इच्छा अनुसारको शिक्षा नहुनुले विद्यार्थी संख्या घट्दो

पोखरा, ५ असोज ।

विद्यार्थीको इच्छा र माग अनुसारको शिक्षा नहुनुले ग्रामिण भेगका सामुदायिक क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएको एक कार्यक्रमका वक्ताहरुले औल्याएका छ्न् । आधीँखोला गाउँपालिका ५ स्याङ्जामा रहेको प्रद्युम्न पनेरु बहुमुखी क्याम्पसको १२ औं वार्षिकोत्सव तथा साधारणसभामा बोल्ने वक्ताहरुले समयानुकल विद्यार्थीको आवश्यकता, चाहाना र मागअनुसारको शिक्षा क्याम्पसमा उपलव्ध नहुदा क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएको औंल्याएका हुन् ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रदेश सभा सदस्य मिनप्रसाद गुरुङले शिक्षा देशलाई समृद्ध र सुखी बनाउने मुख्य आधार भएपनि इच्छा र आवश्यकता अनुसारको व्यवहारिक शिक्षा उपलव्ध हुन नसक्दा प्राप्त शिक्षाले मूर्त रुप लिन नसकेको बताए । उनले भने—“केहि वर्ष अघिसम्म आफ्नै घरमा बसेर उच्च शिक्षा प्राप्त गर्ने विद्यार्थी धेरै भए पनि अहिले भने शहरतिर नै धाउनुपर्ने बाध्यात्मक स्थिती छ । जसको कारण हो, अध्ययनपश्चात रोजगारीको ग्यारेन्टी नहुनु ।”उनले गाउँमै बसेर अध्ययन गर्नको लागि पनि आर्थिक अभाव हुने र अध्ययन गरिहाले पनि रोजगार नपाईने स्थितीले उच्च शिक्षाको लागि शहर नै प्रमुख गन्तव्य भएको बताए ।

शिक्षा दिनु मात्र ठुलो कुरा नभएर आम नागरिकलाई आभाष हुने गरी प्रतिफलललाई सकरात्मक रुपमा ल्याउनुपर्नेमा उनको जोड छ । उनले अहिले सामुदायिक क्याम्पस धेरै तर व्यवस्थित गर्न कठिन रहेको प्रस्ट पार्दै क्याम्पसहरुलाई व्यवस्थित गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने बताए ।

आधिँखोला गाउँपालिकाकी उपाध्यक्ष शर्मिला पौडेलले आवश्यकतालाई महसुस गरि स्थापना गरिएको क्याम्पसलाई सबैले सकरात्मक सोचका साथ अगाडी बढाउनुपर्ने र हरेकले पदिय दायित्व निर्वाह गर्नुपर्ने बताईन् ।

कार्यक्रममा जिल्ला समन्वय समितीकी सदस्य तथा क्याम्पस व्यवस्थापन समितीका कोषाध्यक्ष सीता थापा, क्याम्पसका संस्थापक अध्यक्ष ध्रुवराज पनेरु, प्राध्यापक डाक्टर दिलबहादुर क्षेत्री, आँधिखोला गाउँपालिका वडा नम्वर ५ का वडाध्यक्ष कृष्ण पनेरु, नेकपा प्रतिनिधि विश्व पौडेल, नेपाली काँग्रेसका प्रदिप पौडेल लगायतले विद्यार्थीमा नम्वर भन्दा पनि मस्तिष्क सिर्जनशिल हुने खालको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा क्याम्पस प्रमुख कृष्णबहादुर खड्काले क्याम्पसको प्र्रतिवेदन प्रस्तुत गरेका थिए ।

राजेन्द्र क्षेत्रीको अध्यक्षमा नयाँ कार्यसमिती
प्रद्युम्न पनेरु बहुमखी क्याम्पसमा राजेन्द्र क्षेत्रीको अध्यक्षमा नयाँ कार्यसमिती चयन भएको छ । विहिवार भएको १२ औं साधारण सभाले क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्ष ज्ञानु खड्का पौडेल, कोषाध्यक्षमा थमनारायण शर्मा, सदस्य सचिवमा क्याम्पस प्रमुख कृष्णबहादुर खड्का, सदस्यहरुमा चोलाकान्त शर्मा, चुडामणि शर्मा, डासी पनेरू, गिता पौडेल, चनकऋषि लामिछाने र रविन्द्र क्षेत्री रहेका छन् ।

You might also like

Comments are closed.