इलाममा अनसन बसेका केसीलाई रातारात काठमाडौं लगियोे

काठमाडौं, ४ माघ । संसदीय समितिबाट पारित चिकित्सा शिक्षा विधेयकको विरोधमा नौ दिनदेखि इलाममा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेपछि बिहीबार राति अचानक काठमाडौं ल्याइएको छ ।

स्वास्थ्य चिन्ताजनक देखिएपछि सेनाको नाइटभिजन हेलिकोप्टरबाट राति नै काठमाडौं ल्याइएको हो । उनलाई अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गरिएको छ । इलाममा हेलिकोप्टर ल्यान्ड गर्न नसक्ने भएपछि केसीलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था मिलाइएको थियो । इलाम अस्पतालबाट उनलाई बिहिबार बेलुका १० बजेर ३ मिनेटमा निकालिएको थियो । राति भद्रपुर पुगेको हेलिकोप्टर केसी लिएर बिहानपख काठमाडौँ आइपुगेको थियो ।

उनलाई काठमाडौं ल्याउने पहल गर्न बिहीबार साँझ पूर्वसभामुख दमननाथ ढुंगाना, माथेमा आयोगका संयोजक केदारभक्त माथेमा र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पनि इलाम अस्पताल पुगेका थिए ।

२५ पुसदेखि इलामको फूलगाछीस्थित एक स्थानीयको घरमा अनशन बसेका केसीको स्वास्थ्य प्रतिकूल भएपछि केही दिनअघि इलाम अस्पताल लगिएको थियो । तर, जटिल अवस्था निम्तिए थप उपचारका लागि अस्पतालमा आइसियूलगायत व्यवस्था नभएकाले अन्यत्र लैजान चिकित्सकहरूले सुझाब दिएका थिए । निमोनिया, मुटुको चालमा गडबडीलगायत समस्या भए पनि केसीले औषधि खान नमानेपछि गत बुधबारदेखि सुईबाटै एन्टिबायोटिक दिन सुरु गरिएको थियो ।

बुधबार केसीको स्वास्थ्य जाँचका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डा। विकास शाह, मुटुरोग विशेषज्ञ डा. प्रशान्त साह, जनरल फिजिसियन डा. अजय यादव, एनेस्थेसियोलोजिस्ट डा. सबिन भण्डारी, ल्याबपर्सन जितेन्द्र यादव र आइसियू नर्स निर्मला बस्नेत इलाम पुगेका थिए ।
नयाँ पत्रिका दैनिकबाट ।

You might also like

Comments are closed.