अस्पताललाई सवा करोडको अत्याधुनिक स्वास्थ्य उपकरण सहयोग

पोखरा, ४ साउन ।

लायन्स क्लबले विभिन्न अस्पताललाई नवजात शिशुको लागि आवश्यक विभिन्न अत्याधुनिक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । इटलियन अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एएनटी को आर्थिक सहयोग तथा  डे वान हेल्थ र एमटिटिएसको सहकार्यमा सामग्री हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब अफ बागलुङले धौलागिरी अञ्चल अस्पताल, लायन्स क्लब अफ बुटवलले लुम्बिनी अञ्चल अस्पताल, लायन्स क्लब अफ काठमाडौं सामाखुसीले सिद्धी मेमोरियल अस्पताल भक्तपुरमा, लायन्स क्लब अफ न्युरोड चौतारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपकरण हस्तान्तरण गरेका हुन् । पहिलो चरणमा कोशी अञ्चल अस्पताल, सुर्खेत, दमौलीमा करिब १ करोड २८ लाख रुपैयाँ बराबरको उपकरण अस्पताललाई सहयोग गरिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका सेकेन्ड भाइस गभर्नर मनबहादुर रोकाले जानकारी दिए ।

दोस्रो चरणमा धादिङ, गुल्मी अर्घाखाँची, लमजुङ अस्पतालमा विभिन्न लायन्स क्लबहरु मार्फत नै १५ लाख रुपैयाँ बराबरको सामग्री छिट्टै हस्तान्तरण गरिने रोकाले बताए । डे वान हेल्थका एडभाइजर नरेन्द्र श्रेष्ठ र एमटिटिएसका नेपाल कन्ट्री डाइरेक्टर कुशल थापाले मनबहादुर रोकालाई हस्तान्तरण कार्यक्रमको स्थानिय प्रतिनिधि बनाएका छन् ।  ‘संस्थालाई नै परिचालित गर्ने हेतुले लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ को द्वितीय भाइस गभर्नरको नाताले लायन्स क्लबका आफ्नै सर्भिस प्रोजेक्ट बनुन् र क्लबहरु पनि परिचालित हुन्छन् भन्ने उद्देश्यले लायन्स क्लबहरुलाई कार्यक्रमको जिम्मा दिइएको छ,’ रोकाले भने ।

तेस्रो चरणमा लायन्स क्लबहरु मार्फत नै अन्य अस्पतालहरूलाई समेत ठुलो परिमाणमा शिशु उपचारका उपकरणहरु वितरण गरिने योजना रहेको रोकाले जानकारी दिए । सहयोगी संस्थाले दक्षिण पूर्र्वी एसिया तथा दक्षिण एसियाका २० भन्दा धेरै देशमा काम गरिरहेको छ । करिब ३ हजार भन्दा धेरै स्टाफलाई मेडिकलका साथै नवजात शिशुको हेरचाहका वारेमा पनि तालिम प्रदान गर्दै आइरहेको छ ।

करिब १ मिलियन भन्दा धेरै नवजात शिशुको लागि यस प्रविधिको प्रयोग भइसकेको बताइएको छ । डे वान हेल्थका एडभाइजर नरेन्द्र श्रेष्ठ र एमटिटिएसका नेपाल कन्ट्री डाइरेक्टर कुशल थापाको सहयोग कार्यक्रमलाई सहजीकरण गरेका छन् । स्वास्थ्य उपकरण सहयोग गरिसकेपछि आवश्यक प्राविधिक सहयोग पनि संस्थाले नै गर्ने रोकाले जानकारी दिए । ‘नेपालको स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण सहयोग मिलेको छ,’ उनले भने, ‘प्राप्त सहयोगको भरपुर उपयोग गर्न सक्नुपर्छ ।’ आगामी दिनमा पनि यस्ता प्रोजक्ट नेपाल भित्र्याउन आफूले पहल गर्ने रोकाले बताए । ‘लायन्स मार्फत नै सहयोग हस्तान्तरण कार्यक्रम गरिनेछ,’ उनले भने ।

You might also like

Comments are closed.