शिवजी कोईराला
अध्यक्ष कृषि सहकारी संघ लि. कास्की
कृषि सहकारी संघ लि. कास्कीको अध्यक्ष हुनुहुन्छ र लामो समय सहकारी क्षेत्रमा कृयाशिल पनि हुनुहुन्छ संस्था सञ्चालनका लागी के कस्ता योजना वनाउनु भएको छ ?
बिशेषगरी नेपालमा सहकारी अभ्यासलाई दिगो बिकासका सन्दर्भमा उद्यमशिलताको बिकासलाई जोडेर अगाडी बढाईएको अवस्था भन्दापनि कोही कसैको सहयोग वा अनुदान पाएपछि त्यसैको आडमा आफुलाई लाभान्वीत बनाउनका लागि कृषि उद्यमी वा कृषि सहकारीकर्मी देखिने प्रयत्न गरेको पाईन्छ । यो अवस्थालाई मेैले मन पराउन सकिन र यथार्थमा कृषि क्षेत्रको व्यावसायिक विकासमा के गर्दा सहज होला भन्ने खोजका क्रममा २०६० सालदेखी कास्की जिल्ला स्थित सबै कृषि सहकारी संस्थाहरुको साझा मञ्च मार्फत कृषि क्षेत्रको व्यावसायिक विकासमा योगदान गर्नसकिने निष्कर्षमा पुगियो र संभव भएसम्म कृषि सहकारी संस्थाहरुको निकट सम्पर्कमा पुगी सहकारी सचेतना अभियानको संचालन गर्ने, व्यवसाय उन्मुख कृषि सहकारी संस्थालाई सीप तथा क्षमताको विकासमा आवश्यक सहयोग उपलव्ध गर्न गराउन पहल गर्ने, कृषि सहकारी संस्थाहरुलाई आफ्नै क्षेत्रमा उपलव्ध स्रोत साधनका आधारमा संचालन गर्न सकिने संभव व्यवसायको पहिचान गराउन र त्यसको सफल संचालनका लागि रणनैतिक योजना बनाउन सहयोग गरी व्यवसायमुखी बनाउन सहयोग गर्ने, उत्पादनका आधारमा दिगो बजार व्यवस्थापन गर्ने समेतका योजनाहरु सहित कृषि सहकारी संघ लि. कास्की जिल्लामा कृयाशिल रहेको छ ।
नेपालमा कृषि सहकारीको अवस्था कस्तो छ ?
नेपालमा सहकारी संस्थाहरुको संचालन संम्वन्धी अभ्यासलाई व्यावस्थापकीय दृष्टिवाट हेर्दा मुलरुपमा नीतिगत समस्या रहेको पाईन्छ । राज्यले नै पक्षपातपूर्ण नीतिगत व्यवस्था अपनाएका कारण नै समस्या सिर्जना भएका हुन् । अझैपनि कृषि सहकारी संस्थाहरु प्रति बिभेदकारी व्यवहार गरिएको पाईन्छ । साना किसान बिकास बैंक लि.लाई सरकारले कृषि उद्यमशिलताको विकासका लागि स्थापना र संचालन गरेको हो तर त्यस बैकले सबै कृषि सहकारी संस्थाहरुलाई समेट्न नसक्ने व्यवहार अपनाएको छ । उसले साना किसान बाहेकका अरु कृषि सहकारी संस्थाहरुलाई फरक भन्दै साना किसान कृषि सहकारी संस्थाहरुलाई मात्र प्रवद्र्धन गर्दै आईरहेको अवस्था छ । अन्य बित्तिय संस्थाहरुवाट ग्रमिण क्षेत्रको धितोलाई अस्विकार गर्ने वा न्युन तहको मुल्यांकन गर्ने बैंकिङ चिन्तनका कारण नेपालको कृषि क्षेत्रको व्यावसायिक विकासमा सहयोग पुग्न सहज भईरहेको छैन । युवा जनशक्तिको विदेश पलायनका कारण पनि कृषि सहकारी संस्थाहरु आवश्यकताको आधारमा परिचालित हुन सकिरहेको छैन ।
कृषि सहकारी र अन्य सहकारी विचको भिन्नता के हो ?
