पोखरा, १ असोज । पोखराको फिर्केमा रहेको कैलाश बचत तथा ऋण सहकारी संस्थाले फोटोे प्रेम उद्योगसँगै प्रिन्ट तथा कलरल्याब समेत सञ्चालनमा ल्याएको छ । केही समय अघिदेखि फोटोे फ्रेम उद्योग संचालनमा आए पनि आम उपभोक्ता र शेयर सदस्यको माग अनुसार प्रिन्ट तथा कलरल्याब समेत संचालनमा ल्याएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताए ।
अत्याधुनिक मेसिन सहितको उक्त उद्योग संचालनमा थप ५० लाख लगानी भएको अध्यक्ष पौडेलले जानकारी दिए । उद्योगमा हाल ३० जनाले रोजगार पाएका छन् । शेयर पुंजी २ करोड २१ लाख ७५ हजार रुपैयाँ, बचत संकलन ३ करोड १३ लाख रुपैयाँ छ भने ऋण लगानी ३ करोड ४९ लाख रुपैयाँ रहेको कैलाश सहकारीमा हाल १ सय ६८ जना शेयर सदस्य छन् ।
उद्योगको सोमबार एक समारोहका बिच गण्डकी प्रदेशका भूमि कृषि तथा सहकारी मन्त्रालयका सहकारी महाशाखा प्रमुख वद्रीनाथ अधिकारीले शुभारभ्भ गरेका हुन् । उक्त अवसरमा बोल्दै उनले सहकारीको ऋण लिने मानिस कहिल्यै गरिव नहुने बताए । सहकारीको ऋण खाएको मानिस माथि उठ्न नसके त्यस्ता सहकारीको औचित्य समाप्त हुने उनले बताए ।
उत्पादन मुखी उद्योग खोलेर ब्यवसाय गर्ने सहकारी संस्थालाई राज्यले सम्मान तथा सहयोग गर्ने कुरा बताए । कार्यक्रममा फ्लेक्स प्रिन्ट गर्ने ६० जना सदस्यलाई कारोवारका आधारमा नगदले सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष जीवन ढुङ्गानाले स्वागत तथा स्वतन्त्र पत्रकार पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद वास्तोला, संस्थाका पूर्व अध्यक्ष नवीनराज पौडेल, फोटो ग्राफर संघ पोखराका अध्यक्ष तुल्सीराम सुवेदी, लेखा परीक्षण समितिका संयोजक रुद्रनाथ पौडेल, फोटो पत्रकार महासंघ कास्कीका अध्यक्ष इन्द्रप्रसाद पौडेल, नारायणहरि अधिकारी, वाग्लुङ फोटो ग्राफर संघका अध्यक्ष नारायण गौतम, पर्वत फोटो ग्राफर संघका अध्यक्ष नारायण वहादुर केसी, उपाध्यक्ष शिवहरि अधिकारी लगायतले बोलेका थिए । कार्यक्रम संस्थाका सचिव टीकाराम पराजुलीले संचालन गरेका थिए ।