आधुनिक, ग्रामीण र लघुवित्त बैंकिङ सेवा एकैसाथ : क्षेत्रीय प्रवन्धक ढकाल (अन्तर्वार्ता)

बाबुराम ढकाल
क्षेत्रीय प्रवन्धक
मुक्तिनाथ विकास बैंक, पोखरा

‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ’ भन्ने मूल मन्त्रका साथ बैकिङ सेवा प्रदान गरिरहेको राष्ट्रियस्तरको मुक्तिनाथ विकास बैंक लघुवित्त सेवामा अग्रणी मानिन्छ । उद्गम थलो स्याङ्जाबाट पोखरा हुँदै राजधानी काठमाडौंमा प्रधान कार्यालय स्थापना गरी मुक्तिनाथले देशभर वित्तीय सेवा प्रदान गरिरहेको छ । यसैक्रममा बैंकको वित्तीय अवस्था, लगानीका क्षेत्र, लघुवित्त सेवा लगायत विविध विषयमा बैंकका क्षेत्रीय प्रवन्धक बाबुराम ढकालसँग आर्थिक आवाजले गरेको कुराकानीको सारः

मुक्तिनाथ विकास बैंकको वित्तीय अवस्था कस्तो छ ?
मुक्तिनाथ विकास बैंकको वित्तीय अवस्था निकै राम्रो छ । बैंकले आर्थिक वर्ष २०७४÷७५ को पुस मसान्तसम्ममा निक्षेष संकलन २१ अर्ब ७३ करोड रुपैयाँ, कर्जा लगानी १९ अर्ब ३३ करोड रुपैयाँ, खुद नाफा २६ करोड ४३ लाख रुपैयाँ र निष्कृय कर्जाको अनुपात शून्य दशमलव एक प्रतिशत छ । हालसम्म बैंकले ७३ वटा शाखाबाट बैकिङ सेवा प्रदान गरिरहेको छ । आर्थिक वर्ष २०७४÷७५ को अन्त्यसम्ममा शाखा बिस्तार गरी सय वटा पु¥याउने योजनामा छौं । बैंकबाट ९० हजार जना ग्राहकलाई कर्जा प्रवाह गरेका छौं भने ३ लाख ४३ हजार जना निक्षेपकर्ता छन् । हालसम्म बैंकमा ८ सय भन्दा बढी कर्मचारीले रोजगारी पाएको अवस्था छ ।

क्षेत्रीय स्तरबाट राष्ट्रियस्तरमा स्तरउन्नति भएपछि बैंकले गरेका प्रगतिहरु के–कस्ता छन् ?
राष्ट्रियस्तरमा स्तरउन्नति भए पश्चात बैंकको कार्यक्षेत्र बृद्धि भएको छ, पहिला १० जिल्लामा मात्र सीमित हाम्रो कार्यक्षेत्र देशभर भएको छ । बैंकको केन्द्र्रीय कार्यालय काठमाडौंमा स्थानान्तरण भएको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय निर्माणका लागी जग्गा पनि खरिद गरेका छौं । बैंकलाई आफ्नो उपस्थिति देशको पूर्वदेखि पश्चिमसम्म पु¥याउन सहज बाटो खुलेको छ । हामी त्यही अनुसार शाखा विस्तार अभियानमा छौं ।

पोखरा क्षेत्र तथा प्रदेश ४ मा बैंकको अवस्था कस्तो छ ?
स्थापनाकालदेखि नै बैंकले पोखरा क्षेत्र तथा प्रदेश ४ मा सक्रिय रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । यो हाम्रो उद्गम स्थल पनि हो । त्यसैले पनि हाम्रो फोकस यहाँ बढी छ । शुरुको ३ जिल्ला कार्य क्षेत्र भएको स्याङ्जा, कास्की र तनहुँको साविकका लगभग सबै गाउँपालिकामा हामी पुगेका छौं । यस क्षेत्रका बाँकी जिल्लामा पनि हाम्रो बलियो उपस्थिति छ । यस क्षेत्रमा हामी शहरी क्षेत्रका साथै ग्रामीण भेगमा समेत आफ्नो लक्षित सेवामार्फत जनताको मन जित्न सफल भएका छौं । आधुनिक तथा लघुवित्त सेवामार्फत बैंकको कूल व्यवासायको ठूलो अंश यस क्षेत्रले नै ओगटेको छ । पोखरा क्षेत्रका जनतालाई सेवा सुविधाका लागि बैंकले पोखरा महानगरपालिकाको कार्यालयमा समेत आफ्नो काउन्टर संचालनमा ल्याएको छ । बैंकले पोखरा क्षेत्रमा स्व प्रायोजनको भवन निर्माणका लागि जग्गा खोजी प्रक्रिया अघि बढाएको पनि जानकारी गराउँछु ।

