आयोजकलाई हराउँदै ब्रिगेड ब्वाइजको बिजयी शुरुवात

सन्देश श्रेष्ठ

पोखरा, १८ माघ । मनकामना केबलकार पोखरा कपमा घरेलु टोली पोखरा ११ लाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लवले बिजयी शुरुवात गरेको छ । पोखरामा जारी प्रतियोगित अन्तर्गत शुक्रबार भएको खेलमा पाहुना टोली ब्रिगेड ब्वाइजले आयोजक पोखरा ११ लाई १─० गोल अन्तरको जित निकालेको हो । शुक्रबारको खेलमा पाहुना टोली ब्रिगेड ब्वाइजका लागि बिदेशी खेलाडी कजिन बुसारीले निर्णायक गोल गरे । उनले खेलको ७२ औं मिनेटमा उत्कृष्ट गोल गरेका हुन् । मनोज राईले प्रहार गरेको फ्रिकिक किपरले पञ्च गरेर फाल्दा डिफेन्डरले क्लियर गर्ने कोशिष गरेपनि बल बतासिएर बुसारीको खुट्टामा परेको थियो । सो बललाई बुसारीले फष्र्ट बार च्याप्दै गोलमा परिणत गरे ।

रक्षापंक्ती बलियो बनाएर काउन्टर अट्याकमार्फत गोल गर्ने रणनीतिमा रहेको दुबै टिमले खासै उत्कृष्ट मुभ बनाउन सकेनन् । यद्वपी अक्कलझुक्कल गोल गर्ने अवसर सृजना गरेपनि सदुपयोग भने गर्न सकेन ।

jutta mela

खेलको ६२ औं मिनेटमा गोल थप्ने अवसर ब्रिगेड ब्वाइजले पाएपनि सदुपयोग गर्न सकेन । ब्रिगेड ब्वाइजका रणदीप पौडेलको क्रसमा पेनाल्टी एरियाबाट जय तामाङको कडा प्रहार बिपक्षी गोल किपर उत्तम गुरुङले सहजै नियन्त्रणमा लिएका थिए ।

खेलको २९ औं मिनेटमा आयोजक पोखरा ११ ले गोल गर्ने अवसर पाएपनि गोलमा परिणत गर्न असफल भयो । फोडे फोफन्नाको पासमा बिनोद गुरुङले गरेको कडा प्रहार फष्र्ट बार हुँदै बाहिरिएको थियो ।

शुक्रबारको खेलमा ब्रिगेड ब्वाइजका लागि निर्णायक गोलकर्ता कजिन बुसारी म्यान अफ दी म्याच घोषित भए ।

बिजयी भएपछि ब्रिगेड ब्वाइजका प्रशिक्षक सुवित कार्कीले ए डिभिजन लिगपछि एकैपटक प्रतिष्पर्धामा उत्रिदा तालमेल नमिलेपनि जित निस्किएकोमा खुशी व्यक्त गरे । उनले अग्रपंक्तिमा तालमेल नमिल्दा स्कोर निस्कन नसकेको भन्दै आगामी खेलमा २ जना स्ट्राइकर थपिने जानकारी दिए ।

पराजित टिमका सहायक प्रशिक्षक प्रह्लाद हिराचनले किपरको गल्तीले पराजित हुनुपरेको प्रतिक्रिया दिए । गोल नै खेलको टर्निङ प्वाइन्ट भएको उनको भनाई थियो ।

प्रतियोगिता अन्तर्गत शनिबार नेपाल पुलिस क्लव र संकटा क्लव प्रतिष्पर्धा गर्ने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

माघ २६ गतेसम्म हुने प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लव, संकटा क्लव, थ्रीस्टार क्लव, नेपाली सेनाको त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ क्लव, हिमालयन शेर्पा क्लव, च्यासल क्लव, ब्रिगेड ब्वाईज क्लव रहेका छन् । त्यसैगरी आयोजकको पोखरा ११, रिस्सो युनिभर्सिटी जापान र डफिन्स टिम फेमेली क्यामरुन प्रतियोगितामा सहभागि हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताए ।

प्रतियोगिताको बिजेतालाई उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ प्रदान गरिने एन्फा कास्कीले जनाएको छ । उपबिजेताले भने ४ लाख ५ हजार प्रदान गरिने एन्फाका महासचिव रमेश कार्कीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने उनले बताए ।

You might also like

Comments are closed.