अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २४ गतेदेखि पोखरामा हुने

 

सन्देश श्रेष्ठ
पोखरा, १६ मंसीर

अन्तर्राष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सव यस वर्षपनि पोखरामा हुने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसको अवसरमा यहि मंसीर २४ देखी २६ गतेसम्म अर्थात डिसेम्बर १०, ११ र १२ तारिखमा पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा महोत्सव गर्न लागिएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

महोत्सवमा ४० स्टल रहने भएका छन् । विज्ञान, प्रविधि, खानाका परिकार, सूचना केन्द्र, विभिन्न पर्यटकीय वस्तुहरुको स्टल रहने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए । सबै स्टल निःशुल्क उपलब्ध गराइने उनले बताए ।

पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिने महोत्सवको अवसरमा ४५ किलोमिटरको म्याराथन प्रतियोगिता हुने अध्यक्ष लामाले जानकारी दिए । अग्रज म्याराथन धावक बैकुण्ठ मानन्धरको नाममा ‘एन.एम.ए. बैकुण्ठ मानन्धर हिमालयन म्याराथन’ प्रतियोगिता गर्न लागेको उनले बताए । त्यस्तै महिलाका लागि २२.५ किलोमिटरको हाल्फ म्याराथन प्रतियोगिता गर्ने लामाले बताए । खेल पर्यटनप्रति आकर्षित गर्न म्याराथन प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।

एन.एम.ए.साइक्लिङ प्रतियोगिता तथा एन.एम.ए. टोनी हेगन टुरिजम पेन्टिङ प्रतियोगितासमेत आयोजना गरिने अन्र्तराष्ट्रिय पर्वतीय संग्रहालयले जनाएको छ ।

महोत्सवमा गुरुङ, मगर, राई, लिम्वु, शेर्पा, थकाली, तामाङलगायतका जनजाति तथा समुदायका मौलिक नृत्य प्रस्तुत गर्नुका साथै ति जनजातिहरुका खानाका परिकारहरु प्रतिष्पर्धात्क रुपमा स्टलमा राखिने नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार महोत्सवमा लोपोन्मुख अवस्थामा पुगेको तारो हान्ने, छेलो हान्ने प्रतियोगिता पनि गरिनेछ । यसैगरी अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नका लागि वोल्डरिङ क्लाईम्विङ प्रतियोगिता पनि गरिने महासचिव गुरुङले बताए ।

महोत्सवले भिजिट नेपाल २०२० लाईसमेत सघाउने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले बताए । उनले भने,‘महोत्सवले पोखराको पर्यटनमा त सघाउँछ नै, सँगसँगै नेपाललाई विश्व समुदायमाझ ब्राण्डिङ गर्नपनि सघाउ पु¥याउँछ ।’ महोत्सवबाट पोखराको मात्रै नभई नेपालकै ब्राण्डिङ र मार्केटिङ हुने उनले दाबी गरे ।

महोत्सवको अवसरमा अन्र्तराष्ट्रिय पर्वतारोहण दिवस डिसेम्बर ११ का दिन विश्व प्रसिद्ध हिमाल आरोहीहरुलाई सम्मान गरिने भएको छ ।

महोत्सवको अवसरमा आयोजित म्याराथन प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्वितीयलाई ५० हजार र तृतीयलाई २५ हजार तथा महिलातर्फको हाफ म्याराथन प्रतियोगिताको बिजेतालाई ५० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १२ हजार ५ सय प्रदान गरिने जनाइएको छ । त्यस्तै खानाका परिकार प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ७ हजार र तृतीयलाई ५ हजार प्रदान गरिने महासचिव गुरुङले जानकारी दिए ।

८० लाखको लागतमा हुने महोत्सव ५० हजारले अवलोकन गर्ने आयोजक नेपाल पर्वतारोहण संघले दाबी गरेको छ ।

You might also like

Comments are closed.