आन्दोलित दलितहरुको चेतावनी : ‘अब सिंहदरबार र वालुवाटार जल्छ’

 

पोखरा ।

दलित अभियन्ताहरुले रुकुम घट्नाका दोषीलाई मृत्यूदण्ड दिन माग गरेका छन् । दलित संघसंस्थाहरु विश्वकर्मा समाज नेपाल, मिजार समाज कास्की, परियार सेवा समाज कास्की र नेपाल गन्धर्व समुदाय विकास केन्द्र पोखराको संयुक्त आयोजनामा मंगलबार पोखरामा भएको प्रदर्शन पछि आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले अन्र्तजातिय विवाहका लागि दुलही लिन गएका दुलाहा नवराज विकसहित ५ जनाको हत्या र १ जना वेपत्ता भएको भन्दै सो घट्नाका दोषीलाई मृत्यूदण्ड दिन माग गरेका हुन् । नेपालको कानुनले मृत्यूदण्ड नै दिन नमिल्ने भए जन्मकैद हुनुपर्ने उनीहरुको भनाई छ । साथै उनीहरुले रुकुम घट्ना ढाकछोप गरिए सिंहदरबार जलाउने चेतावनीसमेत दिएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गोविन्द नेपालीले घट्नालाई तोडमरोड गरिए वा ढाकछोप गरिए घट्नाले उग्ररुप लिने चेतावनी दिए । न्यायका लागि सरकारको मुख ताकिरहेका छौं,उनले भने,‘यदि दोषीलाई जन्मकैद वा मृत्यूदण्ड दिइएन भने अब सिंहदरबार जल्छ, वालुवाटार जल्छ, प्रधानमन्त्रीको कुर्सी जल्छ ।’

पूर्व सांसद डिलबहादुर नेपाली (डिवी)ले घट्ना ढाकछोप गर्ने प्रयास पूर्व मन्त्रीदेखि जनप्रतिनिधिसम्मले गरिरहेको भन्दै त्यसबिरुद्ध खबरदारी गर्नुपर्ने बताए । उनले २१ औं शताब्दीमा आएर जातिय विभेद गर्दै बर्बरतापूर्ण हत्या हुनु निन्दनीय भएको बताए । उनले घट्नाको निश्पक्ष छानविन गर्नका लागि दलितको अगुवाईमा छानविन समिति बनाउन माग गरे ।

विश्वकर्मा समाजका केन्द्रीय अध्यक्ष गणेश बराइलीले दोषीमाथि कार्वाही नभएसम्म आन्दोलन जारी रहने बताए ।

मिजार समाज कास्कीका अध्यक्ष उमेश सिकेले घट्ना ढाकछोप गरिए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए ।

परियार सेवा समाज कास्कीका अध्यक्ष किसान परियारले घट्नालाई जातिय विभेद नभएको भनेर मुद्धालाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसबिरुद्ध सबै सचेत हुनुपर्नेमा जोड दिए ।

दलित पत्रकार संघ गण्डकी प्रदेश अध्यक्ष रेम विकले जातिय विभेदका पक्षधरहरुले मुद्धालाई कमजोर बनाउन लकडाउनको बेला हुलहुज्जत गरेको तथा केटीको उमेर नपुगेकोजस्ता कुतर्क गरिरहेको भन्दै यसबिरुद्ध सबै एकजुट भएर लड्नुपर्नेमा जोड दिए ।

कलाकार महेश गोदारले जातिय उत्पीडन र उन्मुक्तिका लागि पार्टीको बफादार सिपाहीबाट माथि उठेर दलित समाजका लागि लड्न अपिल गरे ।

यसअघी पोखराको सिर्जनाचोकबाट शुरु भएको प्रदर्शन रत्नचोकहुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारीमार्फत संघ सरकारलाई दोषीमाथि कार्वाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको विश्वकर्मा समाजका महासचिव लालसिंह घताने विश्वकर्माले जानकारी दिए ।

You might also like

Comments are closed.