आइएमई साहित्य महोत्सवमा सुनिए सौरभ, प्रदीप गिरीदेखि विपीन कार्कीसम्म

पोखरा । आठौं संस्करणको आइएमई नेपाल साहित्य महोत्सवको चौथो अर्थात् अन्तिम दिन सोमबार पनि पोखरा साहित्यमय बन्यो । पोखराको तालबाराही चोक, लेकसाइडमा जारी महोत्सवमा अन्तिम दिन नायक विपीन कार्कीदेखि लेखक सौरभ, राजनीतिज्ञ प्रदीप गिरीसम्मले बहस गरे ।

महोत्सवकै अवसर पारेर कविशिरोमणि लेखनाथ पौड्यालको जन्मथलो काँस्कीको लेखनाथ नगरपालिकामा पर्ने अर्घाैं अर्चलेमा शिरोमणि संग्रहालय अवलोकन, शिरोमणि विमर्श, काव्यवाचन तथा पदयात्रा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सनतकुमार वस्तीले लेखनाथ पौड्यालको कृति र प्रवृत्तिबारे जानकारी दिए । रोचक घिमिरेले पौड्यालका केही आनीबानी एवम् स्वभावगत किस्सा सुनाए । माधव वियोगीले पौड्यालका केही कविता वाचन गरे । उक्त अवसरमा अमर न्यौपानेले लेखनाथ नचिन्दै उनका कवितासँग प्रेम भएको प्रसंगसहित उनको कवितामा पाइने वेदान्त दर्शनबारे धारणा राखेका थिए । साथै कार्यक्रमका सहभागीले संग्रहालय अवलोकन गरे । वक्ताले काव्यवाचन गरेपछि सुरु भएको पदयात्रा अर्घाैंदेखि कालिकासम्म पुगेर टुंगिएको थियो ।

सोमबारको पहिलो सत्र रह्यो, पात्रको तयारी । यसमा स्वेच्छा राउतसँग गफिए, विपीन कार्की, सुरक्षा पन्त र सौगात मल्ल । यो सेसनमा उनीहरुले फिल्ममा पात्रको भूमिका निर्वाह गर्न अपनाएका र गरेका संघर्षको बेलिविस्तार लगाए । महिनौं लगाएर गरेको तयारीपछि फिल्म आउँदा आफूहरु एक्साइटेड हुने गरेको उनीहरुको भनाइ थियो । कतिपय अवस्थामा पात्रको तयारी नगरी पनि सुटिङ गर्नुपर्दाका क्षणहरुबारे पनि उनीहरुले बेलिविस्तार लगाए । पछिल्लो समयमा बनिरहेका फिल्ममा नायकनायिका मात्र नभई सहायक अर्थात् सहनायकको भूमिका पनि खोजी हुन थालेको उनीहरुले बताए । साथै कतिपय अवस्थामा सहायक पात्रलाई पनि स्थापित गर्न सकिने उनीहरुको भनाइ थियो । फिल्मभरि अभिनय हुँदैमा त्यो नायकनायिका हुने र छोटो भूमिका हुँदा सहनायक हुने अवस्था नरहेको उनीहरुले बताए । त्यो त पात्रले निर्वाह गर्ने भूमिका र अभिनयले निर्देश गर्ने उनीहरुको भनाइ थियो ।

महोत्सवमा अर्काे सेसन रह्यो, विदेशी मिडियामा नेपाल । यसमा सुम्निमा उदास, दीपक अधिकारी, रजनीश भण्डारीलाई छलफलमा उतारे पावन माथेमाले । विभिन्न अन्तर्राष्ट्रिय मिडियामा काम गरेका उदास, अधिकारी र भण्डारीले त्यहाँका सञ्चारमाध्यमले नेपालका विविध पाटोलाई कसरी हेरिरहेका छन् भन्ने मात्र जानकारी गराएनन्, सँगै नेपालका सम्पदालगायत कला, संस्कृति आदिलाई कसरी बाहिर ल्याउन सकिन्छ भन्नेमा पनि बहस गरे । विदेशी मिडियामा नेपालका सगरमाथा, कुमारी जात्रा आदि विषयले कसरी स्थान पाएका छन्, कस्ताकस्ता इस्युमा अन्तर्राष्ट्रिय मिडियाले कभरेज गर्न चाहन्छन् भन्ने विषयमा पनि उनीहरुले छलफल गरे । २०७२ सालमा भारतले लगाएको अघोषित नाकाबन्दी र त्यसअघि गएको भूकम्पलगायतका बेला विदेशी मिडियाले नेपाललाई कसरी केन्द्रमा राखेर समाचार प्रकाशन, प्रसारण गरे भन्ने विषयमा समेत चर्चा भयो ।

