‘आइएमई पे’बाट पेट्रोलको भुक्तानी गर्दा नगद छुट, पेट्रोलियम एसोसिएसनसँग सम्झौता

आर्थिक आवाज
पोखरा, २१ फागुन । गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसनमा आवद्ध रही साविकको गण्डकी धौलागिरी अञ्चल अन्तर्गतका विभिन्न जिल्लाहरूमा सञ्चालित पेट्रोल पम्पहरूमा अबदेखि पेट्रोलको भुक्तान विद्युतीय कारोबार ‘आइएमई पे’बाट गर्न सकिने भएको छ । मंगलबार पोखरामा आयोजित विशेष कार्यक्रमकाबीच सो सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता पत्रमा ‘आइएमई पे’का तर्फबाट आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनका तर्फबाट अध्यक्ष राजन गोंगजूले हस्ताक्षर गरेका छन् । यस क्षेत्रका ५४ वटा पेट्रोलपम्पबाट सेवालिने सेवाग्राहीहरु आइएमई पेको सेवाबाट लाभान्वित हुने पौडेलले बताए । गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष गोंगजुले ‘आइएमई पे’सँगको सहकार्यबाट पेट्रोलको भुक्तान विद्युुतीय माध्यमबाट गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । सम्झौता हस्ताक्षर भएको दिनबाट दुई वर्षसम्म कायम हुनेछ । आइएमई पे एपबाट पेट्रोल खरिद गर्दा प्रतिलिटर २ रुपैयाँ बोनस प्राप्त गर्न सकिनेछ ।

झन्डै २० हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । आइएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी रहेको पौडेलले जानकारी दिए ।

आइएमई डिजिटलले ‘आइएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्तिव्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्ने पौडेलले बताए । आइएमई डिजिटलले बैंकको सुविधाबाट बञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

You might also like

Comments are closed.