अमलटारी होमस्टेमा पर्यटकको भिड, पाँच वर्षमा करिब ५० हजार पर्यटक

सुुरेन्द्र पौडेल
जेठ, ८ अमलटारी (नवलपरासी)
प्रदेश नं. ४ को नवलपरासीमा सञ्चालित अमलटारी हो स्टेमा पर्यटकको आकर्षण देखिएको छ । होम स्टे सञ्चालन भएको पाँच वर्षमा करिब ५० हजार पर्यटक त्यहाँ पुगेर बसेका छन् । थारु, बोटे र मुसहरको बसोबास रहेको अमलटारीमा २०७० वैशाख ५ गतेबाट होम स्टे सेवा सुरु भएको हो । १८ वटा घरबाट सुरु भएको होम स्टे सेवा अहिले २४ वटा घरले प्रदान गरिरहेको होम स्टे व्यवस्थापन समितिका व्यवस्थापक धनिराम गुरौंले जानकारी दिए ।

अमलटारी होम स्टेमा आएर बस्न आन्तरिक पर्यटकको निकै आकर्षण देखिएको छ,’ उनले भने, ‘एक पटक अमलटारी पुग्नैपर्छ भन्ने सोचको विकास भएको छ ।’ नेपालकै उत्कृष्ट होमस्टेमा पर्न सफल अमलटारी होमस्टे अध्ययन अवलोकनको गन्तव्य समेत बनेको बताउँछन् उनी । ‘स्थानीय थारु, बोटे र मुसहर संस्कृतिको अध्ययनका लागि पनि प्रशस्त पर्यटकहरु यहाँ आउँछन्,’ उनले भने, ‘यहाँका होम स्टेमा सधैं पर्यटक भरिएका हुन्छन् ।’ अग्रिम बुकिङ गरेर अमलटारीमा पर्यटक आउने गरेको उनले जानकारी दिए ।

अमलटारी होम स्टेमा आउनेहरु मध्ये ९० प्रतिशतभन्दा बढी स्वदेशी पर्यटक छन् । २०७४ मा मात्र करिब १० हजार पर्यटक अमलटारी आएको गुरौंले बताए । २०७३ मा ५ हजार ४२ जना, २०७२ मा १४ हजार १ सय ३१ जना, २०७१ मा १० हजार ८ सय ७५ जना पर्यटक अमलटारी पुगेका छन् । होम स्टे सञ्चालन भएको वर्ष २०७० मा ९ हजार ७ सय जना पर्यटक त्यहाँ पुगेर बसेका थिए । २०७३ मा भूकम्प र नाकाबन्दीका कारण पर्यटक केही कमी भएको उनले बताए ।

होम स्टेमा आउने पर्यटकलाई स्थानीय परिकार खुवाइने होम स्टे सञ्चालक जानकी महतोले बताइन् । ‘यहाँ आउने पर्यटकलाई फूलका गुच्छा र अबिरले स्वागत गर्छौं,’ उनले भनिन्, ‘सकेसम्म आतिथ्यता प्रदान गरी जाने समयमा शुभयात्राको कामसहित बिदाई गर्ने परम्परा छ ।’ एउटा घरमा २ वटा कोठा छन् । प्रत्येक घरमा ४÷४ जना पर्यटक राखिन्छ । ४ जना पर्यटकको एक रात बसेको प्याकेज २ हजार ६ सय रुपैयाँ मात्र लिइन्छ । उक्त प्याकेजमा साँझको खाना र बिहानको ब्रेकफास्ट समावेश गरिएको उनले जानकारी दिइन् । साँझको खानामा लोकल कुखुरा, हाँस र माछा सहित अन्य परिकार खुवाइन्छ भने बिहानको ब्रेकफास्टमा स्थानीय चिचर (अनदीको चामललाई बाफमा पकाएर बनाइने चाम्रे) तथा सोझुवा रोटी खुवाइन्छ ।

अमलटारी आउने पर्यटकहरुले जंगल सफारीको मज्जासमेत लिने गरेका छन् । जंगल सफारीका क्रममा गैंडा, हरिण, मृग, बाग लगायतका जीवजन्तुको प्रत्यक्ष अवलोकन गर्न सकिने होम स्टे सञ्चालक गीता महतोले जानकारी दिइन् । अमलटारीमा पूर्ण व्यावसायिक रुपमा होम स्टे सञ्चालन भइरहेको व्यवस्थापक गुरौंले बताए । ‘प्रत्येक घरले महिनामा कम्तीमा पनि ५० हजार रुपैयाँ भन्दा बढी कमाउँछन्,’ उनले भने, ‘प्याकेज भन्दा बढी खानाको अर्डर हुँदा होम स्टे सञ्चालकले थप कमाउँछन् ।’

You might also like
1 Comment
  1. कृष्णमान गुभाजू says

    राम्राे गरि लाेकेसन र सम्पर्क नं पनि दिएकाे भए त्यहाँ जान इच्छुकलाई सजिलाे हुन्थ्याे हाेला ।

Comments are closed.