट्टै चर्चित व्याण्डहरु ल्याउँदैछौं । त्यहाँ युवा, युवती तथा लाइभ प्रस्तुति मन पराउने जोकोहि पनि रमाउन सक्छ ।

महोत्सवको उद्देश्य के हो ?

महोत्सवको मुख्य उद्देश्य भनेको समग्र पोखराको विकास र समृद्धिलाई सघाउने हो । पर्यटन प्रवद्र्धनमा सघाउनु, कला, संस्कृति, भाषा, संस्कृति तथा धार्मिक क्षेत्रको संरक्षण गर्दै सम्बद्र्धन र प्रवद्र्धन गर्नु हो । महोत्सवको माध्यमबाट यी कुराहरुलाई प्रचारप्रसार गर्ने, युवा पुस्तासहित पर्यटकहरुमा आकर्षण जगाउनु हो । स्थानीय ठाउँमा उत्पादित बस्तुलाई बजार दिने, उपभोक्तालाई सहज रुपमा सस्तो मूल्यमा सामान उपलब्ध गराउनु पनि महोत्सवको उद्देश्य हो । सँगसँगै महोत्सवबाट आम्दानी भएको रकमबाट शिक्षा, स्वास्थ्य र खेलकुदसँगै खुल्ला चिडिया घर निर्माण गर्नुपनि महोत्सवको उद्देश्य हो ।

महोत्सवले पोखराको विकासमा कसरी सघाउँछ ?

महोत्सव आर्थिक गतिविधि चलायमान बनाउनका लागि हो । यसले पोखरेलीको आयआर्जनमा सघाउने पक्का छ । किनकि महोत्सवमा हामीले किसान, उद्योगी, व्यवसायी सबैलाई स्टल उपलब्ध गराएर बिक्री तथा प्रवद्र्धन गर्ने अवसर दिएका छौं । सर्वसाधारणले सहज रुपमा सस्तो मूल्यमा सामान पाएका छन् । यसले किसान र उपभोक्ता दुबै वर्ग लाभान्वित हुन्छन् । महोत्सव समृद्धिको बाहकपनि हो । किनकि बजार बढेसँगै उत्पादन पनि अवश्य बढ्छ । सँगसँगै हामीले महोत्सवबाट प्राप्त आम्दानीको केही अंश खुल्ला चिडिया घर निर्माणमा लगाएका छौं । अहिलेसम्म हामीले यसका लागि ४५ लाख ८५ हजार खर्च गरिसकेका छौं । प्रदेश सरकारले १ करोड ५० लाख दिएको छ । योसँगै खुल्ला चिडियाघर निर्माणको प्रारम्भिक चरण अर्थात खोर निर्माणका काम हुन्छन् । यति भएपछि चिडियाघर अवलोकन गर्न पर्यटक आउन शुरु हुन्छ । यसले पर्यटकको आगमनमा बृद्धि ल्याउनुका साथै पर्यटकको बसाई लम्ब्याउनपनि सघाउँछ । यो हिसाबले पर्यटकीय गन्तव्य अर्थात टुरिजम प्रोडक्ट थपिन्छ । यो प्रदेशको समृद्धिको आधारसँग पनि जोड्न सकिन्छ । महोत्सवमा नव प्रतिभाहरुलाई गाउने÷नाच्ने प्लेटफर्मपनि हुने भएकाले प्रतिभा जन्माउन पनि महोत्सवले काम गरिरहेको छ । यस्ता धेरै हिसाबले हेर्दा पोखरा महोत्सवले पोखरासहित समग्र गण्डकी प्रदेशकै विकासमा महत्वपूर्ण योगदान दिन्छ ।

पर्यटन प्रवद्र्धनमा पोखरा महोत्सवको कत्तिको भूमिका छ ?

महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा सघाएको छ । महोत्सवले पोखरालाई ब्राण्डिङ गर्न सघाएको छ । महोत्सवबारे प्रचारप्रसार गर्दा पोखराको चर्चा नेपाल तथा विदेशमा पनि चर्चा परिचर्चा हुन्छ । त्यस्तै महोत्सवका लागि कास्की सहित पर्वत, स्याङ्जा, तनहुँ लगायतका क्षेत्रबाट पनि दर्शक÷पर्यटकहरु आउँछन् । यस हिसाबले पोखरा महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि सघाएको छ । सँगसँगै पोखरा महोत्सवकै आम्दानीको केही अंशबाट शुरु भएको लेखनाथको पचभैयामा निर्माण गरिदैगरेको खुल्ला चिडिया घर निर्माण सम्पन्न पछि पोखराको पर्यटनमा छलाङ मार्छ । यो महोत्सवकै देन हो । त्यतिमात्र होइन हामीले महोत्सवमा होमस्टेलगायतलाई पनि स्टल उपलब्ध गराएका छौं । यसले पनि ग्रामीण क्षेत्र र होमस्टेप्रति दर्शक तथा पर्यटकलाई आकर्षण जगाउँछ । यस हिसाबले पोखराको पर्यटन प्रबद्र्धनमा महोत्सवको भूमिका महत्वपूर्ण छ ।

You might also like

Comments are closed.