आज पोखरामा लायन्स नाइट

आर्थिक आवाज

पोखरा । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको आयोजनामा लायन्स नाइट कार्यक्रम हुने भएको छ । असोज २४ गते घटस्थापनाको साँझ (आज) कार्यक्रम हुने क्लबका अध्यक्ष नीरन केसीले जानकारी दिए । यस पटकको लायन्स नाइट चौथो संस्करण हो ।

मनोरञ्जनसँगै अन्य गतिविधिसमेत कार्यक्रममा समावेश गरिएको केसीले जानकारी दिए । लायन्स वर्ष २०१८÷१९ का डिष्ट्रिक्ट गभर्नर अशोककमार श्रेष्ठलाई सम्मान तथा स्वागत गरिनेछ । गत वर्षका गभर्नर धनराज आचार्यलाई सफल कार्यकालका लागि बधाई ज्ञापनसहित सम्मान गरिने केसीले जानकारी दिए ।

लायन्स क्लबलाई ब्राण्डिङ गर्नुका साथै फण्ड राइजिङका लागि कार्यक्रम आयोजना गरिएको प्रथम उपाध्यक्ष विनय थापाले बताए । कार्यक्रममा कलाकार आस्था राउत र अराइज व्याण्डको सांगीतिक प्रस्तुति रहनेछ । राउतले आफ्ना १ दर्जन गीत कार्यक्रममा प्रस्तुत गर्नेछिन् । चाउथेस्थित रोयल पाल्म रिसोर्टमा हुने कार्यक्रमको तयारीलाई तिब्र बनाइएको सचिव निरज पन्तले जानकारी दिए । कार्यक्रम सफल पार्न क्लबका अध्यक्ष नीरन केसीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । इभेन्ट संयोजकमा वीरेन्द्र कुवँर, व्यानर संयोजकमा विनय थापा र उत्तम गुरुङ, प्रचार संयोजकमा सञ्जय मल्ल, जलपान संयोजकमा एकराज गिरी, निमन्त्रणा व्यवस्थापनमा निरज पन्त, अर्थ संयोजकमा अश्विन कार्की छन् ।

स्टेज व्यवस्थापनमा विष्णुबाबु खड्का र दमनजंग राणा, मायाको चिनो व्यवस्थापनमा सुदिप पौडेल, आतिथ्य सत्कारमा प्रदिप कुँवर, यातायात व्यवस्थापनमा अर्जुन केसी, प्रोजेक्सन व्यवस्थापनमा किसन गिरी र साउण्ड लाइट व्यवस्थापनमा सुदिप गुरुङ संयोजक छन् ।

कार्यक्रम सफल पार्न करिब ६ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ । १० लाख रुपैयाँ संकलन गरी ४ लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको अध्यक्ष केसीले पत्रकार सम्मेलनमा जानकारी दिए । सन् २०१५ मा स्थापना भएको क्लबले स्थापना वर्षदेखि नै लायन्स नाइट कार्यक्रम गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.