अत्यधिक चिसोले मुस्ताङमा ५० बढी चौरी गाई मरे

सन्देश श्रेष्ठ
पोखरा, २१ फागुन । नेपालको उत्तरी नाका कोरला नजिकैको गाउँमा अत्यधिक चिसोले ५० भन्दा बढी चौरी गाई मरेका छन् । एक महिनादेखि परेको हिउँले मुस्ताङको छोनुप गाउँपालिकाका चुङजुङ गाउँमा अत्यधिक चिसोका कारण चौरी गाई मरेका हुन् । चौरी गाई मरेको चुङजुङ गाउँ नेपाल र चीनको नाका क्षेत्र हो ।

माघ अन्तिम साताबाट निरन्तर हिउँ परेपछि बढेको अत्यधिक चिसोले पछिल्लो १५ दिनमा ५२ वटा चौरी गाई मरेको पेमा गुरुङले जानकारी दिइन् । मुस्ताङ घर भई पोखरा छोरेपाटन बस्दै आएकी पेमाका अनुसार वाङ्दी गुरुङ, सोनम गुरुङ, कुङ्घा गुरुङलगायतको गोठमा रहेका चौरी गाईहरु मरेका हुन् । अत्याधिक चिसोले वाङ्दी गुरुङको गोठबाट मात्रै ३२ वटा चौरी गाई मरिसकेको वाङ्दीलाई उद्धृत गर्दै पेमाले बताइन् ।

लगातारको अत्यधिक चिसोले चौरी गाई मरेसँगै गोठमा बसेकाहरुकोपनि ज्यान जाने हो कि भन्ने चिन्ता छाएको पेमाले बताइन् । उनले भनिन्, ‘लगातारको अत्यधिक चिसोले दिनदिनै चौरी गाई मरेका छन्, गोठ छोडेर घरमा आउनु भन्दा गोठमा बसेकाहरु थप चौरी गाई मर्ने पीरले आएका छैनन्, यता घरमा भने गोठमा बसेका मान्छेको पनि ज्यान जान्छ कि भनेर परिवार चिन्तित् छन् ।’ उनले लगातार रुपमा चौरी गाई मर्दा कसैलेपनि चासो नदिएको गुनासोसमेत गरिन् । पेमाका अनुसार एउटा चौरी गाईको मूल्य १५÷२० हजारदेखि ८० हजार रुपैयाँसम्म पर्छ । चौरी गाईको अवस्था अनुसार मूल्य फरक÷फरक पर्छ ।

You might also like

Comments are closed.