अब तीन दिन भित्रै राहदानी

काठमाडौं, २९ साउन । सरकारले तीन दिन भित्रै राहदानी उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् । विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले उक्त विधेयक प्रस्तुत गरेको मन्त्री ज्ञवालीको भनाइ छ । ‘अहिले अत्यन्तै आवश्यक भए एक दिनमा नै राहदानी उपलब्ध हुन्छ, अब सामान्य अवस्थामा पनि बढीमा तीन दिनमा राहदानी उपलब्ध गराउन पहल भएको छ, यो व्यवस्था शीघ्र कार्यान्वयनमा आउँछ,’ उनले भने ।

प्रस्तुत विधेयकले निर्वाचित जनप्रतिनिधिलाई विभेद नगरेको जानकारी दिँदै मन्त्री ज्ञवालीले कूटनीतिक राहदानी प्रयोग गर्न योग्य सबै व्यक्तिले सहज रुपमा नै पाउने व्यवस्था गरिएको बताए । विदेश जाँदा अध्यागमनबाटै फर्कनुपर्ने, अपमानजन्य व्यवहार भोग्नुपर्ने अवस्था नआओस् भनेर राहदानी पाउने व्यवस्थालाई सरलीकृत गरिएको उनले जानकारी दिए ।

त्यसअघि सांसद भीमसेनदास प्रधान, सञ्जयकुमार गौतम, प्रेम सुवाल, दिव्यमुनि राजभण्डारी, अमरेशकुमार सिंह र भरत शाहले राहदानी पाउने व्यवस्थालाई सरलीकृत र सहजीकरण गर्न सरकारलाई सुझाव दिए ।

You might also like

Comments are closed.