शिवप्रसाद सापकोटा
अध्यक्ष
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि, पोखरा
पोखराको पृथ्वीचोकमा रहेको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको १०औं वर्षमा प्रवेश गरेको छ । सहकारी क्षेत्रमा आफूलाई बलियो रुपमा स्थापित गर्न सफल सहकारीको वित्तीय अवस्था, लगानीका क्षेत्र लगायत विविध विषयमा केन्द्रित रहेर अध्यक्ष शिवप्रसाद सापकोटासँग आर्थिक आवाजले गरेको कुराकानीः
सहकारीको वित्तीय अवस्था कस्तो छ ?
सहकारीको शेयर पुँजी ६ करोड ३० लाख रुपैयाँ छ । साढे २२ करोड रुपैयाँको वासलत विवरण छ । करिव १८ करोड रुपैयाँ भन्दा धेरै कर्जा प्रवाह गर्न हामी सफल छौं । सहकारीको शेयर सदस्य ७ सय ७३ जना छौं ।
सहकारीले के–कस्ता क्षेत्रमा लगानी गरेको छ ?
युवा स्वरोजगार कर्जा, कृषि उद्यमशील कर्जा, व्यावसायिक कर्जा, शेयर धितो कर्जा, घरजग्गा कर्जा लगायतका कर्जा प्रवाह गरेका छौं । कृषि, पशुपालन, फलफुल खेती लगायतका उत्पादनमुलक क्षेत्रमा धेरै लगानी छ ।
शेयर सदस्यको हकहितमा के–कस्ता काम भएका छन् ?
शेयर सदस्यको हकहितमा लागि विभिन्न कार्यक्रम गरेका छौं । जन्मदेखि मृत्युसम्म भनेर अभियान संचालन गरेका छौं । सुत्केरी भेटघाट कार्यक्रम छ । सहकारीका सेयर सदस्य सुत्केरी भएमा २ हजार १ सय रुपैयाँ दिन्छौं । शिशुलाई उपहार सहित निःशु्ल्क खाता खोलिदिने व्यवस्था छ । कुनै सदस्यको मृत्यु हुँदा १० हजार १ सय १ रुपैयाँ भेटी स्वरुप सहयोग गर्छौं । यो नयाँ कार्यक्रम हो । आगामी दिनमा छुटट्ै स्रोतको व्यवस्था गरेर यसलाई बढाउँदै लैजाने छौं । सदस्यले वार्षिक वोनसबाट पाउने रकमबाट दिनको १ रुपैयाँको दरले ३ सय ६५ रुपैयाँ छुट्याएर सामाजिक अभियानमा प्रयोग गर्छौं । सदस्यलाई सहकारीप्रति अपनत्व महसुस हुने गरेर काम गरेका छौं । समय समयमा अध्ययन अवलोकन भ्रमण पनि आयोजना गरिरहेका छौं ।
सामाजिक क्षेत्रमा केकस्ता काम सहकारीले गरेको छ ?
सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न कार्यक्रम गर्दै आइरहेका छौं । स्थापना दिवसको अवसरमा वेगनास स्वास्थ्य चौकीलाई ५० हजार रुपैयाँ वरावरको सामान हस्तान्तरण गरेका छौं । विभिन्न विद्यालयमा स्टेशनरी तथा खेलकुदका सामान पनि वितरण गरेका छौं । क्यान्सर पीडित बिरामीलाई मनिपाल अस्पतालमा पुगेर उपचारमा सहयोग होस भनेर आर्थिक सहयोग गरेका छौं । रक्तदान कार्यक्रम पनि समय समयमा गर्दै आइरहेका छौं ।
सहकारी अभियानमा सहकारीको भुमिका के छ ?
नेपाल सरकारले लिएको सुखी नेपाली, समृद्ध नेपाललाई सहयोग पुगोस भनेर शेयर सदस्यलाई सस्तो व्याजदरमा कर्जा उपलव्ध गराउछौं । सहकारी मन्त्रालय तथा विभागले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी हुन्छौं । राज्यले ल्याएका कुरालाई सहकारीको माध्यमबाट पनि सफल बनाउन सकिन्छ । कास्कीको सहकारी अभियान अन्तर्गत हुने हरेक गतिविधिमा हाम्रो सक्रिय सहभागिता छ ।
अन्त्यमा, के भन्न चाहनुहुन्छ ?
सहकारीलाई अहिलेको अवस्थासम्म ल्याउन सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि यसैगरी सवैको साथ र सहयोगको अपेक्षा गरेको छु ।
Comments are closed.