आगलागी भएको शुभ युनिकले पायो आइएमई जनरल इन्स्योरेन्सबाट दावी भुक्तानी

आर्थिक आवाज
पोखरा, ४ असोज । पोखराको न्युरोडस्थित मिनि मार्केट कम्प्लेक्समा गत साउन २८ गते विद्युत सर्ट भइ आगलागी भएको शुभ युनिक होम डेकोरेसनले बिमा बापतको रकम दावी भुक्तानी पाएको छ । शुभ युनिक होम डेकोरेसनले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडमा बिमा गरेको थियो ।

पसलले बिमा बापत इन्स्योरेन्स कम्पनीलाई वार्षिक ५ हजार ७ सय ७५ रुपैयाँ प्रिमियम भुक्तानी गर्दै आइरहेको थियो । बिमाको क्षतिपूर्ति बापत इन्स्योरेन्स कम्पनीबाट पसलले ३१ लाख ५० हजार रुपैयाँ भुक्तानी प्राप्त गरेको छ ।

शनिबार पोखरा उद्योग वाणिज्य संघको साधारणसभाका अवसरमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले शुभ युनिक होम डेकोरेसनका सञ्चालक लिलाधर ढुंगानालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री युवराज खतिवडा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुप अफ कम्पनिजका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतको उपस्थिति थियो ।

कम्पनीले पसललाई समयमा नै क्षतिपूर्ति उपलब्ध गराउन सफल भएको आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए । उक्त बजारमा ३० वटा पसल र २ वटा कार्यालयमा आगलागी भएको थियो । यद्यपि, शुभ युनिक होम डेकोरेसनले मात्रै आफ्नो पसलको बिमा गरेको बुझिएको छ । बिमा नगर्दा क्षति भएका अन्य पसल तथा कार्यालयले क्षतिपूर्ति पाउन सकेका छैनन् ।

‘यो घटनाबाट धेरैले पाठ सिक्नुपर्छ,’ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, ‘थोरै प्रिमियम बुझाएर बिमा गराउँदा करोडौं रुपैैयाँको जोखिम बहन हुने हुँदा व्यवसायीहरु सतर्क बन्न आवश्यक छ ।’ कम्पनीले देशभर सातैवटा प्रदेशमा रहेका शाखाहरु मार्फत स्तरीय सेवा प्रदान गर्न सफल भएको नायव महाप्रवन्धकक शरण रेग्मीले बताए । ‘हामी हाम्रा ग्राहकलाई छिटो छरितो सेवा प्रदान गर्छौं,’ उनले भने ।

You might also like

Comments are closed.