आर्थिक आवाज
पोखरा, ९ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरामा अन्तर्राष्ट्रिय सभाहल बनाउन जग्गा खोज्न पोखरेलीलाई आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय सभाहल बनाउन बजेट रहेको बताउँदै उनले जग्गाका कारण मात्र अड्किएको बताए ।
पोखरा पर्यटन परिषद्का आयोजनामा आइतबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पोखरामा एउटा अन्तर्राष्ट्रिय सभाहल र अन्य २÷३ वटा राष्ट्रियस्तरको सभाहल आवश्यक रहेको बताए । ‘बजेट छुट्टिसकेको छ, ठाउँ खोज्नुस्,’ उनले भने । जग्गा खोज्दा कहीँ नभेटिए भेडिफारममा पनि अन्तर्राष्ट्रिय सभाहल बनाउन सकिने उनले बताए ।

नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्र उपयुक्त ठाउँ भएको बताउँदै मन्त्री अधिकारीले थपे, ‘पोखरा उद्योग वाणिज्य संघले दिएको भए प्रदर्शनी केन्द्रमा पहिल्यै सभाहल बनिसक्थ्यो, तर फेरीपनि अर्को ठाउँमा जग्गा नभेटिए प्रदर्शनी केन्द्रमै बन्छ, यसै वर्ष त्यसको काम शुरु हुन्छ ।’
Comments are closed.