मुक्तिनाथ विकास बैंक लुघवित्तमा अग्रणी मानिन्छ । लघुवित्त सेवा कत्तिको प्रभावकारी बनेको छ ?
बैंकको मूल मन्त्र ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ’लाई आत्मासाथ गर्दै बैंकले स्थापना कालदेखि नै गाम्रीण क्षेत्रका पीछडिएका तथा निम्न आयस्तर भएका जनताको आर्थिक तथा सामाजिक अवस्था सुदृढ गर्न विभिन्न शीर्षकमा लघुकर्जा घरदैलोमा नै पुगी प्रदान गर्दै आइरहेका छौं । हाल यस सेवालाई बैंकले १ लाख भन्दा बढी सदस्य समक्ष पु¥याइसकेको छ । जुन आफैमा एउटा सेवा प्रभावकारिताको उदाहरण पनि हो । बैंकले सदस्यहरुलाई कर्जा लगानी मात्र नगरी समय समयमा शीपमूलक तथा व्यवसायलाई टेवा पुग्ने खालका तालिमहरु समेत दिइरहेको छ । मुक्तिनाथ विकास बैंकको लघुवित्त सेवा प्रभावकारी छ । यसले बैंक र सदस्य दुवैलाई फाइदा पु¥याएको छ । गाउँमा थोरै पैसाका लागि साहुको चर्को ब्याजदर तिर्नुपर्ने तथा भनेको बेला कर्जा पनि नपाउने अवस्थाको अन्त गर्दै जनताको आर्थिक सामाजिक स्तर उकास्न यो सेवा प्रभावकारी भएको हामीले अनुभूति गरेका छौं । लघुवित्त तर्फको कर्जामा निष्कृय कर्जा न्यून रहनु र सदस्यहरुको जीवनस्तरमा आएको सुधारले यो काम प्रति हामी अझै उत्साही छौं ।

अन्य विकास बैंक र मुक्तिनाथ विकास बैंकमा खास के फरक छ ?
‘जनता बैंकमा होइन बैंक जनतामा जानुपदर्छ’ भन्ने नाराले नै यो बैंक अन्य बैंक भन्दा पृथक भएको प्रमाणित गर्छ । हाम्रो नारा जे छ त्यही अनुसारको काम पनि गरिरहेका छांै । हामी लघुवित्त सेवाको लागि घरघरमा पुगेका छौं । हामीले अरु बैंकको भन्दा फरक मोडलका रुपमा आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त बैंकिङ सेवा एकैसाथ प्रदान गर्दै आइरहेको छौं । हाम्रो देशको भौंगोलिक अवस्थालाई मध्यनजर गर्दैै बैंकले ठाउँ अनुसारका सेवा प्रदान गर्न यी मोडलहरु अपनाएको छ । ग्रामीण इलाकालाई प्राथमिकतामा राखी शाखा बिस्तार गरेका छौं । वित्तीय साक्षरतालाई अभियान कै रुपमा संचालन गरिरहेका छौं । काठमाडौंमा सञ्चालित वाग्मती सफाइ, पोखरामा सञ्चालित पोखरा उपत्यका बृहत सफाई अभियान जस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा हाम्रो निरन्तर सक्रिय सहभागिता छ । यिनै कामहरुले नै मुक्तिनाथ विकास बैंकलाई अरु बैंक भन्दा फरक बनाएको छ ।

लगानीका लागि बैंकले कुनकुन क्षेत्रलाई प्राथमिकतामा राखेको छ ?
मुख्य गरी बैंकले लघुवित्त कार्यक्रम मार्फत स–साना कर्जाका साथै कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला उद्योग तथा सार्वजनिक यातायातलाई आफ्नो कर्जा परिचालनमा उच्च प्रथामिकतामा राखेको छ । बैंकले स्याङ्जा जिल्लाका लघुउर्जा परियोजनाका लागि बिजुली उत्पादनका लागि समेत कर्जा प्रवाह गरेको उदाहरण हामीसँग छ ।

अनुत्पादक क्षेत्रमा बैंकिङ लगानी बढिरहेको गुनासो छ । के भन्नुहुन्छ ?
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा पुँजी बृद्घि गर्नुपरेकाले सोही अनुपातमा व्यवसाय बिस्तार गर्दा अनुत्पादक क्षेत्रमा लगानी बढेको हो कि भन्ने गुनासो जनतामा छ । यद्यपि, यस बैंकले निरन्तर रुपमा आफ्नो कूल लगानीको अधिकांश हिस्सा उत्पादनमूलक क्षेत्रमा नै प्रवाह गरेको छ । बैंकले कूल कर्जाको २६ प्रतिशत लघुवित्त क्षेत्र अन्तर्गत रहेकाले पनि माथिको तथ्यलाई पुष्टि गर्दछ । राष्ट्र बैंकले नै कुनैपनि क्षेत्रमा एउटा निश्चित प्रतिशत भन्दा बढी कर्जा लगानी गर्न नपाइने व्यवस्था गरेको हुनाले अन्य बैंक तथा वित्तीय संस्थाको पनि त्यो खालको अनुत्पादक क्षेत्रमा मात्र लगानी बढाइरहेका छन् भन्ने मलाई लाग्दैन ।

