पोखरा । सरकारी नियम उल्लंघन गरेको आरोपमा पोखराको एक होस्टल सञ्चालिका पक्राउ परेकी छन् । विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले शैक्षिक संस्थाहरु बन्द गर्न गरेको निर्णय उल्लंघन गर्दै होस्टल सञ्चालन गर्ने पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटनस्थित अलब्राइट होस्टलकी सञ्चालिका सनसरी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
सरकारी निर्णयको उल्लंघन गरी होस्टल सञ्चालन गरेको गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले होस्टलबाटै श्रेष्ठलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । पक्राउ गरिएकी होस्टल सञ्चालिका श्रेष्ठलाई ५ हजार धरौटी राखेर तारेखमा छाडिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । श्रेष्ठलाई संक्रामक रोग ऐन अन्तर्गत मुद्धा चलाइएको बताए ।
संक्रामक रोग ऐनको उलंघन गरेको पुष्टी भए १ सय रुपैयाँ जरिवाना र १ महिना जेल सजाय हुने जनाइएको छ ।
लकडाउनका कारण देशभरका शैक्षिक संस्थाहरु बन्द हुँदापनि पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटनस्थित अलब्राईट होस्टल कहिल्यै बन्द भएन । नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई ब्रिज कोर्ष पढाउँदै आएको सो होस्टल संघ सरकारले जारी गरेको लकडाउनमा मात्रै होइन, जिल्ला प्रशासन कार्यालय कास्कीले लगाएको निषेधाज्ञाका बिचमापनि निरन्तर चलिरह्यो ।
होस्टल सञ्चालकलाई होस्टल सञ्चालन गर्दा कोरोनाको जोखिम हुन्छ भन्ने थाहा नभएको होइन, अनि होस्टल सञ्चालन गर्दा लकडाउन तथा निषेधाज्ञाको उलंघन भएकोबारे अनभिज्ञपनि होइन । उसो त प्रहरी, प्रशासनलाई होस्टल सञ्चालन भएकोबारे थाहा नभएकोपनि होइन । सञ्चालकले प्रहरी र प्रशासनलाई अटेर गरेकै कारण देशभरका शैक्षिक संस्थाहरु बन्द हुँदापनि यो होस्टल निरन्तर चलिरहेको हो । उसो त लकडाउन र निषेधाज्ञा जारी भएको बेलापनि होस्टल सञ्चालन भइरहेको थाहा पाएरपनि प्रहरी प्रशासन भएर बसिदिदा सञ्चालकलाई थप हौसला मिल्यो ।
लकडाउन र निषेधाज्ञाकाबीच होस्टल सञ्चालन भएको थाहा पाएर वडा कार्यालयले सञ्चालन नगर्न पनि भनेकै हो । तर होस्टल सञ्चालकले वडालाई वास्तै गरेन । अझ भनौं अटेर ग¥यो । बरु उसले सम्बन्धित निकायलाई जानकारी गराएरै होस्टल सञ्चालन गरेको जवाफ दियो । स्थानिय सरकारका रुपमा रहेको पोखरा–४ का वडाध्यक्ष शंकर बास्तोलाले कोरोनाको जोखिमका बेला होस्टल सञ्चालन नगर्न आग्रह गर्दा अटेर गरेको बताए । मैले होस्टल सञ्चालकलाई भेटेरै होस्टल सञ्चालन नगर्न भनेकै हो, उनले भने,‘तर उसले हाम्रो कुरै सुनेन ।’
होस्टल सञ्चालिका पक्राउसँगै होस्टलमा अध्ययन गर्दै आएका विद्यार्थीहरु भने बिचल्लीमा परेका छन् । होस्टलमा हाल विभिन्न जिल्लाका ४० जना विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । ति विद्यार्थीहरुलाई अभिभावकको जिम्मा लगाएर घर पठाईने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।
Comments are closed.