आरोग्यधाम होमियोप्याथिक र पञ्चम आयुर्वेदको वार्षिकोत्सव

सुरेन्द्र पौडेल
पोखरा, २१ असोज । आरोग्यधाम होमियोप्याथिक हस्पिटल प्रालि र पञ्चम आयुर्वेद क्लिनिकले शनिबार विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाएको छ । हस्पिटलले स्थापनाको छैटौं र क्लिनिकले चौथो वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी अञ्चल आयुर्वेद औषधालयका प्रमुख ओम प्रकाश कलौनीले आयुर्वेद क्षेत्रमा आकर्षण बढेको बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले आयुर्वेदिक उपचारको क्षेत्रमा आरोग्यधाम होमियोप्याथिक स्थापित संस्था बन्न सफल रहेको धारणा राखे ।

कार्यक्रममा मुनाल सहकारीका अध्यक्ष दुर्गाप्रसाद हुमागाईं, टोल विकास संस्थाका अध्यक्ष रुद्रप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए । वार्षिकोत्सवको अवसरमा हस्पिटलले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । उत्कृष्ट एमआरलाई पनि सोही अवसरमा सम्मान गरियो ।

कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि शनिबार नै तालिम समेत आयोजना गरिएको थियो । तालिममा ओम डेभलपमेन्ट बैंकका डेपुटी सिइओ बुद्धि मल्लले सहजीकरण गरेका थिए ।

पत्रकार महासंघलाई २५ हजार सहयोग

वार्षिकोत्सवको अवसरमा हस्पिटलले नेपाल पत्रकार महासंघ कास्की शाखालाई २५ हजार रुपैयाँ सहयोग गरेको छ । कास्कीमा रहेका पत्रकारहरुको क्षमता अभिबृद्धि तथा अक्षयकोष वृद्धिका लागि सहयोग गरिएको हस्पिटलका अध्यक्ष विष्णु चापागाईंले बताए ।

प्रमुख अतिथि कलौनी र हस्पिटलका अध्यक्ष चापागाईंले महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा हस्पिटलले महासंघलाई सहयोग गरेको हस्पिटलका सञ्चालक लक्ष्मी शर्मा चापागाईंले जानकारी दिइन् ।

आयुर्वेद तथा होमियोप्याथिक चिकित्सामा आकर्षण

विगत ६ वर्षदेखि सञ्चालित आरोग्यधाम होमियोप्याथिक हस्पिटल प्रालिमा उपचार गराउन आउनेहरुको आकर्षण देखिएको अस्पतालका अध्यक्ष विष्णु चापागाईंले बताए । ‘हामीले यहाँ आउने विरामीको विश्वास जित्न सफल छौं,’ उनले भने, ‘पारिवारिक वातावरणमा उपचार गराउँछौं ।’

ग्यास्टिक, पिनास, पायल्स, हाडजोर्नी, नशा, छालाका रोग, प्यारालाइसिस, बाथ, पाचन प्रक्रियाका रोगहरुको, नसर्ने सबै किसिमका रोगहरुको उपचार हस्पिटलमा हुन्छ । दुखाइका रोगहरु, हड्डी खिएका रोगहरुको पनि सरल उपचार गरिने सञ्चालक लक्ष्मी चापागाईंले बताइन् ।

‘आयुर्वेद तथा होमियोप्याथिक चिकिस्तामा पछिल्लो समय बिरामीको आकर्षण देखिएको छ,’ उनले भनिन्, ‘आयुर्वेद तथा होमियोप्याथिक चिकिस्ताको क्षेत्रमा आरोग्यधाम होमियोप्याथिक हस्पिटलको नाम अग्र स्थानमा आउन सफल छ ।’

सन् १७९६ मा जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यानले होमियोप्याथिक उपचार पद्दती प्रतिपादन गरेका हुन् । त्यसपछि यो उपचार पद्दती संसारभर प्रचलनमा आएको हो । दीर्घ रोगको उपचारमा यो पद्दती लाभदायक हुने चिकित्सकहरु बताउँछन् ।

होमियोप्याथिक उपचार जर्मनीबाट सुरु भई ब्रिटेन, फ्रान्स हुँदै भारतमा आएको थियो । त्यसपछि भारत हुँदै पाकिस्तान, बङ्गलादेश, श्रीलका र नेपाल भित्रिएको हो । नेपालमा यो पद्दति राणाकालमै भित्रिएपनि सरकारी स्तरमा वि.स. २०१० मा मात्र सुरुवात भएको हो ।

छाला, ग्यास्ट्रिक, दम, एलर्जी, पाइल्स पत्थरी, पिनास, बाथ र हातखुट्टा पोल्ने र झमझमाउने जस्ता रोगको लागि होमियोप्याथिक उपचार पद्दति प्रभावकारी हुने चिकित्सकहरु बताउँछन् ।

You might also like

Comments are closed.