स्याङजा । स्याङजाको फेदी खोलामा रहेको अमोर सेवा नेपाल बालगृहमा रहेका बालबालिकाहरुलाई लायन्स क्लब अफ पोखरा स्मार्ट टाउन र मिड टाउनले सहयोग गरेका छन् । दुई क्लबहरुको संयुक्त आयोजनामा शनिबार एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको हो ।
बालगृहका लागि आवश्यक खाद्यान्नसहितका सामानहरु सहयोग गरिएको कार्यक्रम संयोजक तथा स्मार्ट टाउनका प्रथम उपाध्यक्ष लक्ष्मी शर्माले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले शहरभन्दा बाहिर ग्रामीण क्षेत्रमा पुगेर सहयोग गर्नु उदाहरणीय कार्य भएको बताए । ‘शहर केन्द्रित भन्दा ग्रामीण क्षेत्रमा पुगेर कार्यक्रम गर्नु तथा सहयोग गर्नु राम्रो पक्ष हो,’ उनले भने ।
जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने भावनासहित बालगृहलाई सहयोग गरिएको स्मार्ट टाउनका अध्यक्ष कविता श्रेष्ठले बताइन् । कार्यक्रममा बोल्दै बालगृहका संस्थापक अध्यक्ष कमला पराजुलीले सहयोगी मन भएकाहरुको सहयोगबाटै बालगृह सञ्चालन भइरहेको जानकारी दिइन् । ‘हामीले विदेशी सहयोग लिएका छैनौं,’ उनले भनिन्, ‘मनकारी नेपालीहरुको साथ र सहयोग मिलिरहेको छ ।’
यसैबीच, नेपाल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी (एन.आइ.इ.सी.) पोखराले पनि सोही अवसरमा बालगृहका बालबालिकाहरुलाई सहयोग गरेको छ । कन्सल्टेन्सीले बालबालिकाहरुका लागि एकएक जोर कपडा तथा फलफुल सहयोग गरेको हो ।
सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बालगृहका बालबालिकालाई सहयोग गर्न पाउँदा निकै हर्षित महसुस भएको स्मार्र्ट टाउनका निर्देशक तथा कन्सल्टेन्सीका सञ्चालक किरण नेपालले बताइन् ।
स्मार्ट टाउनका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा वाराही टाउनका अध्यक्ष कृष्ण श्रेष्ठ (रोजी), मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेल, स्मार्ट टाउनका सचिव पवित्रा शर्मा लगायतले बोलेका थिए ।
Comments are closed.