कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा फागुन १८ देखि २४ गतेसम्म पोखरामा दसौं संस्करणको प्रदेशस्तरीय ‘भायानेट क्यान इन्फोटेक इन एसोसिएन विथ आइएमईपे’ साथमा ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ हुँदैछ । इन्फोटेकमा सूचना तथा प्रविधि क्षेत्रमा भएका नविनतम प्रविधिलाई भित्र्याइने क्यान महासंघ कास्कीले जनाएको छ । यसै क्रममा इन्फोटेक आयोजना गर्नुको उद्देश्य, आकर्षण लगायत विविध विषयमा केन्द्रित रहेर क्यान महासंघ कास्कीका अध्यक्ष युवराज पौडेलसँग गरिएको कुराकानीको सारः
पोखरामा क्यान इन्फोटेक आयोजना गर्नुको उद्देश्य के हो ?
क्यान कास्कीले बिगत १० वर्षदेखि वर्षेनी इन्फोटेक आयोजना गर्दै आइरहेको छ । सूचना तथा प्रविधिको क्षेत्रमा क्रियाशील व्यवसायीहरुको छाता संस्था नै क्यान महासंघ हो । हाम्रो एकमात्र उद्देश्य सूचना तथा प्रविधिको क्षेत्रमा केही गर्नुपर्छ भन्ने नै हो । विशेष गरी सूचना तथा प्रविधि क्षेत्रका नेपालमा भित्रिएका नविनतम प्रविधिलाई आम दर्शक माझ पु¥याउने लक्ष्यसहित इन्फोटेक आयोजना गरिएको हो । जुन उद्देश्यमा हामी सफल भएका छौं । यस क्षेत्रमा चासो दिनेहरुका लागि इन्फोटेक निकै प्रभावकारी बनिरहेको छ ।
इन्फोटेकका आकर्षणहरु के–के छन् ?
बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटी कन्फरेन्स, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, कलेज स्तरीय रनिङशील आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी इन्फोटेकका आकर्षण बन्नेछन् । वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं बिक्री वितरण तथा जानकारी प्रदान गरिनेछ । इन्फोटेकका अवसरमा पुरानो ल्यापटपलाई उचित मूल्य दिएर साटफेर गर्ने व्यवस्थासमेत गरिएको छ । यस वर्ष इन्फोटेकमा रचनात्मक काम गर्ने उद्देश्यले दृष्टिबिहीनहरुका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरेका छौं । अघिल्लो वर्ष गृहणी महिलालाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरेका थियौं ।
दृष्टिबिहीनहरुलाई नै कम्प्युटर शिक्षा किन ?
अहिलेको परिवर्तिन समयमा हरेक मानिसका लागि कम्प्युटर शिक्षा आवश्यक छ । दृष्टिबिहीनहरुलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरेर सबैलाई कम्प्युटर शिक्षाको पहुँचमा ल्याउने हाम्रो पहल हो । इन्फोटेकको अवसरमा पहिलो चरण अन्तर्गत २१ जना दृष्टिबिहीनलाई तालिम दिने काम भइरहेको छ । आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने हाम्रो सोच छ । तालिम पछि उनीहरु प्रविधिसँग नजिक हुनेछन् र आफूलाई प्रविधिमैत्री बनाउन सफल हुनेछन् । क्यानका सदस्य संस्थाहरुसँग समन्वय गरी ३ महिने बेसिक कोर्ष प्रदान गरिनेछ ।
इन्फोटकमा के–कस्ता अफरहरु ल्याउने सोच छ ?
दर्शकलाई आकर्षित गर्न हामीले विभिन्न आकर्षक प्याकेजहरु ल्याउने सोच बताउँदै तयारी समेत गरेका छौं । प्रत्येक स्टलमा सामान खरिद गर्दा १० देखि ६० प्रतिशतसम्म छुट प्रदान गर्नेछौं ।
इन्फोटेकका लक्षित दर्शक को–को हुन ?
सूचना तथा प्रविधिसँग चासो राख्ने तथा आइसिटी प्रयोगकर्ताहरु सबै हाम्रा लक्षित समूह हुन् । विशेष गरी अहिलेको युवा पुस्ता सूचना तथा प्रविधिसँग नजिक रहेकाले उनीहरु नै इन्फोटेकमा बढी सहभागी हुने विश्वास लिएका छौं । समय सापेक्ष प्रविधिसँग अपडेट हुन चाहने सबैलाई हामी इन्फोटेकमा उपस्थित हुन आग्रह गर्दछौं ।
इन्फोटेक बाहेक क्यान कास्कीले अन्य के–के गतिविध गर्दै आएको छ ?
वार्षिक कार्यक्रममा इन्फोटेकलाई हामीले विशेष प्राथमिकतामा राख्दै आइरहेका छौं । यसका साथै क्यान कास्कीका सदस्यहरुलाई लक्षित गरी विभिन्न तालिम तथा सेमिनारहरु आयोजना गर्दै आइरहेका छौं । सामाजिक क्षेत्रमा पनि हामी सक्रिय छौं । वर्षेनी रक्तदान, विभिन्न क्षेत्रमा कम्प्युटर तथा सोलार सहयोग, सरोकारवालाहरुसँग सहकार्य गरी आइसिटीसँग सम्बन्धित सेमिनारहरु लगायतका गतिविधि हामीले गरिरहेका छौं । मे २ (आइसिटी डे)का अवसरमा सूचना प्रविधिसम्बन्धी गतिविधि गर्दै आइरहेका छौं ।
इन्फोटेकसँगै सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल पनि हुँदैछ । कसरी सहकार्य गर्नुभयो ?
सिटी रेवानले पोखरा प्रदर्शनी केन्द्रमा फागुन १७ देखि २५ गतेसम्म सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल गर्दैछ । हामीले पनि सिटी रेवानसँग सहकार्य गरी सोही स्थानमा १८ देखि २४ गतेसम्म इन्फोटेक गर्दैछौं । रेवानका गतिविधिहरु डोम बाहिर हुनेछन् भने हाम्रा स्टलहरु डोममा रहनेछन् । इन्फोटेकलाई अझ भव्य बनाउन सिटी रेवानसँगको सहकार्यले योगदान पु¥याउनेछ भन्ने विश्वास लिएका छौं ।
Comments are closed.