यही समयमा आफ्नै गाउँ फर्की आएँ शीर्षकमा अनुप बराल, राम गुरुङ र सरस्वती प्रतीक्षा छलफलमा उत्रिए । कर्मथलो छाडेर आफ्नो जन्मथलोबाटै सुकर्म गरिरहेका अर्थात् समाजको विकासमा केही गरौं भनेर लागिपरेका बराल र गुरुङले बाल्यकालदेखि युवावस्थासम्म आफ्नो गाउँठाउँलाई कसरी, कस्तोकस्तो अवस्थामा देखियो भन्नेबारे चर्चा गरे ।

महोत्सवमा इङ्लिस एन्ड भर्नाकुलर लिटरेचर्स इन साउथ एसिया शीर्षकमा पनि बहस भयो । यो शीर्षकमा हरिश त्रिवेदीसँग सञ्जीव उप्रेतीले अन्तर्संवाद गरे । उनीहरुले दक्षिण एसियामा अंग्रेजी भाषा एवम् त्यसका भाषिकाको अवस्थाबारे चर्चापरिचर्चा गरे ।

महोत्सवमा छाउ विद्रोह शीर्षकमा पनि संवाद चल्यो । यसमा थिए, मोहना अन्सारी, शृंखला खतिवडा, मेनुका ढुंगाना र राज सरगम । उनीहरुले पश्चिम नेपालमा व्याप्त रुढीवादी परम्परा छाउबारे छलफल गरे । छाउ जस्तो कुसंस्कार समाजमा व्याप्त रहेसम्म यहाँको विकास सम्भव नहुनेमा उनीहरुले जोड दिए । यसको अन्त्यका लागि समाजमा सर्वप्रथम सचेतना जगाउनुपर्ने र त्यसका लागि राज्यका तर्फबाट पहलकदमी आवश्यक रहेको उनीहरुको भनाइ थियो ।

महोत्सवको अर्काे सत्र रह्यो, कहाँ आइपुग्यो सिंहदरबार ? यो सत्रमा सहभागी थिए, मानबहादुर जिसी, किरण गुरुङ र सोमलाल सुवेदी । उनीहरुलाई छलफलमा ल्याए, अमृत सुवेदीले । नेपाल संघीयतामा गएर तीनै तहको निर्वाचन भएर गाउँगाउँमा सिंहदरबार जाने भनिए पनि जनताले त्यो सुविधा नपाएको उनीहरुले बताए । त्यसमा केन्द्र सरकारले अझै पनि आफूले स्थानीय एवम् प्रदेश सरकारलाई अधिकार दिन अप्ठ्यारो मानेको उनीहरुको भनाइ थियो । जबसम्म स्थानीय एवम् प्रदेश सरकारलाई स्वायत्त बनाइँदैन, तबसम्म विकास सम्भव नभएको उनीहरुले बताए । साथै स्थानीय एवम् प्रदेश सरकारले आआफ्नो क्षेत्रबाट काम गरिरहे पनि त्यसको प्रभाव देखिन केही समय लाग्ने उनीहरुको धारणा थियो । यही समयमा अर्काे सेसन चल्यो, राइटिङ दि पास्ट । यसमा अमिताभ बाग्ची र अजपा शर्माले छलफल गरे । विगतमा फर्किएर लेख्नु गाह्रो काम रहेको उनीहरुले बताए । साथै लेखनका लागि धेरैजसो इतिहासमा भर पर्नुपर्ने बाध्यता रहेको उनीहरुकोउ भनाइ थियो ।

यसपछिको अर्काे सेसन रह्यो, शिवालिक सभ्यताको । यसमा सौरभको एकल प्रस्तुति रह्यो । सौरभले शिवालिक सभ्यताको सुरुवात, यसबारेका भ्रम, यसको विस्तारलगायत विषयमा आधारित रहेर आफ्ना अभिव्यक्ति सार्वजनिक गरे । शिवलेकको एकतिहाइ दक्षिण र उत्तर क्षेत्र लिएर नेपाल निर्माण भएको उनले बताए । यससम्बन्धी पुरातात्विक वस्तु भने नपाइएको उनको भनाइ छ । शिवालिकका सबै सभ्यतामा पुग्न एउटा सामान्य खोजबाट नसकिने उनले बताए । नेपालमा नेवार, खस र मैथिली सभ्यता रहेको उनको भनाइ छ । यसलाई नेपाल एवम् नेपालीहरुले गोरव गर्नुपर्ने उनले बताए । महोत्सवमा हाउ सेल्फी जर्नलिज्म इज अन्डस्ट्र्यान्डिङ डेमोक्रेसी सेसन चल्यो । यसका वक्ताहरुले पछिल्लो समय पहिलो हुने नाउँमा जथाभावी समाचार प्रसारण गरिरहेको अवस्थाबारे चर्चापरिचर्चा गरे । साथै त्यसले लोकतन्त्रमै खतरा निम्त्याउने उनीहरुको भनाइ थियो ।

यसपछि थियो, हिन्दी कविता वाचन र मानुषी विमर्श । उक्त समयमा कुलदीप कुमारले हिन्दी कविता वाचन गरे भने प्रदीप गिरीले मानुषी विमर्शमा आफ्ना धारणा राखे ।

Nova computer
Citizen Trade Link
टिप्पणिहरु
Loading...