आइटिएफ सर्किट ४ टेनिस प्रतियोगितामा नेपाल हावी

राप्रपा नेपालका अध्यक्ष थापा रिटायर्ड हुँदा उपाधिबाट चुके

सन्देश श्रेष्ठ
पोखरा, १७ असोज

पोखरामा आयोजना भएको आइटिएफ सर्किट ४ टेनिस प्रतियोगितामा नेपालका खेलाडीहरु हावी भएका छन् । कास्की जिल्ला टेनि संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सम्पन्न प्रतियोगितामा अधिकांश विधामा नेपालका खेलाडीहरु च्याम्पीयन बनेका हुन् ।

प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथीको एकलतर्फको उपाधि नेपालका कमल भण्डारीले जितेका छन् । डिफेन्डिङ च्याम्पीयन उनले भारतका दीलिप मोहन्तीलाई ६–४ र रिटायर्डहर्टमा पराजित गरे । अघिल्लो वर्ष भएको आइटिएफ सर्किट ५ को फाइनलमा पनि आमनेसामने हुँदा कमलले नै बाजी मारेका थिए ।

३५ वर्ष माथीको डबल्सतर्फ भने दीलिप मोहन्ती र अविनाश कुँवरको जोडी च्याम्पीयन बन्यो । मोहन्ती कुँवरको जोडीले भारतका स्वर्णद्विप सिंह र पोखराका धरमबहादुर लामिछानेको जोडीलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् ।

४५ वर्ष माथीको सिंगल्सतर्फ भारतका नारायण मूर्ति कोठियाला भेङ्कटा च्याम्पीयन बने । उनले पोखराका अमृतबहादुर कार्कीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । सोहि तौल समूहको डबल्सतर्फ विमलकुमार गुरुङ र मनोज शमशेर जबराको जोडी च्याम्पीयन बन्यो । गुरुङ र जबराको जोडीले भारतको पवन जैन र नारायण मूर्ति कोठियाला भेङ्कटाको जोडीलाई ७–५ र ७–५ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

५५ वर्ष माथीको सिंगल्सतर्फ कृष्णराज घले च्याम्पीयन बने । उनले पूर्व उपप्रधानमन्त्री कमल थापालाई पराजित गर्दै उपाधि जितेका हुन् । पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष थापाले पहिलो सेट ६–४ ले गुमाए भने दोश्रो सेट ४–० भएको अवस्थामा ढाडमा समस्या आएर खेल त्यागेपछि उनी रिटायर्ड हट हुँदै घलेलाई उपाधि सुम्पिन बाध्य भए ।

५५ वर्ष माथिको डबल्सतर्फ भारतका पवन जैन र नेपालका मनोज शमशेर राणा च्याम्पीयन बने । जैन र राणाको जोडीले भारतका अरुण अग्रवाल र भारतकै मुर्थाती सुरेशको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

प्रतियोगितामा सिंगल्सतर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई १५ हजार र सेमी फाइनलिष्टहरुलाई ५÷५ हजारसहित ट्रफी प्रदान गरियो भने डबल्सतर्फ प्रथम हुनेलाई २० हजार र द्वितीय हुनेलाई १० हजारसहित ट्रफी प्रदान गरियो ।

त्यस्तै, प्रतियोगिताका फाइनलिष्टले ३० प्वाइन्ट, सेमी फाइनलिष्टले २० प्वाइन्ट र क्वार्टर फाइनलिष्टले १०÷१० प्वाइन्ट प्राप्त गरेका छन् । खेलाडीले पाएको प्वाइन्टको आधारमा वल्र्ड ¥याङ्किङमा गणना हुने जनाइएको छ ।

प्रतियोगिताका बिजेताहरुलाई प्रदेश सांसद एवम् नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइराला ‘रुपक’, कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामा, पूर्व अध्यक्ष बिनोद कायस्थ, सचिव नवीन चालिसे लगायतले पुरस्कार वितरण गरेका थिए ।

You might also like

Comments are closed.