अन्य अवसरको पछि लाग्दिन, चौबिसै घन्टा व्यवसायीको सेबक बन्छुः अधिकारी (अन्तर्वार्ता)

दामु अधिकारी
अध्यक्ष पदका उम्मेदवार, पोखरा उद्योग वाणिज्य संघ, ३२औं महाधिवेशन

निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशन असोज ५ र ६ गते हुँदैछ । चुनाव मिति नजिकिएसँगै उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । अध्यक्ष पदका उम्मेदवार दामु अधिकारी व्यावसायिक समावेशी समूह बनाएर चुनावी अभियानमा छन् । यसैक्रममा चुनावी अभियान, उम्मेदवारीका कारण, प्रतिबद्धता तथा एजेण्डा लगायत विषयमा केन्द्रित रहेर अधिकारीसँग आर्थिक आवाजले गरेको कुराकानीको सारः

अध्यक्षमा उम्मेदवारी दिएपछि घरदैलो गर्ने क्रममा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
मैले पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उमेदवारी दिएको छु । उम्मेदवारी घोषणा र मनोनयन दर्तादेखि नै मलाई हौशला मिलेको छ । व्यवसायीले हामी तपाईंको टिमलाई सहयोग गर्छौं भनेर विश्वास दिलाउनुभएको छ । धेरै भन्दा धेरै व्यवसायीले नेतृत्वमा दामु अधिकारी आउनुपर्छ भन्नु भएको छ । नेतृत्वमा आउछु भन्नेमा म पूर्ण विश्वस्त छु । उमेदवारी घोषणा पछि मैले उद्योगी व्यवसायीको बिचमा घरदैलो कार्यक्रम गरिरहेको छु । मलाई आत्मविश्वास पनि बढेको छ । साथ र सहयोग प्राप्त गरिरहेको छु । पोखरा उद्योग वाणिज्य संघको नेतृत्व गर्ने अवसर मैले प्राप्त गर्नेछु । सवै व्यवसायीलाई चित्त बुझ्ने तरिकाले काम गर्नेछु । पोखरा उद्योग वाणिज्य संघलाई व्यावसायिक र उद्योगी व्यवसायीमैत्री बनाउने प्रतिवद्धता व्यक्त गर्दछु । व्यवसायी तथा उद्योगीको हकहितमा लाग्नेछु र समस्या समाधानमा पहलकदमी गर्नेछु ।

समावेशी व्यावसायिक समूह भन्नुभएको छ । टिम पूर्ण समावेशी छ ?
केही व्यवसायीले टिमलाई अझै समावेशी बनाउनुपर्ने भन्ने सल्लाह पनि दिनुभएको छ । २१ जनाको टिम बनेर आएका छौं । निवर्तमान अध्यक्ष सहित २९ सदस्यीय कार्य समिति बन्छ । अरु टिम बनाएर जाने बेलामा हामी समावेशी टिमलाई पूर्ण समावेशी बनाउनेछौं भन्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु । व्यावसायिक क्षेत्र, व्यवसायीले तिर्ने राजस्व लगायत हरेक हिसाबले समावेशी बनाएका छौं । यसलाई अझ सबै हिसाबमा समावेशी बनाएर पूर्णता दिनेछौं । यो टिम समावेशी तथा व्यावसायिक बनेकोछ र उद्योगी व्यवसायीको हकहितमा काम गर्छ भन्ने समस्त उद्योगी व्यवसायीलाई पनि विश्वास छ । टिममा युवा जोश र जाँगर भएका व्यवसायी मित्रहरु हुनुहुन्छ ।

संघको चुनावमा राजनीति बढ्यो भन्छन्, कुरा के हो ?
कतिपयले हामीलाई राजनीतिक लाञ्छना लगाएपनि हामी व्यावसायिक हिसावमा लागेका छौं । राजनीतिक आस्था सबैको हुन्छ, तर त्यसलाई भन्दा व्यवसायलाई महत्वपूर्ण ठानेका छौं । हाम्रो टिममा राजनीतिकर्मी कोही पनि छैनौं । व्यवसायी मात्र हाम्रो टिममा हुनुहुन्छ । कागजी रुपमा मात्र व्यवसाय गरेका साथीहरु मेरो टिममा कोही हुनुहुन्न । जसले व्यवसाय गर्छ त्यसलाई नै व्यवसायीको पीडा थाहा हुन्छ । त्यसले नै उद्योगी व्यवसायीको हकहितका निम्ती आवाज उठाउन सक्छ भन्ने सोचेर नै उद्योगी व्यवसायीले मतदान गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौ । पोखरा उद्योग वाणिज्य संघ निजी क्षेत्रको छाता संस्था हो । संघभित्र राजनीति हुन दिनुहुँदैन ।

