आइएमई साहित्य महोत्सवमा योगेश भट्टराई, शृंखला खतिवडादेखि विनोद चौधरीसम्म (फोटो फिचर)

पोखरा । आइएमई नेपाल साहित्य महोत्सवको तेस्रो दिन आइतबार पनि दर्शक एवम् श्रोताको उल्लेख्य सहभागिता रह्यो । पोखराको तालबाराही चोक, लेकसाइडमा जारी महोत्सवमा गरमागरम बहस जारी भइरहेको छ ।

आइतबारको पहिलो सत्र रह्यो, अबको नेतृत्व कस्तो ? यो सेसनमा नेकपाका नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, कांग्रेस नेता एवम् सांसद गगन थापा, साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र उमेश चौहानबीच छलफल चल्यो । यो सेसनमा नेपालमा आगामी नेतृत्व कस्तो हुनुपर्ने विषयमा नेताहरुबीच बहस भयो । अहिलेको नेतृत्वका लागि युवापुस्ता अघि आउनुपर्ने र उनीहरुले दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा उनीहरुले जोड दिए । साथै आआफ्ना क्षेत्रबाट देश विकास एवम् यहाँका सकारात्मक एवम् विकाससम्बन्धी विषयमा यो ऊ पार्टी नभनी आफूहरु अघि बढ्न इच्छुक रहेको उनीहरुले बताए ।

महोत्सवको अर्काे सेसन रह्यो, पावरिङ सस्टेनेब्ली । यसमा गफिए, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र प्रियन्था विजयातुंगा र रुपक डी शर्मा । उनीहरुले दक्षिण एसियाली मुलुकमा ऊर्जाको अवस्थाबारे मात्र चर्चा गरेनन्, सँगै नेपालमा यसको सम्भावना र वस्तुस्थितिबारे पनि चर्चा गरे । अपार सम्भावना भएको नेपालमा ऊर्जा क्षेत्रमा व्यापक परिवर्तन गर्न सकिने उनीहरुले बताए । नेपालमा उत्पादित बिजुलीको विश्वबजारका बारेमा पनि यो कार्यक्रममा वक्ताहरुले कुरा उठाए । साथै घिसिङले नेपालमा बिजुली उत्पादन बढाउने र औद्योगिक विकासमार्फत त्यो बिजुलीलाई यहीँ खपत गर्न सके नेपालको आर्थिक विकासमा त्यो महत्वपूर्ण हुने धारणा राखे ।

यही समयमा ट्रान्सलेसिङ साउथ एसिया विषयमा अन्तर्संवाद भयो । यसमा अरुणभ सिन्हा, रिफात मुनिम, कर्मेन विक्रमागामागे र अमिशराज मुल्मीले छलफल गरे । उनीहरुले दक्षिण एसियामा अनुवाद साहित्यको अवस्था र यसको प्रभाव, वस्तुस्थितिबारे अन्तर्संवाद गरेका थिए ।

अर्काे सेसन थियो, मुर्झाएको निबन्ध । रोशन शेरचन, गीता त्रिपाठी, रमेश सायन र विमल आचार्यबीच चलेको छलफलमा पछिल्लो समय नेपाली निबन्धको अवस्थाबारेको प्रस्तुति रह्यो । अन्य विधाको तुलनामा निबन्धको बजार नबढेको विषयमा पनि उनीहरुले अन्तरसंवाद गरे । यो सेसनमा के नेपाली निबन्ध मुझाएकै हो त भन्ने विषयमा केन्द्रित रहेर संवाद चल्यो । यसमा वक्ताहरुले नेपाली निबन्ध मुर्झाएको नभई विविध विषयमा पुगेको बताए । साथै उनीहरुले शंकर लामिछाने, लक्ष्मीप्रसाद देवकोटाले जसरी निबन्ध भने आउन नसकेकोमा चिन्ता गरे ।

यही समयमा कथाका अन्तर्कथा शीर्षक सेसन पनि चल्यो । सञ्जीव उप्रेती, मुना चौधरी र छुदेन काविमोसँग संवाद गरे, गुरुङ सुशान्तले । यसमा वक्ताहरुले कथा लेखन, पात्रको प्रस्तुति, घटनाक्रम आदिबारे चर्चापरिचर्चा गरे । साथै कथाका अन्तर्वस्तुबारे पनि उनीहरुले छलफल गरे । साथै दार्जिलिङ, कालेबुङ आदि भारतका नेपाली भाषी क्षेत्रमा नेपाली साहित्यको अवस्थाबारे पनि चर्चा परिचर्चा भयो ।

महोत्सवमा अर्काे सेसन रह्यो, नेपाली समाजको वर्गविन्यास । यो सेसनमा विश्लेषक आहुतिले प्रवचन दिए । यसमा नेपालमा भइरहेको वर्गविन्यासको अवस्थाबारे उनले विषद् व्याख्या विश्लेषण गरे । साथै यसका सकारात्मक एवम् नकारात्मक प्रभावबारे पनि उनले टिप्पणी गरे । जंगबहादुर राणाले बसालेको समाज अहिले पनि छ । र त्यो कुनै तयारी नगरी आएको नभई आफैं भए जस्तो भएको उनले बताए । जस्तो, पोखराकै उदाहरण दिँदै उनले यहाँबाट लाहुर जाने व्यक्तिहरुले यहाँका संरचना निर्माण गरेको उनको भनाइ थियो ।

