असोजसम्ममा जुलोजिकल पार्क घुम्न लायक बन्छ

हिमालय बख्रेल
संयोजक, पोखरा जुलोजिकल पार्क निर्माण समिति

खुल्ला चिडियाघर निर्माण कहाँ पुग्यो ?
पहिले चिडयाघर भनिएपनि अहिले यो परिवर्तन भएर पोखरा जुलोजिकल पार्क अर्थात खुल्ला चिडिया घर बन्ने भयो । चिडियाघर भनेको जंगली जनावरहरु थुनेर अवलोकन गर्न मिल्ने बनाइएको ठाउँ हो । तर यो ओपन जु हो । जहाँ ठूलो ठाउँ हुन्छ । जनावर तथा चराचुरुङ्गीहरु स्वतन्त्र रुपमा हिंडडुल तथा उड्न पाउँछन् । पोखरा महोत्सव शुरु गरेर २०६७ सालबाटै केहि रकम जोहो गर्दै हामीले चिडियाखाना निर्माण शुरु गरेका हौं । हामीले अहिले १० वटा भौतिक पूर्वाधार निर्माणको काम गरिरहेका छौं । यो शुरुवात मात्रै हो । अहिले खोरहरुको निर्माण गर्ने काम भइरहेको छ । हामीले मृगको खोर (इनक्लोजर) बनाएका थियौं तर यो अलि सानो भएकाले त्यसलाई ठूलो बनाउने काम भइरहेको छ । मृगको खोरमा निलगाईलाई राख्ने तयारी अन्तर्गत काम भइरहेको छ । त्यहाँ चराहरुको गुँडहरु बनाउने प्रक्रिया पनि चलिरहेको छ । यसैगरी त्यहाँ वन्य जन्तुहरुलाई चाहिने पानी खाने ठाउँहरु पनि बनाउँछौं । एउटा खोरबाट अर्को खोरसम्म जाने गोरेटो बाटोको ब्यबस्था पनि गर्छौं । त्यस्तै, खुल्ला चिडियाघर पस्ने ठाउँमा मूलद्वारपनि निर्माण गर्छौं । विरामी जनावर वा घाइते जनावरलाई उद्धारका लागि आवश्यक पर्ने स्टे«चर पनि हुनेछ । त्यसको पनि तयारी गरिरहेका छौं । घाइते जनावर तथा चराहरुलाई उपचारका लागि उपचार कक्ष पनि निर्माण गर्छौं । अहिलेसम्म हामीले २५ वटा जंगली जनावर तथा चराचुरुङ्गीको रेस्क्यू गरेर राखेका छौं । त्यहाँ हामीले उपचार गरेर पछि पुरानै ठाउँमा छाड्ने काम पनि गरिराखेका छौं । अहिलेसम्म वन्यजन्तु उद्धार केन्द्रको रुपमा काम भइरहेको छ ।

यो कस्तो चिडिया घर हो ?
यो खुल्ला चिडिया घर हो । जहाँ वन्यजन्तुहरु निस्फिक्री घुम्न सक्छन् । मान्छेहरुलाई तारजालीले घेरेर सुरक्षित रुपमा अवलोकन गर्ने वातावरण निर्माण गरिन्छ । पचभैयाँमा निर्माणाधीन जुलोजिकल पार्क काठमाडौंको सदर चिडियाखाना जत्तिको नभएपनि त्यो हाराहारीको नै बन्छ । तर अहिले तत्काल भने वन्य जन्तु उद्धार केन्द्र मात्र छ । यसमा अहिले घाइते तथा विरामी वन्य जन्तु तथा चराचुरुङ्गी मात्र राखिएका छन् । उद्धार गरेर तंग्रिएपछि पुनः उनीहरुलाई पहिलेकै बासस्थानमा फर्काइन्छ ।

MANASLU

यो कहिलेसम्ममा बनिसक्छ ?
पोखरा जुलोजिकल पार्क अर्थात खुल्ला चिडियाखाना पूर्ण रुपमा बन्नलाई त समय निकै लाग्ला । तर अहिले प्रारम्भिक चरणको काम भने आगामी असोज अर्थात दशैं अगाडि सम्ममा निर्माण भइसक्छ । १३४ हेक्टर भित्र फैलिएको झण्डै २७ सय रोपनी जग्गामा विभिन्न ब्लकहरु बनाएर चिडियाखानाको पूर्ण स्वरुप दिन त वर्षौं लाग्न सक्छ । तर अहिले प्रदेश सरकारले दिएको डेढ करोड आगामी असार सम्ममा खर्च गरिसक्नुपर्छ । यसको मतलव प्रारम्भिक चरणको काम असार सम्ममा सक्नुपर्छ । असारमा नसकेपनि ढिलोमा असोज सम्ममा त जसरीपनि सक्ने गरी काम भइरहेको छ ।

