ईशानेश्वर मन्दिरमा गण्डकी प्रदेश प्रमुख

पोखरा, १४ साउन ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले मध्यनेपाल नगरपालिका वडा नं. ६ रामबजारस्थित ईशानेश्वर महादेव मन्दिरको दर्शन गरेका छन् । साउनको दोस्रो सोमबार उनले करिब १० मिनेटसम्म मन्दिरमा विधिपूर्वक पूजाआजा गरेका हुन् ।

प्रदेश प्रमुख कुँवरले मन्दिरका पुजारी सुर्यमणी सोतीसँग टिका ग्रहण समेत गरेका थिए । मन्दिर दर्शनपछि उनले संचारकर्मीसँग कुरा गर्दै गण्डकी प्रदेशमा आध्यात्मिक पर्यटनको ठूलो सम्भावना रहेकाले सरकारले यसको प्रचारप्रसार गर्न जरुरी रहेको बताए ।

उनले आफू आध्यात्मिक व्यक्ति भएकाले अन्य मन्दिरमा जस्तै ईशानेश्वरमा दर्शन गर्न पुगेको सुनाए । अभिभावकका हैसियतले प्रदेशवासीको सुस्वास्थ्य, दिर्घायुको कामना सहित पूजाआजा गर्नु मेरो कर्तव्य पनि हो’ प्रदेश प्रमुख कुँवरले भने । गण्डकी प्रदेशमा ईशानेश्वरजस्तै थुप्रै महत्वपूर्ण शक्तिपीठ रहेको उल्लेख गर्दै उनले यसको सम्बद्र्धन र प्रचारका स्थानीय सरकार, प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने उनले बताए ।

त्यस अवसरमा ईशानेश्वर महादेव क्षेत्रविकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले प्रदेश प्रमुख कुँवरलाई मायाँको चिनो प्रदान गरेका थिए । अध्यक्ष घिमिरेले मन्दिरको ऐतिहासिकता, उत्पत्ति, संचालन लगायतबारेमा प्रदेश प्रमुख कुँवरलाई जानकारी समेत गराएका थिए । मन्दिरमा साउन महिनाको हरेक सोमबार दर्शनार्थीको भिड लाग्छ भने शिवरात्रीका बेला विशेष मेला लाग्ने गरेको मध्यनेपाल नगरपालिका वडा नं. ६ का अध्यक्ष गगन घिमिरेले जानकारी दिए ।

You might also like

Comments are closed.