निश्चित समुदायवाट तय गरिएका उद्धेश्यहरुका आधारमा ती उद्धेश्यहरुको प्राप्तीका लागि सहकारी सिद्धान्त मुल्य मान्यताका आधारमा सहकारी माध्यम अपनाउन गठन गरिएको संस्थाहरुलाई नै हामीले सहकारी संस्थाका रुपमा बुझेका छौं । अंगीकार गरिएको उद्धेश्यका आधारमा सहकारी विच भिन्नता तय हुन्छ । यतिबेला जारी गरिएको सहकारी ऐन २०७४ का अनुसार ति फरक फरक उद्धेश्य भएका सहकारी संस्थाहरुलाई फरक फरक विषयगत सहकारीका रुपमा बुझिने गरिन्छ । उद्धेश्यका आधारमा तल्लो तहको संस्था प्रारम्भिक सहकारी संस्था र यी तल्लो तहका कानुनमा व्यवस्था भए बमोजिमको निश्चित संख्याको प्रारम्भिक सहकारी संस्थाहरुको आवद्धता पछि गठन गरीने बिषयगत जिल्ला संघ, जिल्ला सहकारी संघ, हुदै विषयगत केन्द्रिय संघ र राष्ट्रिय सहकारी महासंघ आदि सहकारी अभियानका सांगठानिक रुपहरु तय गरिएको अवस्था छ । बिशेषत कृषि सहकारी संस्थाहरु उत्पादन र प्रशोधन तथा उत्पादित बस्तुहरुको बजारीकरणका क्षेत्रमा आवश्यकताका आधारमा कृयाशिल हुनुपर्दछ ।
कृषि सहकारीले के गर्न हुन्छ र के गर्न हुंदैन ?
कृषि सहकारी संस्थाहरुले आफुलाई बचत तथा ऋण सहकारी सरह बचत तथा ऋण कारोवारमा मात्र सिमित गराउन हुदैन । स्रोत साधनका आधारमा आवश्यक सीप तथा क्षमता हासिल गरी सदस्यहरुको व्यवस्थित परिचालनवाट कृषि उत्पादन र प्रशोधन तथा बजारीकरणका क्षेत्रमा कृयाशिल रही बजारमा देखिएको बिचौलियापनलाई निरुत्साहन गर्न यथोचित प्रयत्नलाई जारी राख्न सक्नुपर्दछ । कृषि सहकारीले संकलित पुँजीको परिचालन कृषि क्षेत्रको व्यावसायिक विकासमा गर्न जरुरी छ ।
सहकारी धेरै छन् र विकृति पनि छन् तपाई सगँ यस क्षेत्रको लामो अनुभव छ सहकारीले के कुरामा सुधार ल्याउनु जरुरी छ ?
निक्षेप गर्ने सदस्य र शेयर सदस्यको समुह बिभाजन सहकारीमा देखिएको सवैभन्दा ठुलो बिकृति हो । भ्रमण तथा अवलोकन कार्यक्रम नगर्ने तर भ्रमण खर्च देखाउने गोष्ठी तथा सचेतना कार्यक्रमको संचालन नगर्ने तर खर्च देखाउने र शेयर सदस्यलाई दिईने मुनाफाको आकार बढाउने यो अर्को बिकृति हो । सहकारीका कर्मचारी सहकारी अभियानको अगुवा हुने स्थिती रहनु पनि एक बिसंगती नै हो तर यो बिसंगतीलाई स्वभाविक मानिएको छ र हामीले सहकारीका कर्मचारीहरुलाई सहकारी अभियानका अगुवाका रुपमा पाईरहेका छौ । सहकारीलाई कम्पनी ठानी यसै अनुरुप सहकारी खरीदबिक्रीको व्यवहार गर्ने खतरनाक बिकृतीबारे नियामक निकाय जानकार हुदाहुदै पनी तद्अनुरुप आवश्यक व्यवहार देखाउन नियामक निकाय असमर्थ रहनु कर्मचारी अगुवा रहेको सहकारी अभियान मौन रहनु झनै दुखद विकृति हो । यद्यपी सहकारीहरु धेरै छन् र बिकृति पनि छन् यो अवश्य हो । तर बिकृति सहकारीमा मात्र होइन बिकृति राज्य तहमा पनि छ र नीजि क्षेत्रमा पनि छ र सहकारीमा पनि यसकारण छ कि मानव समाज भित्र रहेको देखापरेका स्वार्थी प्रबृत्तिले अनाधिकृत तवरवाट धन आर्जन गर्न लाभ हासिल गर्न जहिलेपनि अवसरहरु खोजिरहन्छ । सहकारी ऐन तथा नियमावलीमा रहेको चोरी वाटाहरुले सरकारी निजी वा सहकारी क्षेत्र लगायत सबै क्षेत्रका गलत नियतका बाहकहरुलाई घुसपैठ हुने सहज बातावरण उपलव्ध गराएकोले सहकारी क्षेत्रमा बिकृतिले ठाउँ पाएको अवश्य हो तर सहकारी अभियान यसप्रति सजग छ । यसलाई बुझेर जहिलेपनि नियामक निकाय चनाखो रहिरहन र आवश्यक कानुन नीति नियम जारी गरी प्रोत्साहनयुक्त व्यवहारका माध्यमवाट हरेक क्षेत्रलाई शुद्धिकरण गर्ने कोशिस गरिरहन जरुरी छ । सहकारीलाई यसका सिद्धान्तले मुल्य र मान्यताले मार्गदर्शन गरिरहने हुदा अपेक्षाकृत रुपमा नीजि क्षेत्र भन्दा सहकारी सहज ढंगवाट सुकृति र संस्कारयुक्त हुनसक्ने हुंदा सहकारीलाई संकीर्ण दृष्टिवाट हेरिनु आफैमा अन्याय हुनेछ ।
कास्की जिल्लामा कृषि सहकारीले कसरी काम गरिरहेका छन् ?
