एउटै वडामा ४ लाख किलो आलु उत्पादन

तनहुँ,३ चैत
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ८ मा एकै सिजनमा ४ लाख किलो आलु उत्पादन भएको छ । उत्पादन वृद्धि भएसँगै उक्त वडा आलुमा आत्मनिर्भर बनेको छ । ९ लाखको लगानी गरिएको आलु खेतीबाट १ करोड २० लाख वरावरको उत्पादन भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

वडावासी किसानहरूको उत्साहजनक सहभागिता,अथक प्रयासवाट सो वडालाई आलु उत्पादनमा आत्मनिर्भर वनाउन सफल भएको उनले बताए । नगरपालिकाले समुहगत तथा व्यक्तिगत एवम् व्यवसायिक रुपमा आलु खेती गर्ने वडाभित्रका किसानहरुलाई करिब १३ हजार किलो आलुको विउ विजन ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो ।  प्रचलित मूल्यअनुसार १ करोड २० लाख वरावरको आलु उत्पादन तथा विक्रिवितरण भइरहेको रेग्मीले जानकारी दिए ।

उक्त वडामा खाद्यान्न वालीका खेतीयोग्य कुल ६५ हेक्टर क्षेत्रफलको जमिन मध्ये १० हेक्टर क्षेत्रफलमा मात्र आलुखेती गरिएको थियो ।  बाकीं जमिन पनि आलु उत्पादनको हिसावले अति नै उर्वर छ , खेतीयोग्य जमिनलाई सदुपयोग गरी उत्पादनमा लाग्ने हो भने समग्र शुक्लागण्डकी नगरपालिकालाई नै आलु उत्पादनमा आत्मनिर्भर वनाउन सकिन्छ रेम्मीले भने ।

अहिले नै आलु विक्रि वितरण नगर्ने सोचमा रहेका किसानहरु उत्पादित आलु कोल्ड स्टोर सम्म लैजान ढुवानीको व्यवस्था वडाले नै गर्ने गरिदिएको छ । ढुवानीका लागी चैत्र ७ गतेभित्र कृषि सेवा केन्द्रमा सम्पर्क गरी ढुवानी परिमाण वारे जानाकारी गराउन कृषि सेवा केन्द्र ढोरफिर्दिका प्राविधिक सहायक नारायण पौडेलले आग्रह गरेका छन् ।

You might also like

Comments are closed.