उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गदै पोखरा महानगर

पोखरा, २७ कात्तिक ।
महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुदाँ सम्म हिंसा मुक्त समाज बन्न नसक्ने भन्दै पोखरा महानगरले उप–प्रमुखसंग महिला कार्यक्रम संचालन गर्ने भएको छ । गत आर्थिक वर्षबाटै महानगरले कार्यक्रम संचालन गर्ने योजना अनुसार बजेट विनियोजन गरेको भएपनि कार्यविधि निर्माणमा ढिलाई हुदाँ संचालन हुन सकेन । उक्त कार्यक्रम संचालनका लागि आर्थिक वर्ष २०७५÷७६ का लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले निर्वाचित भएको वर्षकै बजेटमा उपप्रमुखसंग महिला कार्यक्रम संचालन गर्ने भन्दै बजेट विनियोजन गरेकी थिइन् तर कार्यक्रम संचालनका लागि आवश्यक कार्यविधि र संचालक समिति गठनमा ढिलाई हुदाँ संचालन हुन नसकेको उपप्रमुख एवं कार्यक्रम संयोजक मञ्जुदेवी गुरुङले बताइन् ।

महिलाहरुको क्षमता अभिबृद्धि गराउदै आर्थिक रुपमा सवल र सक्षम बनाउदै उद्यमशिलताको विकास गराउने उद्देश्यले कार्यक्रम ल्याएको उनको भनाई छ । लैङ्गिक हिंसालाई न्यूनीकरण गर्दै पीडित तथा प्रभावितहरुका लागि संरक्षणात्मक सेवा उपलब्ध गराउने कार्यक्रमले उद्देश्य लिएको छ । कार्यक्रमले महिलाहरुको जीवनमा सकरात्मक परिवर्तन ल्याउने उनको विश्वास छ ।

‘पोखरा महानगरपालिकालाई महिला मैत्री महानगरपालिकाको रुपमा स्थापित गराउन महिला हिंसालाई न्यूनिकरण गर्नुपर्छ र त्यसका लागि महिलाहरु आर्थिक रुपमा सवल र सक्षम हुर्नुपर्ने तथा महिला आफै सक्षम नहुदाँसम्म हिंसाबाट मुक्त हुन सक्दैन भन्ने कुरालाई ध्यानमा राखेर उप– प्रमुख सँग महिला कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।’ कार्यक्रमले पोखरा महानगरपालिका भित्र भएका महिलाहरुको क्षमता अभिबृद्धि गरेर उद्यमशिलताको विकास गर्दै सुरक्षाको प्रत्याभुति, भेदभाव उन्मुलन आदि कार्यहरु गराउन “उप –प्रमुखसँग महिला कार्यक्रम संचालन कार्यविधि” तयार गरि जारी गरेका छौ गुरुङले भनिन् ।

उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत कृषि, व्यवसायीक र घरेलु उद्यमसिलता, रोजगार मुलक, सिप विकास, निर्माण तथा क्षमता अभिबृद्धि सम्वन्धि कार्यक्रमलाई प्राथमिता दिइने छ । त्यस्तै स्थानीय महिला समूहहरुको सक्रियतामा स्थानीय स्तरका कृषि जन्य उत्पादनको बजारीकरण तथा व्यवस्थापन सम्वन्धी कार्यक्रमहरु गर्ने छ । उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा नौ सदस्यीय संचालक समिति गठन भएको छ । समितिमा कार्यपालिकाका पाँचजना सदस्य, उद्यमशिलता र सीप विकासका क्षेत्रमा काम गरेका दुई जना महिला र पोखरा महानगर महिला विकास अधिकृत सदस्यसचिव रहने ब्यवस्था कार्यविधिमा गरिएको छ ।

समितिले महिला सशक्तीकरण तथा सीप विकासको क्षेत्रमा कार्यरत संघ संस्थाहरुसँग समन्वय गरी कार्यक्रमहरु संचालन समेत गर्ने छ । उक्त कार्यक्रमका लागि वडा स्तरबाट माग भई आएका कार्यक्रमको संचालक समितिले आवश्यकता र औचित्यताका आधारमा कार्यक्रम अगाडी बढाउन स्वीकृति दिन सक्नेछ । संचालक समितिले आवश्यक ठानेमा कार्यपालिकाबाट स्वीकृति गराएर महिला उद्यमशिलताका लागि अनुदान तथा ऋण सहायता समेत उपलब्ध गराउन सक्ने उपप्रमुख गुरुङले बताइन् ।

कार्यक्रम संचालन गर्दा विपन्न, अति विपन्न, एकल, हिंसा पिडित, अपाङ्गता भएका, दलित आदिवासी जनजाति र सिमान्तकृत महिलालाई प्राथमिकता दिइने छ । उक्त कार्यक्रमका लागि आवश्यक बजेट महानगर नगर सभाले गर्ने ब्यवस्था गरिएको छ । उक्त कार्यक्रमका लागि वडाका महिला जनप्रतिधिलाई कार्यक्रमहरु माग समेत गरिएको छ । आफनो वडाको आवश्यकताका आधारमा कार्यक्रम माग गर्न महानगरका ३३ वडालाई अनुरोध गरिएको छ उपप्रमुख गुरुङले भनिन्, जति छिटो कार्यक्रम माग भएर आउछन्, त्यही अनुसारमा संचालक समितिले निर्णय गर्छ । कार्यक्रम संचालनका लागि वडाभित्र रहेका महिला जनप्रतिनिधि, सामाजिक क्षेत्रमा क्रियाशिल संघसस्थाका प्रतिनिधिहरुलाई उपप्रमुखसंग महिला कार्यक्रमका बारेमा जानकारी, त्यसले गर्ने काम, गठन प्रक्रिया, संचालक समितिका बारेमा जानकारी गराउदै कार्यक्रमका लागि आआफनो वडामा छलफल गरेर महिलाहरुलाई सिप सिकाएर आर्यआर्जन गराउन सक्ने कार्यक्रमका प्रस्तावहरु महानगरमा पेश गर्न अनुरोध समेत गरिसकिएको छ ।

You might also like

Comments are closed.