के ले गर्दा चिडियाघर निर्माणमा ढिलाई भइरहेको छ ?
हामीलाई त्यस्तो बाधा अड्चन भएर ढिलाई भएको होइन । हामीलाई आर्थिक रुपमा समस्या परेकै कारण निर्माणको काममा ढिलाई भएको हो । पोखरा महोत्सवबाट प्राप्त रकमले मात्रै चिडिया घर निर्माण गर्न सम्भव भएन । प्रदेश सरकारले बजेट उपलब्ध गराएपछि अहिले तिव्र रुपमा काम भइरहेको छ । प्राप्त रकमको हामीले सदूपयोग गरेर काम गरिरहेका छौं ।

चिडियाघर निर्माणका लागि कति खर्च लाग्ला ?
चिडिया घर निर्माणका लागि यति नै खर्च लाग्छ भनेर यसै भन्न सकिन्न । यसको डिपिआर बन्दैछ । डिपिआर बनिसकेपछि मात्र यसको लागत थाहा हुन्छ । चिडियाघर पूर्ण रुपमा बन्न अर्ब भन्दा बढी लाग्ने अनुमान गरिएको छ । प्रारम्भिक रुपमा करीब साढे ३ करोड खर्चेर काम गरिदैछ । हालसम्म ंपोखरा महोत्सवबाट प्राप्त आम्दानीबाट छुट्याइएको ४५ लाख ८५ हजार खर्च भइसक्यो । गण्डकी प्रदेश सरकारले दिएको १ करोड ५० लाखले अहिले काम भइरहेको छ । त्यस्तै, खोरहरु निर्माणका लागि प्रदेश सरकारले नै थप १ करोड ५० लाख छुट्याएको छ । त्यसले चिडियाघरको आकार सम्मचाहिं लिन्छ ।

चिडियाघर निःशुल्क अवलोकन गर्न पाइने बनाईन्छ कि सशुल्क ?
यो सशुल्क अवलोकन गर्ने व्यवस्था हुन्छ । किनकि डोनेसनबाट प्राप्त रकमले मात्रै चिडियाघर निर्माण सम्पन्न हुँदैन । यद्वपी अहिलेसम्म हामीले निःशुल्क प्रवेशको व्यवस्था गर्दै आएका छौं ।

आर्थिक सामाजिक क्षेत्रमा यसको प्रभाव कस्तो प्रभाव पार्ला ?
यसको प्रभाव धेरै नै हुन्छ । यसले विद्यार्थीदेखी लिएर आन्तरिक तथा बाह्य पर्यटक भित्राउन महत्वपूर्ण योगदान दिन्छ । पर्यटन बढ्ने वित्तिकै आर्थिक चलायमान हुने नै भयो । पर्यटक यहाँ आउँदा उ पोखरा वा यस आसपासका क्षेत्रमा रात बिताउँछ । त्यसरी रात बिताउँदा कम्तिमा पनि उसले खान र सुत्नका लागि खर्च गर्छ । पोखरामा चिडियाखाना बन्ने वित्तिकै वन्यजन्तुको अध्ययन गर्ने विद्यार्थीका लागि एउटा राम्रो गन्तव्य बन्न सक्छ । त्यस्तै वनस्पति सम्बन्धी अध्ययन गर्ने एउटा केन्द्र बन्न सक्छ । चिडियाखाना रुपाताल र बेगनास तालको बिचमा रहेकाले त्यहाँ बायो डाइभर्सिटीको अध्ययन गर्ने गन्तव्यसमेत बन्न सक्छ । यसले गर्दा सामाजिक रुपमा यसले सम्बन्धित ठाउँको विकासमा पनि योगदान दिन्छ भने आर्थिक रुपमा पर्यटक आएर बस्ने, खाने गर्ने वित्तिकै आर्थिक चलायमान बनाउनपनि योगदान दिन्छ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...