अन्तर्राष्ट्रियस्तरको सौन्दर्य ज्ञान सिक्दै गण्डकी प्रदेशका व्युटिसियनहरु

पोखरा, १२ माघ । व्युटिपार्लर एशोसिएसन कास्कीको आयोजनामा एकदिने हेयर एण्ड मेकअप सेमिनार पोखरामा शनिबार भएको छ । सेमिनारमा फेसन मेकअप, ब्राइडल मेकअप र केराटिन हेयरस्ट्रेटका वारेमा प्रशिक्षण दिइएको छ ।

कार्यक्रममा वोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सेमिनारमा सिकाइएका कुरा ध्यान दिएर सिक्नुपर्ने र व्यवहारमा उतार्नुपर्ने बताए । ‘आर्थिक गतिविधिलाई चलायमान बनाउन पनि व्यवसायले सहयोग गर्छ,’ उनले भने, ‘व्यवसायलाई दीर्घकालीन रुपमा संचालन गर्नका लागि सिप सिक्नु अनिवार्य छ ।’ व्युटिसियनलाई डाक्टरसँग तुलना गर्दै साइड इफेक्ट नगर्ने मेकअपका सामग्री तथा कस्मेटिक्सको प्रयोग गर्नुपर्ने बताए ।

सेमिनार प्रदेशस्तरको भएकाले गण्डकी प्रदेशमा रहेका व्युटिसियनको सहभागिता रहेको संस्थाका सल्लाहकार तथा कार्यक्रम संयोजक चिनु गुरुङले जानकारी दिइन् । अन्तर्राष्ट्रियस्तरमा भित्रिएका नयाँ सिप तथा प्रविधिको वारेमा जानकारी दिन सेमिनार आयोजना गरिएको गुरुङले बताइन् । ‘व्युटिपार्लर व्यवसायले महिलालाई आर्थिक रुपमा सशक्त बनाउनु योगदान पु¥याएको छ,’ उनले भनिन् ।

नयाँ प्रविधि सिक्न तथा सिकाउन सेमिनारको आयोजना गरिएको संस्थाका अध्यक्ष कल्पना कोइरालाले बताइन् । व्यावसायिक तथा व्यक्तिगत विकासको लागि सेमिनार सहयोगी बन्ने उनको भनाई छ ।

ट्रियु वेलनेश प्रा.लि ले सेमिनारमा सहकार्य गरेको छ । विदेशीका साथै नेपालका राष्ट्रियस्तरका प्रशिक्षकले प्रशिक्षण दिएका छन् । सेमिनारमा जि के हेयरका सिनियर ट्रिसिया ओस्ट्रम, अन्तर्राष्ट्रियस्तरमा सर्टिफाइड मेकअप आर्टिस्ट आमुना लासटा, सिनियर हेयर टेक्निसियन समिर खानले सहजीकरण तथा डिमोस्ट्रेसन गरेका थिए । संस्थाका अध्यक्ष कल्पना कोइरालाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव बबिता केसीले गरेकी थिइन् ।

You might also like

Comments are closed.