उड्ने र गुड्ने साधनमा किन भेदभाव ? कसरी चलिरहेका छन् नेपालमा सार्वजनिक बस ?

रबिना ढकाल ।
कोरोना महामारीको त्रासका कारण लामो समयसम्म बन्द रहेका सार्वजनिक यातायात असोज १ बाट सञ्चालनमा आएका छन् । लकडाउन र निशेधाज्ञा खुकुलो भएसँगै व्यवसायीले ग्यारेजमा थन्किएका गाडी उत्साही हुँदै सडकमा ल्याए र यात्रु ओसारपसार गर्न राजी भए ।

अहिले दैनिक रुपमा सार्वजनिक यातायात सञ्चालन हुने क्रम बढिरहेको छ । व्यवसायीले सवारी साधन मर्मत गर्दै चलाउने क्रम बढेको छ । व्यवसायीहरुले गाडीहरु गुडाउन त सुरु गरे तर राज्यप्रति त्यति सन्तुष्ट  हुन भने सकेनन् । राज्यको विभेदकारी नीतिप्रति उनीहरुका असन्तुष्टि देखिन्छ ।

कोरोना जोखिमलाई मध्यनजर गर्न भन्दै बसहरुमा आधि संख्यामा मात्रै यात्रु राख्न राज्यले व्यवसायीहरुलाई निर्देशन दियो । सो बापत व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत भाडा बढाउन पाउने भए । सार्वजनिक बससँगै यतिबेला हवाई सेवा पनि सुरु भएको छ । हवाई सेवामा भने पुरै सिटमा यात्रु राख्न सक्ने नीति बन्यो ।

सबैको पहुँचमा रहेको सार्वजनिक बसमा आधि संख्यामा मात्र यात्रु राखेर भाडा बढाउने तर सीमित वर्ग र यात्रुको मात्रै पहुँचमा रहेको हवाई सेवामा भने पुरै सिटमा यात्रु बोक्न पाउने नीति बन्नुको अर्थ के हो ? यातायात व्यवसायीहरुले प्रश्न गरेका छन् । बसमा कोरोना सर्ने र जहाजमा कोरोना नसर्ने हुन्छ ? भन्ने उनीहरुका प्रश्नलाई जाहेज पनि मान्न सकिन्छ ।जहाज र बस सञ्चालनका विषयमा भएको निर्णयका कारण केही दुविधा भएको बताउँछन् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला । जहाजमा फुल सिट यात्रु राख्न पाइने तर सार्वजनिक सवारी साधनमा भने क्षमता भन्दा आधा संख्यामा यात्रु राखेर संचालन गर्न भनिएको प्रति उनले असन्तुष्टि व्यक्त गरे ।

‘सरकारले भेदभाव गरेको देखिन्छ । यस विषयमा हामी सरकारलाई लिखित निर्णय दिदैछौं,’ उनले भने, ‘सार्वजनिक यातायात सञ्चालन भएसँगै कोरोना बढेको भन्ने गरेको पाइन्छ । तर, सार्वजनिक यातायात सञ्चालन भएकै कारण कोरोना बढ्दैन । सावधानी अपनाउन हामी तयार छौं ।’

व्यवसायी, मजदुर, यात्रु सबैले स्वास्थ्य सुरक्षाका नियम पालना गर्नुपर्ने र सुरक्षित भएर यात्रा गर्नु आवश्यक रहेको सिटौला बताउँछन् । कोरोना महामारी बढेमा जुनसुकै समयमा पनि लकडाउन तथा निशेधाज्ञा हुन सक्ने भन्दै व्यवसायीहरु पुन सेवा बन्द गर्नुपर्ने होकि भनेर चिन्तित छन् । कतै जानुपर्ने मानिसलाई अहिले नै यात्रा गर्न महासचिव सिटौलाको सुझाव छ । यात्रा गर्दा मास्क तथा सेनिटाइजरको अनिवार्य प्रयोग भइरहेको उनले बताए ।

अहिले करिब २५ प्रतिशत मात्र सवारी साधन चलेको बताउँछन् पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसी । यात्रुको चाप करिव १० प्रतिशत पनि नरहेको उनको भनाई छ । सुरक्षा मापदण्ड पुरा गरेर सवारी संचालन गरेको, चालकले मास्क तथा भाइजरको प्रयोग गरेको उनले बताए । यात्रुलाई सेनिटाइजरको व्यवस्था गरिएको र सवारी साधन पनि सेनिटाइज गरेर संचालन गरिएको उनले जानकारी दिए ।

बस र ट्याक्सीमा मात्र जोर बिजोर प्रणाली लागु हुने, यात्रु संख्या तोकिने तर जहाजको नतोकिएकोमा असन्तुष्ट व्यक्त गर्छन् पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारी । ‘जहाजमा कोरोना नसर्ने बस र ट्याक्सीमा मात्र सर्ने त पक्कै होइन होला,’ उनले भने । कोरोना त्रासका कारण मानिस बाहिर ननिस्किएकाले सडकमा सवारी साधन चले पनि यात्रु नपाएको उनले बताए ।

You might also like

Comments are closed.