आठौं पोखरा महोत्सव सुरु, युनाइटेड क्लबको काम प्रशंसनीयः अधिकारी

पोखरा, २७ पुस । पोखराको अमरसिंह चौरमा आठौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको कास्की क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य खगराज अधिकारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै अधिकारीले युनाइटेड क्लबको सामाजिक कामलाई सम्पूर्ण संघ सस्थाले अवलम्बन गर्नुपर्ने बताए । अधिकारीले युनाइटेड क्लबले महोत्सवकै आयोजना गरी पोखरामा अन्तराष्ट्रिय स्तरको चिडियाखाना निर्माणमा पहल कदमी थालेर आठौं महोत्सवसम्म आइपुग्दा बन्यजन्तु उद्धार केन्द्र निर्माण गर्न सफल भएकोमा स्थानीय स्तरमा भएको कामको प्रशंसा गर्दैै आफ्नो तर्फबाट पनि पोखरामा निर्माण हुने चिडियाखाना निर्माणका लागी काम गर्ने प्रतिवद्धता वयक्त गरे ।

सो अवसरमा वोल्दै प्रकृति संरक्षण कोषका पूर्व सदस्य सचिव जुद्ध बहादुर गुरुङले पोखरा आफैमा पर्यटकीय गन्तब्य रहेको सन्दर्भमा युनाइटेड क्लबले पोखरामा चिडियाखाना निर्माणमा देखाएको सक्रियतालाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । पोखरा लेखनाथको पचभैयामा निर्माणधिन अवस्थामा रहेको चिडियाखाना नेपालकै एकमात्र खुल्ला चिडियाखाना हुने भएकाले सरकारले पनि यसबारेमा ध्यान दिन जरुरी रहेको बताए । पोखरा महोत्सवका मुख्य प्रायोजक नेपाल शालिमार सिमेन्ट गण्डकी धौलागिरीका प्रमुख दिनेश कुमार चौधरीले पोखरा महोत्सवसंगको सहकार्यले आफ्नो कम्पनीले पनि सामाजिक काम र त्यो पनि नेपाललाई विश्वमा चिनाउने चिडियाखाना निर्माण जस्तो काममा सहभागी हुन पाउदा निकै खुसी लागेको बताए । आगामी दिनमा पनि आफ्नो कम्पनीको सहयोग निरन्तरता हुने चौधरीको भनाइ रहेको थियो ।

अमरसिंह मावि व्यवस्थापन समितिका अध्यक्ष तेजश्वी बरालले अमरसिंहचोकमा महोत्सवको आयोजना गरी युनाइटेड क्लबले आफ्ना सामाजिक कामबाट विश्वभर नाम फिजाउन सफल भएको र आगामी दिनमा पनि युनाइटेड क्लब संग सहकार्य गरेर सामाजिक काममा सहकार्य गरेर अगाडि बढ्ने बताए । महोत्सवको औचित्यमाथि प्रकाश पार्दै क्लबका संस्थापक अध्यक्ष तथा पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेलले क्लबले स्थापना कालदेखि सामाजिक काममा अगाडि बढिरहेको सन्दर्भमा आठौं पोखरा महोत्सवसम्म आइपुग्दा पोखरा लेखनाथको पचभैयामा निर्माणधिन चिडियाखाना भित्र बन्यजन्तु उद्धार केन्द्र निर्माण भइसकेको र त्यहाँ विभिन्न ठाउँबाट उद्धार गरी ल्याइएका बन्यजन्तुहरु रहेकाले एकपटक पचभैया गएर युनाइटेड क्लवले गरेको क्रियाकलापलाई प्रत्यक्ष अवलोकन गरिदिन सवैलाई आग्रह गरे ।

क्लबका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमाम कास्की क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य दीपक कोइराला, कास्की क्षेत्र नम्बर १ ख का प्रदेश सभा सदस्य मन बहादुर गुरुङ, कास्की क्षेत्र नम्बर दुई ख का प्रदेश सभा सदस्य बिन्दु थापा, कास्कीका जिल्ला वन अधिकृत केदार बराल, जिल्ला समन्वय समिति कास्कीका सभापति बयन बहादुर क्षेत्री, संघ सस्थाका तर्फबाट पवित्रादेवी गुरुङ, लोक दोहोरी गायक प्रजापति पराजुली लगायतले मन्तब्य राखेका थिए । क्लबका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले गरेका थिए ।

यसैबीच महोत्सव पूर्व पोखरा रंगशालाबाट विभिन्न जनजाति, आमा समूह, टोल बिकास संस्था, महिला समूह, धार्मिक तथा सामाजिक संघ सस्थाहरुको आआफ्नो सांस्कृतिक झल्कने ¥याली तथा झांकी महोत्सव स्थल अमरसिंह चौरमा प्रवेश गरेको थियो । झांकी तथा ¥यालीमा सहभागी ९५ वटा संघ सस्थाबीच प्रतिस्पर्धा समेत सम्पन्न भएको थियो । उक्त प्रतिस्पर्धाबाट झांकी तर्फ झाँकी तर्फ डढुवा दर्छा लम्जुङ समाज प्रथम, द्वितीय राम बजार मगर समाज, तेश्रो ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय र शान्त्वना तमू समाज र ¥याली तर्फ लक्ष्मीटोल आमा समूह प्रथम, जनप्रिय टोल आमा समूह द्वितीय, स्वर्णीम टोल आमा समूह तेश्रो र भद्रकाली दिदीबहिनी समूहले शान्तवना स्थान हासिल गरेका महोत्सवका झांकी तथा ¥याली मुल्यांकन उपसमिति संयोजक फत्त बहादुर गुरुङले जानकारी दिए ।

महोत्सवको पहिलो दिन सांस्कृतिक कार्यक्रमतर्फ लोक तथा दोहोरी गायक प्रजापति पराजुली, मोहन गुरुङ, शिबहरी ढुङ्गाना लगायतले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । महोत्सवको दोश्रो दिन शुक्रबार लोकदोहोरी तर्फ राजु गुरुङ, प्रजापति पराजुली, शिवहरी ढंगाना लगायतको प्रस्तुती रहने छभने लाइभ ब्याण्डतर्फ प्रोभर्स र कपिल पुन वान मेन ब्याण्डको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उपसमिति संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.