हामीले बाँच्न चाहेको नेपाल शीर्षक सेसन महोत्सवको आकर्षणका रुपमा रह्यो । यसमा सहभागी थिए, शृंखला खतिवडा, सुम्निमा उदास, रेसु अर्याल ढुंगाना र गनेस पौडेलले छलफल गरे । छलफलमा उनीहरुले नयाँ पुस्ताले कस्तो नेपालको अपेक्षा गरेको छ भन्ने विषयमा आआफ्ना धारणा राखे । कतिपय सामाजिक अव्यवस्था एवम् रुढ मान्यताका कारण अहिलेको युवा पुस्ता उन्मुक्त हुन नसकेकोमा उनीहरुको गुनासो रह्यो । साथै बलात्कार जस्ता घटनामा राज्यले प्रभावकारी कदम नचालेको र दोषीहरुले उन्मुक्ति पाएको उनीहरुको भनाइ थियो । साथै सबैभन्दा पहिले महिनावारी आदि विषयमा समाजमा सचेतना जगाउनुपर्ने र शिक्षाको गुणस्तर सुधारी सबै नेपालीलाई सक्षम बनाउनुपर्नेमा उनीहरुले जोड दिए । यति हुँदाहुँदै पनि दक्षिण एसियाली मुलुकको तुलनामा महिलाको अवस्था एवम् सशक्तीकरणका क्षेत्रमा नेपालले बिस्तारै सकारात्मक÷प्रभावकारी काम गर्न सकेको उनीहरुले बताए । समाजमा महिला र पुरुष अर्थात् उनीहरुको अधिकार एवम् समानता एकै किसिमको हुनुपर्छ र विभेदको आभास पनि आउनुहुँदैन, तब मात्र सुसभ्य, सुसंस्कृत समाज निर्माण हुन्छ भन्ने उनीहरुको भनाइ थियो ।

यही समयमा अली मियाँ कक्षमा भवसागर घिमिरेको हजुरबाको बगैंचा र हेमलता राईको पुस्तक चंगा चैट विमोचन भयो । साथै किन हुर्किनुपर्छ बालसाहित्य शीर्षकमा संवाद पनि भयो । यसमा सहभागी थिए, शाश्वत पराजुली, हेमलता राई र भवसागर घिमिरे । बालबालिकाको बौद्धिक एवम् मानसिक विकासका लागि बालसाहित्यको उल्लेख्य भूमिका रहेको उनीहरुले बताए । साथै उनीहरुलाई खेल्दै सिक्दै भन्ने वातावरण बनाएर लैजान सके त्यसको प्रभाव राम्रो हुनेमा उनीहरुले जोड दिए ।

महोत्सवको अर्काे सेसन थियो, राइटिङ इन द एज अफ पपुलिज्म । यसमा जेरेमी थम्बिङ, हरीश नाम्बियर, जमिल जन कोचाई र अनाघा नीलकन्टनबीच अन्तरसंवाद चल्यो । लोकप्रिय हुने युगमा लेखनको अवस्थाबारे उनले छलफल गरे । जस्तो कि, भारतमा नरेन्द्र मोदी र बेलायतमा बे्रक्जिट आदि लोकरिझ्याइँमा लाग्दा लेखकको मनोबल कसरी खस्किएको छ भन्ने विषयमा संवाद भयो ।

यही समयमा चल्यो, आर्टिफिसियल इन्टेलिजेन्स र कलाको नयाँ परिभाषा । यो सेसनमा विशेष खनाल, विनोद भट्टराई, सुरेश मानन्धर र निरञ्जन श्रेष्ठबीच अन्तर्संवाद चल्यो । पछिल्लो समय नेपाललगायत मुलुकमा फस्टाइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को अवस्था र प्रभावबारे उनीहरुले चर्चापरिचर्चा गरे । आर्टिफिसियल इन्टेलिजेन्सले निर्माण गरेको संरचनाबारे उनीहरुले पावरपोइन्ट प्रेजेन्टेसनसमेत गरेका थिए । त्यसमा अहिले एआईका अन्य प्रगतिबारे पनि चर्चा भयो । यसले तीव्र गतिमा आफ्ना काम गरेको उनीहरुले बताए । तर एआईका कारण मानवीय जनशक्ति अर्थात् बौद्धिक जगत्लाई त्यति प्रभाव, असर नपार्ने उनीहरुको भनाइ थियो ।

महोत्सवको अन्तिम सेसन थियो, नेपाली बजारको विश्वव्यापीकरण । यो सेसनमा उद्योगी एवम् अर्बपति विनोद चौधरीलाई संवादमा ल्याए, प्रतीक प्रधानले । यो सेसनमा चौधरीले नेपाली ब्रान्ड एवम् बजारलाई विश्वव्यापीकरण गर्दाको अप्ठ्यारा सप्ठ्यारा अवस्थाबारे चर्चा गरे । साथै आफूले सिजी ब्रान्डको विस्तारका क्रममा झेल्नुपरेका बाधा व्यवधान आदिबारे पनि उद्योगी चौधरीले धारणा राखे ।

Citizen Trade Link
Nova computer
टिप्पणिहरु
Loading...