आँधीखोला गाउँपालिकाद्वारा विद्यार्थीलाई एभोकाडोको बिरुवा वितरण

स्याङ्जा ।
स्याङ्जाको आँधीखोला गाउँपालिकाले गाउँपालिका अन्तर्गत १८ वटा विद्यालयका कक्षा ६ देखि १२ सम्मका २००० विद्यार्थीलाई निःशुल्क एभोकाडोको बिरुवा वितरण गरेको छ । प्रत्येक विद्यार्थीलाई ५ वटा र विद्यालयलाई ५ वटाकाका दरले १० हजार ७ सय एभोकाडोको बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

एभोकाडो (घ्यू फल) मा अत्याधिक पौष्टिक तत्व पाइने भएकोले बजारमा यसको माग धेरैै रहेको र थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने साथै स्वास्थ्यका लागि पनि लाभदायक मानिने भएकोले एभोकाडो खेतीमा विद्यार्थीलाई आकर्षित गर्ने उद्देश्यले विद्यार्थीलाई उत्पादन सँग जोड्ने कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले विद्यार्थीलाई भविष्यमा आर्थिक रूपले सक्षम बनाउन आजैदेखि व्यावसायिक खेती तर्फ आकर्षित गर्न आफूहरूले जोड दिएको बताए । बिरुवा रोपेको ४ देखि ६ वर्षभित्र उत्पादन दिने भएकोले अहिले रोपेको बिरुवाले कलेज पढ्ने बेलामा विद्यार्थीले आफ्नो कलेज फी आफैँ तिर्न सकुन् भन्ने लक्ष्यका साथ बिरुवा वितरण गरिएको अध्यक्ष पौडेलले बताए ।

अधिकांश व्यापारीले बोटै मोल मोलाई गरेर एभोकाडोको फल खरिद गरेर लैजाने गरेको कृषि शाखा प्रमुख अर्जुन चापागाँईले बताए । फल्ने सिजनको सुरुवातीमा प्रति किलो एक सय ५० रुपैयाँदेखि मूल्य सुरु भएर सिजनको अन्तिम सम्म पाँच सय रुपैयाँ प्रति केजी पुग्ने उनले बताए ।

प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने एभोकाडो उच्च रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीका लागि लाभदायक मानिन्छ । पचास वर्षसम्म उत्पादन दिने एउटा बोटमा वार्षिक २०० किलोसम्म फल लाग्ने र समुन्द्री सतहदेखि चार सयदेखि एक हजार ७०० मिटर उचाइको पहाडी भूगोलमा हुने एभोकाडो बिरुवाको खेती आँधीखोला गाउँपालिकाको हावापानीमा पनि सम्भव भएको कृषि प्राविधिक बिबेक आचार्यले बताए ।

You might also like

Comments are closed.