उद्योगी व्यवसायीका लागि घरेलुदेखी अर्थमन्त्रालयसम्म तगारो : मुख्यमन्त्री गुरुङ

 

पोखरा, ४ माघ

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अझैसम्म पनि लगानीको वातावरण बनिनसकेको बताएका छन् । नेपाल राष्ट्र वैंक पोखरा कार्यालयले शुक्रबार आयोजना गरेको ‘समसामयीक आर्थिक तथा वैंकिङ गतिविधी सम्बन्धमा सरोकारवालाहरु बिच अन्र्तक्रियात्मक कार्यक्रम’मा बोल्दै उनले राजनीतिक स्थिरता भएपनि आशंकै आशंका र झञ्झटिलो प्रक्रियाका कारण लगानीको वातावरण बनिनसकेको बताएका हुन् । आशंकै आशंकाले लगानी गर्न कोहिपनि नआएको तथ्य ईंगित गर्दै उनले भने,‘देशमा लगानीको अथाह सम्भावना छ, राजनीतिक स्थिरता पनि छ तर यो भएरमात्र पुग्दैन रहेछ, जताततै आशंकै आशंका छ, यतापनि आशंका, उतापनि आशंका, त्यतापनि आशंका छ, अनि कसरी आउँछ लगानी ? यसको सम्बोधन गर्न जरुरी छ ।’ उद्योग तथा फर्महरुको दर्ता प्रक्रिया झञ्झटिलो हुँदापनि लगानी आकर्षित नभएको भन्दै उनले थपे,‘घरेलुमा गयो घरेलु तगारो, उद्योगमा गयो उद्योगपनि तगारो, राजस्वमा गयो त्यहिं तगारो, हुँदाहुँदा अर्थ मन्त्रालयपनि तगारो भयो, यसरी त लगानी भित्रिदैन, यसलाई सहज बनाउन जरुरी छ ।’

मुख्यमन्त्री गुरुङले लगानीको वातावरण बनाउन गण्डकी प्रदेश सरकार तयार रहेको बताउँदै वैंकहरुलाई आफ्नो प्रदेशमा लगानी गर्न आह्वान गरे । लगानीको मुनाफा हुने र सुरक्षाको प्रत्याभूति दिलाउन प्रदेश सरकार तयार रहेको बताउँदै उनले भने,‘हामी लगानीको लागि उचित वातावरण बनाउन तयार छौं, सुरक्षा दिन तयार छौं, आउनुस्, लगानी गर्नुस् ।’ उनले आर्थिक समृद्धीका लागि वैंकिङ क्षेत्र महत्वपुणृ हुने बताउँदै भने,‘जहाँ सरकार छ त्यहाँ वैंक नभई कसरी समृद्धि हुन्छ ? त्यसैले म तपाईंहरुलाई लगानीका लागि आग्रह गर्दछु ।’

मुख्यमन्त्री गुरुङले राष्ट्र वैंकको कार्यशैलीप्रति असन्तुष्टी जनाए । राष्ट्र वैंकले आफूलाई संघीय सरकारको मात्रै ठानेको टिप्पणी गर्दैै उनले भने,‘राष्ट्र वैंकले संघीय सरकारको मात्रै ठान्नु गलत हो, राष्ट्र वैंक त सातै प्रदेशको हो, ७ सय ५३ वटै स्थानिय तहको हो, अनि ३ करोेड नेपाली जनताको हो, त्यसैले राष्ट्र वैंकले संघीय सरकारलाई मात्रै नभई सबैलाई समेटेर अघि बढ्नुपर्छ ।’ उनले नदुखेको टाउको दुःखाउने मन नभएपनि राष्ट्र वैंकले फेरीपनि संघीय मानसिकता नत्यागेर टाउको दुःखाई राखे अर्को विकल्प चुन्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिए । यद्वपी उनले त्यस्तो अर्को विकल्प बारे भने केहिपनि खुलाएनन् । उनले गण्डकी प्रदेशका सबै स्थानिय तहमा वैंक नपुगेको प्रति चासो राख्दै राष्ट्र वैंकले त्यस्ता वाणिज्य वैंकहरुको पुच्छर निमोठ्नुपर्ने बताए । गण्डकी प्रदेशमा गोर्खाको गण्डकी र धार्चे तथा मनाङको नार्पा भुमे गाउँपालिकामा अहिलेसम्म वैंक पुग्न सकेको छैन । मुख्यमन्त्री गुरुङले पूर्वाधार भएको ठाउँमा अर्थात सहरमा धेरै भन्दा धेरै हुने तर ग्रामिण क्षेत्रमा नपुग्दा त्यसको असर विकास र समृद्धिमा पर्ने बताउँदै भने, ‘वैंक स्थापना गर्न हामीले के गर्नुपर्छ त्यो गर्न हामी तयार छौं, तर वैंक जसरीपनि जानुपर्छ ।’ उनले वैंक पुगेमात्रै विकास र समृद्धि आउने भएकाले सबै स्थानिय तहमा वैंक पुग्नैपर्नेमा जोड दिए । उनले गण्डकी प्रदेश पूर्वाधार निर्माणमा अत्यन्त कमजोर रहेको बताउँदै अब वैंकहरुले पूर्वाधार निर्माणमा सघाउनुपर्नेमा जोड दिए । उनले भने,‘पूर्वाधार निर्माण नभई न पर्यटन, न उर्जा न त कृषिको आधुनिकीकरण नै हुन्छ, त्यसैले वैंकहरुले पुर्वाधार निर्माणमा सघाउनुपर्छ ।’

You might also like

Comments are closed.