अन्तर मदिरा व्यवसायी ब्याडमिन्टनको उपाधि सञ्जीव र वीरेन्द्रको जोडीलाई

पोखरा, १० फागुन । अन्तर मदिरा व्यवसायी ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष जोडी तर्फको खेलमा कास्कीका विरेन्द्र कुमार श्रेष्ठ र संजीव बहादुर कोइरालाले उपाधि हात पारेका छन् । उक्त जोडीले दाङका टिकाजंग ओली र सुनिल ओलीको जोडीलाई २१−१४, २१−१५ को सोझो सेटम पाखा लगाउँदै स्वर्ण हात पारे । कास्कीका कुमार गुरुङ र रविचन्द्र होना तथा रुपन्देहीका विनोद पौडेल र सुभाष चन्द्र कर्माचार्यको जोडी संयुक्त तेश्रो भए ।

काठमाण्डौका पेम्बा शेर्पाले तेश्रो राजन स्मृति पुरुष एकल तर्फको उपाधी हात पार्न सफल भएका छन् । नेपाल मदिरा ब्यवसायी महासंघको आयोजनामा भएको च्याम्पियनसिपमा पेम्बाले माउण्ट एभरेष्ट डिष्टिलरीका विनोद पौडेललाई २१−१८, २१−२२ ले पराजित गर्दै उपाधी हात पारेका हुन् । तेश्रो स्थानमा नेपालगंजका धनञ्जय खड्का र दाङका टिकाजंग ओली भए ।

बसुन्धारास्थित बुल्स जिममा भएको च्याम्पियनसिपको भेट्रान्स एकल तर्फ कास्कीका रविचन्द्र होनाले कास्कीकै रितेश बहादुर थापामाथी २१−१८, १४−२१, २१−१८ को जित निकाल्दै विजयी भए । रुपन्देहीका राम प्रसाद गिरी र कास्कीका कुमार गुरुङले कास्य पदक पाए । विजयी खेलाडीहरुले ट्रफी, प्रमाण पत्रका साथै खेल सामग्री ब्याडमिन्टन ¥याकेटका साथै विभिन्न प्रायोजकबाट प्राप्त गिफ्ट ह्याम्पर प्राप्त गरे ।

बाहिर जिल्लाबाट सेमिफाइनल प्रवेश गर्ने खेलाडीहरुलाई टोकनको रुपमा नगद तीन हजार पुरस्कार समेत प्रदान गरिएको थियो । विजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष महेन्द्र बहादुर श्रेष्ठ, मुख्य प्रायोजक जावलाखेल ग्रुप अफ ईन्डिष्टिजका चिफ अफ मार्केटिङ प्रविर कुमार नाग लगायतले पुरस्कार वितरण गरेका थिए । दुई दिने प्रतियोगितामा ४६ खेलाडीहरुको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.