आहा ! रारा गोल्डकपको तयारी अन्तिम चरणमा

 

पोखरा, ७ फागुन

मोफसलकै प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सहारा क्लव पोखराको आयोजनामा यहि फागुन ९ गते विहीबारदेखी हुने १७ औं आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । ‘खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नारासहित हुने प्रतियोगिताको दुई विदेशीसहित १० टीम सहभागि हुने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

यसअघी १२ टिम खेलाउँदै आएको आहा ! रारामा यस वर्ष समय अभावले टिम घटेको आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले बताए । एन्फाले मिति पछि सार्दै जाँदा खेलाउने दिन र टिम दुबै घटाउनुपरेको बताए । उनका अनुसार प्रतियोगिता १० दिन हुनेछ ।

अध्यक्ष थापाका अनुसार प्रतियोगितामा तीन विभागीय टोलि त्रिभूवन आर्मी क्लव, शसस्त्र प्रहरीको एपिएफ क्लव, नेपाल पुलिस क्लव तथा मनाङमस्र्याङ्दी क्लव, धरान फुटवल क्लव, थ्रीस्टार क्लव र हिमालयन शेर्पा क्लवले सहभागिता जनाउँदैछन् । अध्यक्ष थापाले विदेशी २ टिम क्यामरुनको डफिन्स फेमिली टिम फुटवल क्लव, भारतको युनाइटेड सिक्किम फुटवल क्लव र आयोजक सहाराले पनि प्रतियोगितामा सहभागिता जनाउँदैछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लव पोखरा र शसस्त्र प्रहरीको एपिएफ क्लव प्रतिष्पर्धामा उत्रिने आयोजक सहारा क्लव पोखराले जनाएको छ ।

प्रतियोगिताको विजेतालाई ८ लाख १ हजार, उपविजेतालाई ४ लाख १ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर प्रदान गरिने क्लवले जनाएको छ । प्रतियोगिताको अवसरमा २०७४ सालभरीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट नगद रु. ३५ हजार, प्रमाण–पत्र र दोसल्लाले सम्मान गरिने क्लवले जनाएको छ । त्यस्तै प्रतियोगितामा सर्बाधिक गोलकर्तालाई नगद २५ हजारसहित ट्रफी प्रदान गरिनेछ भने उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई नगद १५÷१५ हजारसहित ट्रफी प्रदान गरिने जनाइएको छ ।

एक करोड ३० लाख १ हजार आम्दानी गर्ने लक्ष्य राखिएको प्रतियोगितामा ९७ लाख ९८ हजार ९ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लवका अध्यक्ष थापाले बताए । प्रतियोगिता अवलोकनका लागि प्रि–क्वाटर फाइनल खेलका लागि ८० रुपैयाँ, क्वाटरफाइनलका लागि १०० रुपैयाँ, सेमीफाइनलका लागि १५० रुपैयाँ र फाइनल खेलका लागि २०० रुपैयाँ प्रवेश टिकट दर कायम गरिएको क्लवका अध्यक्ष थापाले जानकारी दिए ।

प्रतियोगिताबाट ३२ लाख २ हजार एक सय रुपैयाँ बचत हुने र सो रकम क्लवद्वारा सञ्चालित सहारा एकेडेमी सञ्चालनार्थ खर्च गरिने प्रतियोगिताका सदस्य सचिव विश्वराज बरालले जानकारी दिए । एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालकहरु रहेका छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा यस वर्षपनि हिमश्री फुड्स प्राली रहेको छ ।

You might also like

Comments are closed.