संवन्धित निकायमा बचत तथा ऋण सहकारी संस्थाहरु दर्ता गर्न गएका समुहलाई अहिले बचत तथा ऋण सहकारीको दर्ता रोकिएको अवस्था हुदा तपाईहरु यतिवेला कृषि सहकारी संस्था दर्ता गरी काम गर्न सक्नुहुन्छ भन्दै दर्ता गरिदिने गरेका कारण पनि कास्की जिल्लामा बचत तथा ऋण कारोवार मात्र गर्ने केहि कृषि सहकारी संस्थाहरु छन् । २०२४ सालदेखि कृषि विकास बैंकको सहयोगमा कृषि विकास आयोजनाका माध्यमवाट संचालित र गठीत सानाकिसान कृषि सहकारी संस्थाहरु हाल सानाकिसान विकास बैंक वाट पोषित र संरक्षित अवस्थामा छन् । यी सानाकिसान कृषि सहकारी संस्थाका माध्यमवाट केहि व्यावसायिक कार्यहरु संचालन भइरहेका छन् । यस बाहेक धेरै कृषि सहकारी संस्थाहरु ग्रामिण क्षेत्रमा कृयाशिल छन् र उत्पादनमा समर्पित छन् । व्यावसायिकता तर्फ उन्मुखता दिन बांकी देखिएको छ । कृषि मंत्रालय अन्तर्गत संचालित सहकारी खेतीको स्किम तथा प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनासंग जोडिएर कृयाशिल भईरहेका कृषि सहकारी संस्थाहरुको संख्या पनि उल्लेख्य छन् यद्यपी यी सहकारी संस्थाहरुको सबलता एवं सक्षमता अभिबृद्धि नभए सम्म यी कृषि सहकारी संस्थाहरुको प्रभावकारी उपस्थितीमा जटीलता देखिन्छ । यतीबेला कृषि सहकारी संस्थाहरुले जनस्वास्थ्यका दृष्टिमा प्रांगारिक कृषिको औचित्य देखी पं्रागारिक उत्पादनमा जोड दिईरहेको अवस्था छ । बाझो जमीनको उपयोगमा जोड दिईरहेको अवस्था छ । उपयुक्त भुउपयोग नीतिको वकालत गरिरहेको अवस्था छ । कृषि जोगाउन माटो स्वास्थ्य र स्थानीय वीउको संरक्षणमा ध्यान दिनुपर्छ ।
सरकारी पक्षवाट सहकारीलाइ कस्तो सहयोग छ ?
सरकारी पक्षवाट गरिएको प्रयत्नवाट नै भन्नुपर्छ संविधानमै तिनखम्वे अर्थनीतिको व्यवस्था गरि समाजवाद उन्मुख अर्थतन्त्रको विकासमा सहकारी अभियानलाई जोड्ने महत्वपुर्ण कार्य भएको छ र सहकारी मंत्रालयको औचित्यलाई आत्मसात गरिएको छ । यसलाई सहकारी अभियानले नैतिक सहयोगका रुपमा लिएको छ । यसका अतिरिक्त प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि सहकारी संस्थाहरुलाई पनि क्षमता अभिबृद्धि गर्न तयार भई आएमा उत्पादन प्रशोधन तथा बजारीकरण क्षेत्रमा सहयोग गर्न तत्पर भएको जानकारी सार्वजनिक गरिएको अवस्था छ ।
सहकारी एउटा समाजिक आन्दोलन हो सामजिक उत्तरदायित्व पनि हुनु पर्छ सहकारीतामा तर नाफालाइ मात्र सहकारीहरुले हेरेर काम गरेको पाइन्छ यसमा के भन्नु हुन्छ ?
हो सहकारीले सामाजिक उत्तरदायित्व बहन गरिरहेको हुनुपर्दछ । सहकारी दर्शनले सामाजिक न्याय, उत्पादकत्व अभिबृद्धि तथा सामाजिक न्यायमा आधारित उत्पादनको समुचित बितरण पद्धती भनेर मार्गनिदेश गरेको अवस्था हुदा यो सहकारी अभियान सामाजिक आन्दोलन पनि हो । विशेषगरी सहकारी सिद्धान्त मुल्य मान्यता बाहिर रहेर बचत तथा ऋणको कारोवारमा आधारित सहकारीहरुको कारोवार हेर्दा यो सवाललाई ठिक मान्न सकिएला तर सहकारी संस्थाले आर्जन गर्ने नाफा अन्तत सहकारीमा आवद्ध शेयर सदस्य समुदायकै लागि हो तसर्थ सहकारी अभियान नाफा भन्दा पनि सामाजिक न्यायमा आधारित भएर सेवामा दृष्टि दिन्छ भनेर बुझ्दा उपयुक्त हुन्छ भन्ने ठान्दछु ।
सहकारी अभियानका सकारात्मक र नकारात्मक पक्ष के के हुन् ?
