अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सोमबारदेखि, तयारी पुरा

आर्थिक आवाज

पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सव सोमबारबाट पोखरामा हुने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसको अवसरमा यही मंसिर २४ देखि २६ गतेसम्म पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा महोत्सव गर्न लागिएको हो । महोत्सवको तयारी पुरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सवमा ४० स्टल रहने भएका छन् । विज्ञान, प्रविधि, खानाका परिकार, सूचना केन्द्र, विभिन्न पर्यटकीय वस्तुहरुको स्टल रहने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए । सबै स्टल निःशुल्क उपलब्ध गराइने उनले बताए । एन.एम.ए.साइक्लिङ प्रतियोगिता तथा एन.एम.ए. टोनी हेगन टुरिजम पेन्टिङ प्रतियोगितासमेत आयोजना गरिने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले जनाएको छ ।

jutta mela

महोत्सवमा गुरुङ, मगर, राई, लिम्वु, शेर्पा, थकाली, तामाङ लगायतका जनजाति तथा समुदायका मौलिक नृत्य प्रस्तुत गर्नुका साथै ती जनजातिहरुका खानाका परिकारहरु प्रतिस्पर्धात्मक रुपमा स्टलमा राखिने नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार महोत्सवमा लोपोन्मुख अवस्थामा पुगेको तारो हान्ने, छेलो हान्ने प्रतियोगिता पनि गरिनेछ । अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नका लागि वोल्डरिङ क्लाइम्विङ प्रतियोगिता पनि गरिने महासचिव गुरुङले बताए ।

महोत्सवले भिजिट नेपाल २०२० लाईसमेत सघाउने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले बताए । उनले भने, ‘महोत्सवले पोखराको पर्यटनमा त सघाउँछ नै, सँगसँगै नेपाललाई विश्व समुदायमाझ ब्राण्डिङ गर्न पनि सघाउ पु¥याउँछ ।’ महोत्सवबाट पोखराको मात्रै नभई नेपालकै ब्राण्डिङ र मार्केटिङ हुने उनले दाबी गरे । महोत्सवको अवसरमा अन्तर्राष्ट्रिय पर्वतारोहण दिवस डिसेम्बर ११ का दिन विश्व प्रसिद्ध हिमाल आरोहीहरुलाई सम्मान गरिने भएको छ । ८० लाखको लागतमा हुने महोत्सव ५० हजारले अवलोकन गर्ने आयोजक नेपाल पर्वतारोहण संघले दाबी गरेको छ ।

You might also like

Comments are closed.