उन्नतिको ११ औँ वार्षिकोत्सवमा रक्तदान

पोखरा, १४ जेठ । पोखरा महानगरपालिका–९ नयाँबजारमा रहेको उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेड ११ औँ वर्षमा प्रवेश गरेको छ ।
संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा मंगलवार आयोजना गरेको खुला रक्तदान कार्यक्रमबाट ६२ युनिट रगत संकलन भएको संस्थाका महाप्रवन्धक भगवान भट्टराईले जानकारी दिए ।

गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव एवम् सहकारी महाशाखा प्रमुख बद्रीनाथ अधिकारीले पहिलो रक्तदाता शोभा शर्मालाई ब्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा अधिकारीले सहकारी अघिल्लो वर्ष जिल्लामा उत्कृष्ट बचत तथा ऋण सहकारीको रुपमा सम्मानित भएको स्मरण गर्दै सामाजिक उत्तरदायित्व तथा सदस्यहरुलाई व्यावसायिक बनाउदै लगेकोमा खुशी व्यक्त गरे ।

सहकारी संघसंस्थाहरुले सरकारले ल्याएको एक सहकारी एक उत्पादनको कानूनी व्यवस्थालाई आत्मसाथ गर्नुपर्ने बताए । रक्तसञ्चार केन्द्र पोखराका प्रतिनिधि महेन्द्र केसीले रगत दिनेको संख्या बढेसँगै रगतको माग पनि साथसाथै बढीरहेको बताउँदै पोखरामा हाल दैनिक एक सय युनिट रगत आवश्यक रहेको जानकारी गराए ।

संस्थाका अध्यक्ष राजेश रानाभाटले संस्थाले सदस्हरुको हितसँगसँगै सामाजिक उत्तरदायित्वलाई पनि बहन गर्दै आएको उल्लेख गर्दै सरकारको एक सहकारी एक उत्पादनको नीति पालना गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संस्थाका उपाध्यक्ष लेखनाथ अर्याल तथा सचिव रेवतीरमण भण्डारीले संस्थाका गतिविधिका बारेमा उल्लेख गरेका थिए ।

You might also like

Comments are closed.