अवकाशपछि २ बर्षसम्म आइएनजिओमा काम गर्न पाउँदैनन्ः मन्त्री पण्डित

 

पोखरा, ३ असार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उच्च पदस्थ सरकारी कर्मचारीले अवकास लिएको दुई वर्षसम्म कुनैपनि एनजिओ, आइएनजिओमा काम गर्न नपाउने बताएका छन् । उनले राष्ट्रको सूचनाको गोपनियताको लागि पनि यो आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासँघ कास्कीद्वारा आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारी अवकास पाउनेबित्तिकै एनजिओ, आइएनजिओमा काम गर्दा राष्ट्रको गोप्य सूचना चुहिने गरेको बताए । ‘कार्यालयमा कार्यरत भएकै बेला एनजिओ, आइएनजिओको डिल मिलिसकेको हुन्छ’ उनले भने – ‘एनजिओ, आइएनजिओ तिर छिर्ने बित्तीकै सरकारी सूचनाहरु त्यतै प्रयोग भईसक्छ।’

मन्त्री पण्डितले थपे – हाम्रो सूचना बाहिर चुहिन नपाओस् । कर्मचारी प्रति राष्ट्रले लगानी गरेको छ । त्यसको प्रतिफल राष्ट्रले नै पाउनु पर्छ।’ मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीलाई अवकासपछि पनि देशमै काम गर्ने गरी व्यवस्था मिलाउने बताए । ‘राष्ट्रसेवक जो विशिष्ट श्रेणीबाट रिटायर्ड भएका छन् उनीहरु बाँचुञ्जेल राष्ट्रको सल्लाहकार हो ।’ उनले राष्ट्रसेवकलाई उत्साहित भएर काम गर्न आग्रह गर्दै सरकारले उचित सेवा सुविधाको व्यबस्था गर्ने योजना रहेको बताए ।

मन्त्री पण्डितले जहिलेसम्म राष्ट्रसेवक हुने हो त्यतिबेला सम्म उत्साहित भएर काम गर्नुपर्ने बताए । उनले स्थानीय तहमा ९५ प्रतिशत प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भइसकेको बताए । नभएका ठाउँमा पनि छिट्टै हुने जाकारी दिए । प्रदेश लोक सेवा आयोग मार्फत सबै ठाउँमा कर्मचारीको व्यवस्थापन गर्न मन्त्रालय लागेको बताए । उनले तोकिएको ठाउँमा नजाने कर्मचारीलाई कार्वाहीको प्रक्रिया अगाडी बढाएको बताए । उनले अब एउटा मात्रै निर्वाचीत टे«ड युनियन बनाउने ऐन ल्याउने बताए ।

कर्मचारीलाई सरकारले जुनसुकै ठाँउमा खटाउन सक्ने उनको भनाइ छ । मन्त्री पण्डितले निजामती ऐन आएपछि स्थानीय तहका कर्मचारीलाई पनि अन्य क्षेत्रमा हेरफेर गर्न सकिने बताए । उनले नगरपालिका र महानगरपालिकाका कर्मचारीहरु सरुवा नहुने परम्पराले काम गर्न कठिन भएको बताए ।

एउटै कार्यालयमा हालिमुहाली गर्ने कर्मचारीको सरुवा गर्ने उनले बताए । कर्मचारीलाई नेपाल सरकारले २४ घण्टामा जुनसुकै बेला जहाँ पनि खटाउन सक्ने भन्दै उनले काठमाडौमा मात्रै जागिर खान्छु भन्नु गलत हुने बताए । आफुलाई पायक पर्ने ठाउँमा मात्रै कर्मचारीहरु बस्ने प्रबृत्तिको अन्त्य गर्दै सेवामुखी बनाउनका लागि कर्मचारीहरुको सरुवा गर्ने सरकाको उद्देश्य रहेको भन्दै उनले कर्मचारीको कार्यक्षेत्र पोखरामात्र होईन। मुस्ताङका जनताले पनि यहाका जनता सरह सेवा सुबिधा पाउनुपर्छ भने ।

‘पोखरा,काठमाडौंमै सेवा गर्न पाए खुशी हुने नत्र बेखुशी हुने प्रबृत्ति छ । देश भनेको हुम्ला, जुम्ला मुगुदेखि लिएर मनाङ, मुस्ताङ पनि हो । त्यहाँ पनि जनता छन् । सरकारले त्यहाँ पनि सेवा गर्नुपर्छ ।’ मन्त्री पण्डितले भने, जागिर खाएर पनि पढ्ने मात्रै, काम नगर्नेमाथि निगरानी भइरहेको उनले भनाई थियो ।

You might also like

Comments are closed.