आज ६१औं राष्ट्रिय सहकारी दिवस, पोखरामा सहकारी ¥याली र सभा आयोजना, साँझ दीप प्रज्ज्वलन गरिने

पोखरा, २० चैत । आज ६१औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ । सहकारी दिवसका अवसरमा कास्कीमा विविध कार्यक्रम आयोजना भएका छन् । जिल्ला सहकारी संघ लि. कास्कीको नेतृत्वमा कास्कीका सबै सहकारी संघसंस्था तथा सरोकारवालाहरुको सहभागितामा विविध कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष रविरमण तिवारीले जानकारी दिए ।

बिगतका वर्षहरुमा जस्तै चैत २० गते मंगलबार ६१औं राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । मंगलबार सहकारी ¥याली तथा सभाको आयोजना गरिएको उनले बताए । मंगलबार बिहान १०ः३० बजे मानवअधिकार चोकबाट ¥याली आयोजना गरी सभागृह हल पुगेर सहकारी सभामा परिणत हुने प्रचारप्रसार संयोजक धर्मराज अर्यालले जानकारी दिए ।

यस अगाडि सोमबार प्रत्येक सहकारी संस्था वरपर तथा सार्वजनिक स्थलमा वृहद सरसफाइ कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष तिवारीले बताए । ‘लेखनाथ तथा पोखराका विभिन्न टोलटोल, सार्वजनिक भवन, मन्दिर परिसर तथा गाउँपालिकामा समेत सरसफाई कार्यक्रम गरिएको छ,’ उनले भने ।

‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ नाराका साथ यस वर्ष सहकारी दिवस मनाइएको छ । सहकारी दिवस मनाउन तिवारीको संयोजकत्वमा ७२१ सदस्यीय मूल आयोजक समितिसहित विभिन्न उपसमिति गठन गरिएको थियो । ‘सामाजिक उत्तरदायित्व बहन गर्दै विविध कार्यक्रम गरी सहकारी दिवस मनाएका छौं,’ उनले भने, ‘यो अभियानमा कास्कीका सम्पूर्ण सहकारीहरुको सक्रिय सहभागिता छ ।’

सहकारी सम्वन्धी ऐन कानुनका बारेमा जानकारी गराउन र सचेतना फैल्याउन २० गते सहकारी सभाको आयोजना गरिएको तिवारीले बताए । ‘सहकारी परिवर्तनको शक्ति हो र यसलाई तीन खम्बे अर्थनीतिको बलियो खम्वा बनाउन हामी लागिरहेका छौं,’ उनले भने । सहकारीमैत्री नियम तथा कानुन बनाउनुपर्ने तर्फ सरकारले ध्यान दिनुपर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)का सञ्चालक तथा प्रदेश संयोजक भीम गुरुङले बताए । सहकारीकर्मीसँग छलफल गरेर मात्र नीति नियम बनाउनुपर्ने उनको भनाइ छ । यस अगाडि १६ गते पत्रकार सम्मेलन, १७ गते प्रचारप्रसार कार्यक्रम तथा १८ गते जिल्ला सहकारी संघको कार्यालयमा रक्तदान कार्यक्रम भएका थिए ।

रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको थियो । जिल्ला सहकारी संघ कास्कीको आयोजना र रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य एवं राष्ट्रिय सहकारी महासंघका संचालक प्रभा कोइरालाले सहकारी मार्फत धेरै कामहरु गर्न सकिने भएकोले सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताइन् । सहकारी ऐन आइसकेको र अब केही कानुन बनाउनुपर्ने भएकाले सहकारीमैत्री कानुन बनाउन हर प्रकारले लाग्ने बताइन् ।

सहकारीकर्मीहरु सधैं ससाना कुरामा अल्झने र एक अर्कालाई दोष देखाएर पन्छिने गरेको प्रसंग कोट्याउदै उनले भनिन्, ‘अब दोष देखाएर हैन काम देखाएर अगाडि बढ्नु पर्ने बेला आएको छ ।’ कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष बलराम गौतम, महिला उपाध्यक्ष एवं रक्तदान कार्यक्रम संयोजक साबित्री कोइराला, संगिता कोइराला तिमिल्सिना लगायतले बोलेका थिए । कार्यक्रम संचालन छबि लामिछानेले गरेका थिए ।

You might also like

Comments are closed.