उद्योगमा लगानीमैत्री वातावरण आवश्यक छ : पन्त

बाबुराम पन्त
कार्यकारी निर्देशक : पोखरा नुडल्स प्रालि

 

देशको आर्थिक समृद्धिका लागि उद्योग क्षेत्रमा लगानी बढाउनुपर्छ भनिएपनि अपेक्षा अनुसार नेपाली उद्योगले प्रगति गर्न सकेको छैन । प्रदेश नं. ४ को केन्द्र पोखरा क्षेत्रमा पनि केही साना तथा मझौला उद्योगमात्र छन् । यसै क्रममा पोखरा क्षेत्रमा उद्योगको अवस्था, भावी सम्भावना, सरकारी नीति लगायत विविध विषयमा केन्द्रित रहेर पोखरा नुडल्सका कार्यकारी निर्देशक उद्योगी बाबुराम पन्तसँग आर्थिक आवाजले गरेको कुराकानीः

नेपालमा उद्योगतर्फ लगानीको वातावरण कस्तो छ ?
अहिले नेपालमा उद्योगमा लगानीमैली वातावरण छैन । नेपाल औद्योगिक हव भन्दा व्यपारिक हवको रुपमा विकास भइरहेको छ । सिमेन्ट, रड, छड लगायतका निर्माण सामग्री उद्योगतर्फ भने केही लगानी भएको छ । उपभोक्तालाई धेरै आवश्यक पर्ने र उपभोक्ताको बिचमा पुग्ने खालका उद्योग भने खासै सञ्चालनमा छैनन् । चीन र भारतसँग निर्भर रहनु परेको छ ।

सरकारीबाट उद्योग क्षेत्रमा कस्तो सहयोग हुँदै आएको छ ?
नेपालमा नीतिगत तहदेखि नै औद्योगिक क्षेत्रको उत्पादनलाई जोड नदिएको अवस्था छ । नीति निर्माण तहदेखि नै उद्योग व्यवसायको वारेमा सोच्नु र नीति बनाउनु जरुरी छ । उद्योग क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा रहने दर पनि घटिरहेको अवस्था छ । जबसम्म हामीले नेपालमा उत्पादन क्षेत्रमा वृद्धि गर्दैनौं तबसम्म नेपालको आर्थिक स्थिरता कायम हुन सक्दैन । उत्पादन क्षेत्र भन्दैमा उद्योग कलकारखानामा मात्र लगानी गर्ने भन्न मिल्दैन । कृषि क्षेत्रमा पनि लगानी गर्नु जरुरी छ । कृषि प्रदान देश भनिए पनि हामी यस क्षेत्रमा पनि परनिर्भर छौं । नेपालको उर्वरभूमि बाझो छ । रेमिट्यान्सबाट खाद्यान्न किन्ने क्रम बढेको छ । सरकारले रोजगार दिने भन्दा कर धेरै तिर्ने उद्योग संचालन गर्न चाहन्छ । कर ऐन तथा नीति नियम नै उद्योगमैत्री छैनन् ।

पोखरामा उद्योग सञ्चालनको लागि कत्तिको सहज वातावरण छ ?
पोखरामा उद्योग सञ्चालन गर्न अधिकांश कच्चा पदार्थ तराईबाट ल्याउनुपर्छ । बजारीकरण पनि तराई क्षेत्रबाट नै तथा त्यही बाटो भएर गर्नुपर्छ । ट्रान्सपोर्टेसन कस्ट धेरै लाग्छ । यसकारण पोखरामा सञ्चालन भएका उद्योगले तराईका उद्योगसँग प्रतिस्पर्धा गर्न सकेको अवस्था छैन । जसका कारण पोखरामा औद्योगिक वातावरण खासै राम्रो छैन । पोखरामा उद्योग व्यवसाय संचालन गर्न धेरै अप्ठ्यारो छ । प्रदेश नं ४ मुलत पर्यटकीय क्षेत्र हो । तराईसँग जोडिनको लागि २ राजमार्ग छन् । पृथ्वी राजमार्ग हुँदै मुग्लिन नारयणगढबाट र सिद्धार्थ राजमार्गबाट तराईसग जोडिन्छ । अहिलेको समयमा यी राजमार्गको स्तर खासै राम्रो छैन, जोखिमपूर्ण अवस्थामा छन् । जसका कारण समयमा नै कच्चा पदार्थ ल्याउन कठिन छ ।

प्रदेश ४ मा कस्ता उद्योग सञ्चालन गर्न सहज छ ?
यस क्षेत्रमा पर्यटन व्यवसायलाई विकसित गर्नु आवश्यक छ । यहाँको मुख्य व्यवसाय पर्यटन बनाउनुपर्छ । पर्यटनलाई सहयोग गर्ने उद्योग यस क्षेत्रमा सञ्चालन गर्न सम्भव छ र भविश्य पनि राम्रो छ । मास प्रोडक्सनका उद्योग संचालन गर्न यहाँ धेरै कठिन छ । कृषिजन्य उत्पादन, डेरी उद्योग, बेकरी उद्योग लगायतका उद्योग यस क्षेत्रमा संचालन गर्न सकिन्छ ।

