आइएमई ग्रुपले पोखरामा खोल्यो अशोक लेल्याण्डको शाखा

आर्थिक आवाज
पोखरा, २१ मंसिर । आइएमई ग्रुपले पोखरामा अशोक लेल्याण्डको शाखा बिस्तार गरेको छ । आइएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्याण्डको शाखा पोखरा महानगरपालिका वडा नम्बर १४ स्वागतनगर चाउथेमा खोलिएको हो । शाखाको शुक्रबार आयोजित एक कार्यक्रमका बिच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले उद्घाटन गरे ।

पोखराको स्वागतनगर चाउथेमा खोलिएको शाखाबाट आइएमई ग्रुपले अशोक लेल्याण्डका बस, ट्रक, टिप्पर र पिकअप भ्यान बिक्री गर्नुका साथै सर्भिस र स्पेयर पार्टस्हरु उपलब्ध गराउने आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले जानकारी दिए । पोखरा शाखामा अशोक लेल्याण्डका १ टनदेखि ४९ टनसम्मका सामान बोक्ने गाडीहरु, १६ सिटदेखि ७० सिट क्षमतासम्मका बसहरु, ४ क्यूविक मिटरदेखि २२ क्यूविक मिटर क्षमताका ट्रिपर, ट्रक, विभिन्न स्पेसल प्रयोजनका दमल, आरएमसी, रिकभरी भेहिकल, पेट्रोल, ट्रयाङ्कर, डिफेन्स भेहिकल, ग्यास बुलेटलगायतका गाडीहरु बिक्रीका लागि राखिने उनले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले अशोक लेल्याण्डका गाडीहरु बलियो र विश्वासिलो भएकाले पोखरामा यसले छिट्टै मार्केट लिने बताए । केही अघिसम्म सर्भिस सेन्टर नहुँदा राम्रो हुँदाहुँदै पनि अशोक लेल्याण्डका गाडीहरु कम बिक्री भएपनि अब सर्भिस सेन्टर नै पोखरा आएपछि यसको बिक्री ह्वात्तै बढ्ने उनले विश्वास व्यक्त गरे । साथै उनले आगामी दिनमा गाडी बिक्रीसँगै सर्भिस सेन्टरहरु अझ धेरै खोल्न सुझाव पनि दिए ।

कार्यक्रममा बोल्दै आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले आफूहरुले पोखरामा थ्रि एस. अर्थात सेल्स, सर्भिस र स्पेयर्सको पूर्ण ज्ञारेन्टी गरेको बताए । आइएमई मोटर्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले आफूहरुले बिक्री पछिको सुविधालाई ध्यान दिएर सर्भिससहितको शाखा खोलेको स्पस्ट पारे ।

अशोक लेल्याण्ड भारतका भाइस प्रेसिडेन्ट रभि पंगाले आगामी २ वर्षमा अशोक लेल्याण्डका गाडीहरु नेपालमा १० हजार बिक्री हुने दाबी गरे । अशोक लेल्याण्ड कम्पनी विश्वकै उत्कृष्ट १० मा पर्ने र यसले उत्पादन गर्ने सामान बलियो र भरपर्दो हुने उनले बताए । नेपाली बजारमा अशोक लेल्याण्ड गाडीप्रति आकर्षण बढिरहेको सेल्स हेड अमित अधिकारीले बताए ।

https://arthikawaj.com/2018/12/8108
You might also like

Comments are closed.