उद्यमी बन्न चाहनेहरुका लागि एक्स्पो पोखरा महत्वपूर्ण गन्तव्य बन्ने विश्वास

आर्थिक आवाज
पोखरा, ६ मंसिर । पोखरा उद्योग वाणिज्य संघले मंसिर १३ गतेदेखि आयोजना गर्ने ‘सफल एक्स्पो पोखरा’को तयारीलाई तिब्र बनाइएको छ । एक्स्पोको तयारी अन्तिम चरणमा पुगिसकेको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दामु अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

मेला र महोत्सवमार्फत अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सिकाउने उद्देश्यले संघले एक्स्पो आयोजना गरेको अधिकारीले बताए । सफल एक्स्पो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५ लाई नाम अनुुसारको एक्स्पो बनाउन आफूहरु सफल रहने उनले बताए ।

लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन नाराको साथ हुने एक्स्पो मंसिर २४ गतेसम्म हुनेछ । संघले वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलालाई परिस्कृत गर्दै यो पटकदेखि एक्स्पो आयोजना गर्न लागिएको संघका महासचिव तथा प्रचार प्रसार संयोजक अर्जुन पोखरेलले जानकारी दिए ।

एक्स्पोलाई यसपटक पनि पोखराको औद्योगिक घराना लक्ष्मी हाउसले सघाएको छ । लक्ष्मी समूहको सफल ब्राण्ड यो एक्स्पोको टाइटल स्पोन्सर हो भने नेपाल मोवाइल बितरक संघ, पोखराले पनि यो वर्ष एक्स्पोमा सहकार्य गरेको छ ।

पोखरा उद्योग वाणिज्य संघको आयोजना एवं पोखरा महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिको सहयोग, लक्ष्मी समूहको मूख्य प्रायोजन, नेपाल पर्यटन वोर्ड सहित आइएमई ग्रुपको प्रवद्र्धनमा एक्स्पो आयोजना हुन लागेको प्रथम उपाध्यक्ष नारायण कोइरालाले जानकारी दिए ।

एक्स्पोलाई हिमायलयन डिष्टिलरी प्रालि, गरिमा विकास बैंक, सगरमाथा इन्स्योरेन्स कम्पनी प्रालि, होटल लेक सोर, टुडे मिनिरल वाटर, हन्सराज हुलासचन्द्र सन्स, हरपल चामल, हिमालयन जनरल इन्स्योरेन्स प्रालि, पिजो मोटर्स, सगरमाथा इन्स्योरेन्स प्रालि, फर्निचर ल्याण्ड, बबिन टेलरिङ एण्ड लेडिज कलेक्सन, बोटलर्स नेपाल तराई प्रालिको कोकाकोला लगायतले विभिन्न विधामा प्रायोजन गरेका छन् ।

एक्सपोमा अत्याधुनिक डोममा र साधारण गरी २ सय ५० को हाराहारीमा स्टलहरु रहनेछन् भने ती स्टलमध्ये २० वटा स्टल निन्तान्त औद्योगिक उत्पादनका रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योग तथा अन्य उद्योगहरुको सहभागिताले उद्यमशीलता चाहनेहरु तथा उद्यमी बन्न चाहनेहरुका लागि एक्स्पो महत्वपूर्ण गन्तव्य बन्ने संघको ठहर छ ।

यसैगरी नेपाल पर्यटन बोर्ड एवं पोखरा पर्यटन परीषदको सहयकार्यमा एक्स्पोमा होमस्टे प्रवद्र्धन तथा पर्यटकीय गन्तव्यबारे जानकारी दिने स्टलहरु पनि रहनेछन् भने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकलाका सामग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनहरु एवं विशेष छुटका साथ विभिन्न ब्राण्डका मोवाइल फोन तथा इलेक्ट्रोनिक सामानहरु पनि एक्स्पोका आकर्षण हुनेछन् ।

आधुनिक जीवनको अपरिहार्य साधन बनेको विभिन्न कम्पनीका नयाँ मोडलका मोवाइलको उपलब्धताले मेलालाई थप आकर्षण र भव्य बनाउने संघले बताएको छ । एक्स्पो सम्पन्न गर्न पोखरा उद्योग वाणिज्य संघका अध्यक्षको अध्यक्षतामा मूल समारोह तथा कार्यसम्पादन समितिसहित २४ वटा विभिन्न उपसमितिहरु पनि गठन भएका छन् ।

You might also like

Comments are closed.