अब पोखराका बसमा स्मार्ट कार्डबाटै पैसा तिर्न सकिने

पोखरा, ३ चैत

पोखरामा चल्ने सार्वजनिक यातायातका सवारी साधनहरुमा विद्युतीय टिकेटिङ प्रणाली (ई–टिकेटिङ) लागु हुने भएको छ । पोखरा महानगरपालिकाले एन.क्लाउड प्रालिसँगको सहकार्यमा पोखरामा चल्ने ट्याक्सी बाहेकका सबै सार्वजनिक सवारी साधनमा ई–टिकेटिङ सेवा सञ्चालन गर्न लागिएको हो । ई–टिकेटिङसँगै विद्युतीय मेसिनबाटै पैसा तिर्ने स्मार्ट कार्डपनि प्रयोगमा ल्याइने भएको छ ।

बैशाखको पहिलो हप्ताबाट सञ्चालनमा आउने ई–टिकेटिङबारे आइतबार पोखरा महानगरपालिका र एन.क्लाउड बिच सम्झौता भयो । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट महानगरपालिका प्रमुख मानबहादुर जिसी र एन.क्लाउडका तर्फबाट एन.क्लाउड प्रालिका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रनारायण श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतासँगै पोखरामा गुड्ने ८०२ वटा यात्रुबाहक बस तथा माईक्रो बसमा ई–टिकेटिङ तथा स्मार्ट कार्ड लागु हुनेछ । सम्झौता अनुसार पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस ब्यबसायी समिति, स्थानिय श्रृङ्ग यातायात समिति, बेगनास ताल बस सञ्चालक समिति, विन्ध्यबासिनी यातायात व्यवसायी समिति र पोखरा फेवा यातायात प्रालिद्वारा सञ्चालित बस तथा ट्याक्सी व्यवसायी समितिद्वारा सञ्चालित माइक्रो बसमा यो लागु गरिनेछ ।

सम्झौता अनुसार बैशाख पहिलो साताबाट पोखराका बसहरुमा ई–टिकेटिङ लागु हुनेछ । शुरुमा एन.क्लाउडले पोखरामा चल्ने सबै सार्वजनिक सवारी साधनमा ई–टिकेटिङका लागि आवश्यक पर्ने डिभाइस प्रदान गर्नेछ । सो डिभाइसमा आवश्यक पर्ने विद्युत र ईन्टरनेटपनि जडान गरिनेछ । सो डिभाइस जडान गरेलगत्तैदेखी ई–टिकेटिङ शुरु हुने महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए ।

ई–टिकेटिङ लागु भएपछि यात्रुले अहिलेजस्तो कन्डक्टरले जति भन्यो त्यति रकम तिर्नुपर्ने बाध्यता हट्नेछ । यात्रुले कहाँ जाने हो ? त्यस ठाउँ लेखेपछि डिभाइसले तिर्नुपर्ने रकमको बिल प्रिन्ट हान्ने र सो रकम यात्रुले कन्डक्टरलाई तिर्नुपर्ने एन.क्लाउड प्रालिका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रनारायण श्रेष्ठले जानकारी दिए । ई–टिकेटिङ लागु भएपछि अहिलेजस्तो भाडामा विवाद नहुने अपेक्षा गरिएको छ । हाल १३ रुपैयाँ पर्ने बाटोमा खुद्रा नभएको भन्दै १५ रुपैयाँ र १७ रुपैयाँ पर्ने बाटोमा २० रुपैयाँ लिने गरेको यात्रुले गुनासो गर्ने गरेका छन् । ई–टिकेटिङले तोकिएकै मूल्य प्रिन्ट हान्ने भएकाले यो समस्या हट्ने अपेक्षा गरिएको हो ।

