अभियानमा संकलित गुरुदक्षिणा हस्तान्तरण

पोखरा, १३ साउन ।

पोखरा लेखनाथ महानगरपालिका ३३, शान्ति उदय माध्यमिक विद्यालय बरपाण्डेथुमका पूर्व विद्यार्थीहरुले शनिवार एक कार्यक्रमका वीच अभियानमा संकलित गुरुदक्षिणा हस्तान्तरण गरेका छन् र्। गुरुदक्षिणा अभियानमा संकलित उक्त गुरुदक्षिणा साढे तीन दशक शिक्षण गरेर अस्थायी शिक्षककै रुपमा सेवा निवृत्त भएका गुरु भोला सिंह ठाकुरलाई हस्तान्तरण गरिएको हो ।

अभियानको संयोजन गर्दै आएका शान्ति उदयका पूर्व विद्यार्थी मोती भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा “सामाजिक सञ्जालका माध्यमबाट सञ्चालित गुरुदक्षिणा संकलन अभियानमा देश विदेशमा रही विभिन्न सेवा, पेशा एवं व्यवसाय गर्दै आएका ठाकुरका चेलापूर्व विद्यार्थीहरुबाट गुरुभेटी स्वरुप स्वतस्फूर्त संकलन गरिएको ६ लाख रुपैया ठाकुरलाई हस्तान्तरण गरिएको हो ।

ठाकुरले जीवनको महत्वपूर्ण समय यहाँका विद्यार्थीलाई गणित र विज्ञान पढाएर बिताए पनि अस्थायी शिक्षकका रुपमा सेवा निवृत्त भएका ठाकुरले यतिखेर नियमानुसार पाउनु पर्ने उपदान रकम पनि सहज रुपमा पाउन नसकेका कारण शान्ति उदयका पूर्व विद्यार्थीहरु एउटा आदर्श गुरुका रुपमा ठाकुरको सम्मानार्थ अभियान नै संचालन गरेर यसरी जुटेका अभियानकर्ता मोती भुजेलले बताए ।

भारतको ठकुरापारा बढया चोक गोरखपुरबाट आएर निरन्तर साढे तीन दशक भोला सिंह ठाकुरले गरेको योगदानका जगमा आज धेरै विद्यार्थी प्रशासनिक, राजनीतिक, सञ्चारलगायतका क्षेत्रमा महत्वपूर्ण पदमा पुगिसकेका छन् ।’

ठाकुरलाई विद्यालयमा शुरुमा माध्यमिक तहकै नियुक्ति दिइए पनि २०४४ सालदेखि भने उनलाई निम्न माध्यमिक तहको दरबन्दीमा राखिएको थियो । त्यसयता निमावि तहमा नै अध्यापन गरी अवकास भएका उनले उपदानका लागि कागजात मिलाउन कहिले विद्यालय, कहिले जिल्ला शिक्षा कार्यालय त कहिले शिक्षक किताबखाना धाइरहनुपरेको कुरा सुन्नुपर्दा उनका पूर्व विद्यार्थीहरु निकै चिन्तित देखिन्थे ।

वि.सं २०५९ साल साउन १ को सरकारी निर्णय बमोजिम शिक्षा मन्त्रालयले २०४६÷०४७ साल सम्मका शिक्षकलाई एक शैक्षिक सत्र पुरा गरी अस्थायी रुपमा सेवा गरी अवकास भएका र हुने गैर नेपाली शिक्षकका हकमा पाँचदेखि १० वर्षसम्म सेवा गरेकालाई सेवा अवधिभर प्रत्येक वर्षको तलव अनुसारको आधा महिनाको, दशदेखि १५ वर्षसम्म सेवा गरेकालाई एक महिनाको र पन्ध वर्ष माथिका लागि डेढ महिनाबराबरको रकम उपलब्ध गराउने निर्णय गरेको थियो तर ठाकुर सुविधाबाट वञ्चित छन ।

पूर्व विद्यार्थी विष्णुहरि पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका ३३ का वडाध्यक्ष शिबप्रसाद आचार्यले पूर्व विद्यार्थीहरुको कार्यको प्रशंसा गर्दै उपदानका लागि थप पहल भैरहेको वताए । कार्यक्रममा सम्मानित गुरु भोला सिंह ठाकुर, शान्ति उदय माध्यमिक विद्यालयका संस्थापक यज्ञप्रसाद आचार्य, विद्यालयका प्रधानाध्यापक टेकनारायण गिरी, व्यवस्थापन समितिका पुर्व अध्यक्ष कमलप्रसाद आचार्य, मनोहर आचार्य, शिक्षक अभिभावक संघ अध्यक्ष निलराज आचार्य, पूव विद्यार्थी मेघराज पौडेल, पूव विद्यार्थी हरिराम पौडेल, श्री गुरुङ, सजना आचार्य ढुङ्गाना लगायतले ठाकुरको उज्वल भविष्यको कामना गरेका थिए ।

You might also like

Comments are closed.