संघको अबको भूमिका कस्तो हुनुपर्छ ?
२०११ सालमा तत्कालीन व्यापार संघको नाममा स्थापना भएको हो । पोखरा उद्योग वाणिज्य संघको इतिहास लामो छ । विकास निर्माणका काममा यसले ठुलो योगदान पु¥याएको छ । अहिले देश संघीय ढाँचामा गइसकेको छ । ३ तहका सरकार छन् । अब पोखरा उद्योग वाणिज्य संघको भूमिका विकास निर्माणका निम्ती साझेदारीको रहनेछ । राष्ट्रिय गौरवका योजना तथा आयोजनाका काम ओझेलमा परे भने तथा ढिलासुस्ती भएमा समस्या आइपरेमा त्यस्ता बाधा अड्चन फुकाउन तथ काम समयमा नै सम्पन्न गर्न दवाव दिने काम पनि गर्नेछौं । व्यवसायमुखी भएर हामी लाग्नेछौं । आम उद्योगी, व्यापारी, व्यवसायीका धेरै समस्या छन् । कर, बैंक व्याजदर, पार्किङ, घरभाडा लगायतका समस्या छन् । यस्ता समस्याका कारण उद्योग व्यवसाय फस्टाउन तथा स्थापित हुन सकेका छैनन् । सबै समस्या समाधान गरेर लगानीमैत्री वातावरण बनाउनु आवश्यक छ । व्यवसायी तथा उद्योगीका समस्या समाधान गर्नै जिम्मा अबको उद्योग वाणिज्य संघको नेतृत्वको हो । हामी समस्या समाधानतर्फ ध्यान दिनेछौं । सरकारले तोक्ने कर उद्योगी व्यवसायमैत्री हुनुपर्छ । सरकारले आफ्नो ढङगले कर तोक्नु हुँदैन । कमाएको पैसाले कर तिर्ने हो । पैत्रिक सम्पत्ती वेचेर कर तिनुपर्ने अवस्थाको सृजना गर्नुहुँदैन ।

अध्यक्षमा तपाईंलाई मतदान किन ?
पोखरा उद्योग वाणिज्य संघमा ३ कार्यकाल सदस्य भएर काम गरिसकेको छु । अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष भएर काम गरिसकेको छु । अप्रत्यक्ष रुपमा पनि पोखरा उद्योग वाणिज्य संघको नजिक रहेर धेरै काम गर्दै आइरहेको धेरै वर्ष भइसकेको छ । अहिले म महासचिव भएर आफ्नो भूमिका निर्वाह गरिरहेको छु । मलाई प्रदान गरिएका जिम्मेवारी सफलतापूर्वक वहन गरेको छु । व्यवसायीको मन जित्ने काम गरेको छु । पोखरा उद्योग वाणिज्य संघको गरिमा उच्च बनाउने काम गरेको छु । मेरा अनुभवलाई संस्थागत गर्नका निम्ती अध्यक्षमा आम उद्योगी व्यवसायीको साथ पाउनेछु । सबैको मन जितेर पोखरा उद्योग वाणिज्य संघ जुन व्यवसायीको पवित्र मन्दिर हो यसलाई व्यवसायीमैत्री संस्था बनाउन लाग्नेछु ।

चुनावमा व्यावसायिक भन्दा बढी विकास निर्माणको एजेण्डा बढी देखिएको हो ?
करिव २ दशकसम्म स्थानीय सरकार भ्याकुमको रुपमा रहिरहँदा उद्योग वाणिज्य संघबाट निर्वाचित भएका व्यक्तिले निर्वाचित प्रतिनिधिका हिसावले धेरै काम गर्नुपर्दथ्योे । पोखरा उद्योग वाणिज्य संघको इतिहासमा विकास निर्माणका काम पनि धेरै भएका छन् । विभिन्न शैक्षिक संस्था स्थापना लगायत विकास निर्माणका काममा महत्वपूर्ण भुमिका छ । विकास निर्माणका कममा पोखरा उद्योग वाणिज्य संघ टाढा पनि रहँदैन । अहिले नेपालमा ३ तहका सरकार छन् । विकास निर्माणका काममा जनप्रतिनिधि लाग्नुहुन्छ । हामी व्यावसायिक प्रतिनिधी व्यापार व्यवसाय कसरी दीगो बनाउने र कसरी विकास गर्ने भन्ने तर्फ लाग्नेछौं । जसले रोजगारीको सृजना पनि हुनेछ । हामी अब धेरै विकास निर्माणका एजेन्डा जोड्दैनौं । व्यावसायिक एजेन्डालाई प्राथमिकता दिन्छौं । व्यवसायीको समस्या समाधानमा लाग्नेछौं । लगानीमैत्री वातावरणका लागि पहल गर्नेछौं । आवश्यक परेको खण्डमा सरकारसँग सहकार्य गर्नेछौं भने आम उद्योगी व्यवसायीको साथमा दबाबका कार्यक्रम पनि गर्न पछि पर्नेछैनौं ।

अन्त्यमा, के भन्नुहुन्छ ?
म राजनीतिकर्मी होइन । कुनै पार्टीमा आस्था राख्नु स्वभाविक हो । राजनीतिक पार्टीको कुनैपनि पदमा बसेर काम गरेको छैन । पार्टीको झण्डामुनी बसेर चुनाव लडेको व्यक्ति म होइन । म निर्वाचनमा होमिसकेपछि जसले समर्थन गर्नुहुन्छ उहाँँहरुको समर्थनलाई मैले स्वीकार गर्नुपर्छ । म पार्टीको दवाावमा निर्वाचनमा आएको होइन । म निर्वाचनमा आएपछि उहाँहरुले सर्मथन गर्नुभएको हो । मलाई प्रगतिशील र प्रजातान्त्रिक दुवै धारका उद्योगी व्यवसायीको राम्रो साथ र समर्थन छ । अध्यक्ष भएर दुई वर्ष पुरै तपाईंहरुकै सेवामा समर्पित हुनेछु भनेर मैले मेरा मतदातामाझ प्रतिबद्धता पनि गरेको छु । संघको अध्यक्ष हुँदा अन्य जस्तासुकै अवसर प्राप्त भएपनि म व्यवसायीकै सेवक भएर बस्नेछु । चौविसै घन्टा संघको हकहितमा लाग्नेछु ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...