अन्तराष्ट्रिय कवि सम्मेलनको तयारी तीव्र

तनहुँ , २० चैत
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुले यही चैत २९ र ३० गते आयोजना गरेको अन्तराष्ट्रिय कवि सम्मेलनको तयारी तीव्र पारिएको छ । राष्ट्रिय विभुती आदिकवी भानुभक्त आचार्यको जन्मघर तनहुँको चुँदीरम्घामा हुने साहित्यिक कार्यक्रमको तयारी सम्बन्धमा बुधवार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

५औं क्षेत्रप्रताप स्मृति दिवसको अवसरमा ‘पर्यटनको लागि साहित्य, साहित्यको लागि पर्यटन’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा देश तथा विदेशबाट ६० जना भन्दा बढी साहित्यकारहरु जमघट हुने संस्थाका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।  ‘सम्मेलनमा भारत, बंगलादेश, भुटानबाट साहित्यकारहरु आउने निश्चित भइसकेको छ, चीन, जापान लगायतका देशहरुका साहित्यकारहरुसँग समन्वय भइरहेको छ तर आउने निश्चित भइसकेको छैन’ अधिकारीले भने ।

भानुभक्त आचार्यको काम व्यक्तित्व विश्व सामू परिचित गराउने, चुँदीरम्घालाई साहित्यिक तिर्थस्थल र भाषिक केन्द्रको रूपमा बिकास गर्ने उद्देश्यले कवि सम्मेलन आयोजना गरिएको अधिकारीले जानकारी दिए ।  आयोजकका अनुसार सोही अवसरमा रात्रीकालीन साहित्यिक कार्यक्रम, भानु जन्मघरका बारेमा साहित्यकारहरुको अभिव्यक्ति र हस्ताक्षर संकलन, क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७५ प्रदान गर्ने साथै गीतल प्रभात युवा राष्ट्रिय पुरस्कार २०७५ र गीतल प्रभात प्रतिभा पुरस्कार पनि प्रदान गर्ने कार्यक्रम रहेको छ ।

सोही अवसरमा तनहुँका साहित्यकारहरुका लेख रचना प्रकाशित गीतल गुन्जन १ नामक पुस्तक विमोचनको कार्यक्रम रहेको छ । यस वर्षको क्षेत्रप्रताप स्मृति पुरस्कार काभ्रेका स्रष्टा मोहन दुवाललाई प्रदान गरिने भएको छ । त्यस्तै गीतल प्रभात युवा पुरस्कार पुरु लम्साललाई र गीतल प्रभात प्रतिभा पुरस्कार दुर्गा किरण तिवारीलाई प्रदान गर्ने निर्णय भएको आयोजकले जानकारी दिएको छ ।

२९ गते ग्रामीण पर्यटन तथा होमस्टे प्रवद्र्धन समेतको उद्देश्यले पाहुँनाहरुलाई एक रात रानागाँउ स्थित होमस्टेमा स्वागत सत्कार गर्ने र पहिलो चरणको रात्रीकालीन कार्यक्रम होमस्टेमै गर्ने र दोस्रो चरणमा भानुभक्तको जन्मघर शिखर कटेरीमा मौलिक बाजागाजा सहित साहित्यिक पदयात्रा , कविहरुको हस्ताक्षर र अभिव्यक्ति संकलनको कार्यक्रम हुनेछ र अन्तिम चरणमा भानुजन्म स्थल विकास समिति परिसरमा अन्य कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.