पोखरा औद्योगिक क्षेत्रको अवस्था कस्तो छ ?
पोखरा औद्योगिक क्षेत्र २०३१ सालमा स्थापना भएको हो । तत्कालीन समयमा औद्योगिक क्षेत्रलाई बजार भन्दा धेरै टाढा लगेर स्थापना गरिएको हो । जहाँ औद्योगिक क्षेत्र हुन्छ त्यहाँ रोजगारीको सृजना तथा अवसर पनि हुन्छ । गतिशीलता पनि बढ्छ । गतिशीलता बढेसँगै अन्य विविध व्यवसाय फस्टाउँछ । मानिसको चहल पहल बढ्दै जान्छ । संसारको जुनसुकै अनकन्टार ठाउँमा उद्योग स्थापना गरेपनि बिस्तारै त्यस वरपर मानव बस्ती बढ्दै गएको हामीले देखिरहेका छौं । जुन स्वभाविक पनि हो । मानिसको चाप बढेपछि औद्योगिक क्षेत्र त्यहाँबाट हटाउनुपर्छ भन्ने आवाजहरु उठ्न थाल्छन् । मेरो बुझाईमा यो काम त्यती सरल र सहज छ जस्तो लाग्दैन । उद्योगलाई व्यक्तिगत सम्पत्तिको रुपमा गणना गर्न मिल्दैन । यसले राष्ट्रियस्तरमा नै महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।

औद्योगिक क्षेत्र स्थानान्तरणको कुरा पनि आएको छ नि ?
हामीले औद्योगिक क्षेत्रलाई स्थानान्तरण ग¥यौं भने यहाँको राजस्व घट्न जान्छ । उद्योगले प्रदान गरेको रोजगारीको अवसर पनि घट्न जान्छ । यसले अर्को समस्या सृजना गर्छ । अन्य कुनै वैकल्पिक स्थानमा सार्न उद्योगको लागि आवस्यक पर्ने भौतिक संरचना कसले निर्माण गर्ने र खर्च कसले व्यहोर्ने भन्ने कुरा आउँछ । निजी क्षेत्रले लगानी गर्नु परेमा अन्य स्थानमा लगानी गर्ने सम्भावना हुँदैन । औद्योगिक क्षेत्र सार्ने कुरा सम्भव छ भन्ने मलाई लाग्दैन । लोकप्रियताको लागि यस्तो कुरा उठाउने गरेको हामीले पाएका छौं, जुन सम्भव छैन ।

उद्योगतर्फ व्यवसायीको आर्कषण खासै देखिदैन नि ?
उद्योग यस्तो चिज हो जसमा लगानी गर्नुपूर्व धेरै कुरा सोच्नु आवश्यक छ । यस क्षेत्रमा चुनौति पनि धेरै छ । उद्योग व्यवसायमा दक्ष जनशक्ति आवश्यक पर्छ । यसमा आईपर्ने सबै अप्ठ्यारा सामना गर्न लगानीकर्ता तयार हुनुपर्छ । सरकारले यस क्षेत्रमा लगानीमैत्री वातावरण तयार नगरेका कारण उद्योग क्षेत्रतर्फ व्यवसायीको खासै आर्कषण छैन् ।

पोखरा नुडल्स कस्तो उद्योग हो ?
२०५१ सालबाट हामीले आफैले मेसिनहरु तयार गरी पोखरा नुडल्सको शुरुवात गरेका हौं । धेरै सानो अवस्थाबाट हामीले उद्योग शुरु गरेका थियौं । बजारमा प्रतिस्पर्धा गर्न अप्ठ्यारो भएपछि हामीले आफूले बनाएका मेसिनको सट्टा नयाँ अत्याधुनिक मेसिन सञ्चालन ग¥यौं । हामीसँग अहिले २ वटा मेसिन छन्, जुन चीनबाट ल्याएका हौं ।

उद्योगबाट उत्पादन हुने ब्राण्ड के–के छन् ?
नेपाल भरी नै हाम्रो उत्पादन पुग्ने गरेको छ । रम्वा, बोनस, हटपट, लिडर, ताज, लगायतका चाउचाउका ब्राण्ड हामीले उत्पादन गरेका छौं । अफिस, बजार र उत्पादन क्षेत्रमा गरी हामीसँग करिव ५ सय ५० कर्मचारी कार्यरत छन् । आवश्यकता अनुसार उद्योगमा लगानी विस्तार गरिरहेका छौं ।

You might also like

Comments are closed.