सहकारी अभियानले सामाजिक न्याय र उत्पादकत्व अभिबृद्धिलाई जोड दिएको छ र यो चाहन्छ दिगो विकास र दिगो आत्मनिर्भरता यही पक्ष नै सहकारी अभियानको ठुलो र महत्वपूर्ण सकारात्मक पक्ष हो तथापी निर्णय प्रक्रियामा आवश्यक पर्ने नेतृत्व समुहको उपस्थिती र छलफल प्रक्रियाले केहि समय लिने हुंदा यही सवालसंग संवन्धित भएर विचार गर्दा फटाफट छोटो समयमै निर्णय गरी निजी क्षेत्रले फड्को मारेको अवस्थाको स्मरण गर्दा निर्णय प्रक्रियामा केहि सुधार गर्नुपर्ने नकारात्मक पक्ष बिधि तथा प्रक्रियामा छन् की भन्ने मात्र लाग्दछ । अन्यथा उपलव्ध स्रोतसाधनको समुचित उपयोग गरेर समुदायको हितमा सामाजिक आर्थिक प्रगतीका अर्थमा सहकारी अभियानका केहि नकारात्मक पक्ष मैले पाएको छैन । यो अत्यन्त उपयुक्त माध्यम हो ।
कास्की जिल्लामा कृषि सहकारीका सम्भावना र चुनौति कस्ता छन् ?
यदि स्थानीय निकायले माटो बिक्री गर्ने प्रबृत्तिलाई निरुत्साहन गर्दै रेमिट्यान्समा आधारित मानसिकतावाट मुक्त भई सहकारी अभियान संग राम्रो गरी सहकार्य गर्न चाहेमा कृषि सहकारी संस्थाहरुसंग दक्ष र कुशल हुन चाहने जनशक्ति भएका कारण कृषि सहकारी संस्थाका अगुवाईमा जैविक विविधताको उपयोग गरी जडिबुटीको व्यावसायिक खेती गर्दै पशुपालनमा व्यावसायिकता दिदै फलफुल तथा तरकारी खेतीका अतिरिक्त आवश्यक कृषि बालीको उत्पादनका साथ कृषि पर्यटनका माध्यमवाट कृषि उत्पादनमा आत्मनिर्भरता बढाई जिल्लालाई कृषिमा आत्मनिर्भर वनाउदै राष्ट्रिय अर्थतन्त्रलाई मजबुत वनाउन थप योगदान गर्ने तहमा पुग्दै कास्की जिल्लालाई समृद्धि र सभ्यता तर्फ उन्मुख गराउन कृषि सहकारीले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्दछन् । यिनै सहकारीवाट निर्वाह गरिन सक्ने संभावित भुमिकाहरु हाम्रा संभावना हुन र माटो बेच्ने प्रबृत्ति र रेमिट्यान्समा मख्ख हुने प्रबृत्ति चुनौति हुन् ।
अन्त्यमा के भन्नु छ ?
सरकारी क्षेत्रमा पनि थुप्रै बिकृति छन् । निजी क्षेत्रमा पनि अवसरको उपयोग गरी घात प्रतिघात गर्ने घृणित प्रबृत्ति त्यत्तिकै छन् । मानव समुदायमा देखिने गलत प्रबृत्तिले अवसर जता पाउन सक्छ त्यतै देखिने भएको हुदा बिकृतिवाट सहकारी क्षेत्र पनि अछुतो छैन तर सवै क्षेत्रमा देखा परीरहेका बिकृतिलाई न्युनीकरण गर्ने दायित्व सवैको समान दायित्व हुनेहुदा एक क्षेत्रले आफु ठीक छु भन्न मन लागेमा अर्को क्षेत्रको दोष खोतल्ने स्वभावले राम्रो सहकार्यको भुमिका नखेल्ने र अंध्यारोमै अल्मलिने अवस्था रहिरहने हुदा बिकृति बाहकले जहिलेपनि उपाय अपनाउदै देश र जनता लुटीरहने भएको हुदा यसतर्पm सचेत रहंदै सरकार निजी क्षेत्र र सहकारी सबैको संयुक्त अभ्यासबाट मुलुकको निर्माणमा यथोचित सहकार्य गरिनुपर्ने आजको खांचो हो ।
Comments are closed.