सामाजिक उत्तरदायित्व अन्तर्गत के–कस्ता गतिविधि गर्दै आउनुभएको छ ?
बैंकले पोखरामा सञ्चालित पोखरा उपत्यका बृहत सफाइ अभियानमा शुरुदेखि नै सक्रिय सहभागिता जनाएको छ । हालसम्म उक्त अभियानका करिब सय हप्ताको कार्यक्रम सम्पन्न भइसकेको छ र आउने दिनहरुमा पनि निरन्तर रुपमा हाम्रो सहभागिता रहनेछ । बैंकले केन्द्रीय कार्यालय काठमाडौंमा स्थानान्तरण भएको मितिदेखि नै काठमाडौंमा सञ्चालित बागमती सरसफाइ महाअभियानमा पनि निरन्तर सहभागिता जनाइरहेको छ । २ सय औं हप्तादेखि शुरु गरेको हाम्रो सहभागिता आज २५४ औं हप्तासम्म पनि निरन्तर छ र रहिरहनेछ । बैंकले देशका विभिन्न ठाउँमा भएका सरसफाइ कार्यक्रममा पनि सहभागिता जनाएको छ । समय समयमा रक्तदान कार्यक्रममा संचालन गर्ने, विद्यालय तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने, देशको कुनैपनि भागमा भएको दैवी प्रकोपमा राज्य मार्फत आर्थिक सहयोग गर्ने साथै बैंकका शाखा कार्यलयहरु रहेका स्थानहरु वरिपरी रहेका संघ संस्था तथा मठ मन्दिरहरुमा आवश्यकता अनुसार सहयोग गर्ने कामहरु निरन्तर रुपमा गर्दै आइरहेका छौं । बैंकमा लघुवित्त तर्फका महिला सदस्यहरुलाइ सुत्केरी हुँदा राहत स्वरुप स्याहार खर्च प्रदान गर्नुको साथै सदस्यको मृत्यू भएमा कर्जा मिनाहाको व्यवस्था रहेको तथा सदस्यको श्रीमानको मृत्यू भएमा पनि राहत प्रदान गर्ने व्यवस्था समेत छ ।

बैंकले सञ्चालन गर्दै आएको वित्तीय साक्षरता कार्यक्रमको सराकात्मक प्रभाव कस्तो छ ?
बैंकले वित्तीय साक्षरता कार्यक्रमको १६८औं संस्करण पुरा गरिसकेको छ । यसबाट सर्वसाधरणलाई बैंक भनेको के हो र बैंकले के काम गर्छ, बचत भनेको के हो, बचत किन गर्ने र कसरी बचत गर्न सकिन्छ, कर्जा भनेको के हो, यो किन लिने कि नलिने, फजुल खर्च किन गर्ने हुँदैन, बिमा भनेको के हो, बिमा गरे के हुन्छ जस्ता प्रश्नहरुको उत्तरसहित ज्ञानका कुरा जानकारी गराउने उद्देश्यले यो कार्यक्रम थालनी गरेका हौं । शुरुका ९९ हप्तासम्म हामीले समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरियो भने त्यसपछिका ६९ हप्ता हामीले सामुदायिक विद्यालयमा यस्ता कार्यक्रम गरिसकेका छौं । विद्यालयमा यस्ता कार्यक्रम गरिसकेपछि शिक्षकहरुले यसको प्रभावकारिता राम्रो भएकाले अन्य कक्षाका विद्यार्थीलाई कार्यक्रम गरिदिन अनुरोध गरेका धेरै उदाहरण हामीसँग छन् । हामीले १६८ औं वटा कार्यक्रममार्फत ५५ हजार जनालाई वित्तीय रुपमा साक्षर गराइसकेका छौं । यसलाई हाम्रो वार्षिक क्यालेन्डरमा राखी यसलाई निरन्तरता दिने सोच पनि बनाएका छौं । यसबाट बचत गर्ने बानीको विकास गर्ने, साथै विद्यार्थीलाई आधुनिक बैंकिङका प्रविधिहरु प्रयोगमा सहयोग भएको छ । वित्तीय साक्षरता कार्यक्रमको प्रभावले ‘क्यास लेस बैकिङ’मा समेत सहयोग भएको छ ।

footwear exchange
You might also like

Comments are closed.