ई–टिकेटिङसँगै विद्युतीय मेसिनबाटै पैसा तिर्ने स्मार्ट कार्डपनि प्रयोगमा ल्याइनेछ । यसका लागि यात्रुलाई स्मार्ट कार्ड वितरण गरिनेछ । रिचार्ज गर्न मिल्ने यो कार्डबाट यात्रुले सिधै आफूले यात्रा गरेको रकमको बिल भुक्तानी गर्न सक्नेछन् । डिभाइसमा कहाँ गएको रकम कति लाग्ने भनेर पहिल्यै सेटअप गरिसकेको हुनाले स्मार्ट कार्ड प्रयोग गरेर आफूले गरेको यात्राको दुरी स्मार्ट कार्ड देखाउने वित्तिकै डिभाइसमा अटोमेटिकल्ली बिल भुक्तानी हुने एन.क्लाउड प्रालिका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रनारायण श्रेष्ठले जानकारी दिए । उनले ई–टिकेटिङबाट बिल भुक्तानी गर्दा बस चढ्ने बेला पछाडिको ढोकामा स्मार्ट कार्ड ट्याप गर्नुपर्छ भने झर्ने बेलामा अगाडिको ढोकामा पुनः कार्ड ट्याप गरेपछि रकम स्वतः भुक्तानी हुनेछ । बसमा जडान गरिएको जिपिएस बेस्ड स्टेसन लोकेसनका आधारमा स्वचालित रुपमा भाडा दर हिसाब हुने श्रेष्ठले बताए ।

स्मार्ट कार्ड प्रयोग नगर्नेले ई–टिकेटिङमार्फत बिल भुक्तानी गर्न सक्ने उनले बताए । स्मार्ट कार्डलाई पछि पेट्रोल पम्प, बजार, स्कुल, कलेज, कर्पोरेट क्यान्टिन, लघुवित्त संस्था, अन्य शुक्ष्म ब्यापारमासमेत यो प्रयोगमा ल्याउन सकिने उनको भनाई छ ।

शुरुमा स्मार्ट कार्ड निःशुल्क वितरण गरिने पोखरा महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले भने,‘शुरुमा करीब १० हजार स्मार्ट कार्ड निःशुल्क वितरण गरिनेछ ।’ उनले दोश्रो चरणमा भने सशुल्क स्मार्ट कार्ड वितरण गरिने बताए । ऐच्छिक रुपमा लागु गर्ने तयारी गरिएको यो स्मार्ट कार्ड यात्रुले खरिद गर्दा १४० रुपैयाँ तिर्नुपर्ने बताइएको छ ।

स्मार्ट कार्ड र ई–टिकेटिङको सेवा दिए बापत बस ब्यबसायीले एन.क्लाउडलाई प्रति बस २ हजार २ सय रुपैयाँ प्रदान गर्नुपर्ने जनाइएको छ ।

सम्झौतापछि बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई स्मार्ट सिटी बनाउने उद्धेश्य अनुरुप पोखरामा चल्ने बसहरुमा स्मार्ट कार्ड र ई–टिकेटिङ लागु गर्न लागिएको बताए । उनले शुरुमा ऐच्छिक रुपमा स्मार्ट कार्ड लागु गरेपनि पछि गएर टिकेट लेस बनाउने लक्ष्य अनुरुप अघि बढिएको बताए । प्रमुख जिसीले स्मार्ट बस सेवा शुरु भएपछि घरको ढोका ढोकामा बस रोक्ने कार्यलाई पनि निरुत्साहित गरिने बताए । उनले भने,‘बजारको सटर÷सटर र घरको ढोका÷ढोकामा हात उठाएर बस रोक्ने कार्यलाई निरुत्साहित गरिनेछ, योपनि छिट्टै लागु गर्ने तयारीमा छौं ।’ उनले पार्किङ नहुनेले गाडी किन्न नपाउने नियम लागु गराउने पक्षमा माहानगरपालिका भएपनि यसबारे भने छलफल गर्न बाँकी रहेको बताए । बेलैमा पार्किङको बारेमा सोंचिएन भने पोखराको ट्राफिक ब्यबस्थापन गाह्रो हुने बताउँदै उनले भने,‘अबपनि पार्किङ ब्यबस्थित नगर्ने हो भने अबको १० वर्षमा पोखराको पार्किङ ब्यबस्थापन नियन्त्रण बाहिर जान्छ निश्कर्षमा महानगरपालिका पुगेको छ ।’ उनले स्मार्ट कार्डलाई पछि महानगरपालिकाले व्यक्ति र परिवारको सम्पूर्ण डाटा हालेर यसलाई मल्टिपर्पोज बनाउनेपनि बताए ।

पोखरामा ई–टिकेटिङ र स्मार्ट कार्ड लागु गर्ने तयारीमा रहेको एन.क्लाउड प्रालिले काठमाडौंमा साझा यातायातलगायतमा पनि यो लागु गरिसकेको जनाएको छ ।

You might also like

Comments are closed.