एक्स्पर्टको आर्थिक सहयोगमा घाचोकका विद्यालयमा विदेशीको दन्त शिविर

आर्थिक आवाज
पोखरा, २ चैत । कास्कीको माछापुच्छे« गाउँपालिका ३ घाचोकका दुई विद्यालयमा जर्मन भोलेन्टियर संस्था (इ.भी.) को प्राविधिक सहयोगमा आयोजना भएको दन्त शिविर सम्पन्न भएको छ । एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिस पोखराको आर्थिक सहयोगमा आयोजना भएको १० दिने निःशुल्क दन्त शिविर घाचोकमा सम्पन्न भएको हो ।

घाचोकको मेघराज आधारभूत विद्यालय र जनजागरण सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सेवा दिने उद्देश्यले आयोजना भएको शिविरमा दाँत किन माझ्ने, कसरी माझ्ने, नमाझे के हुन्छ ? लगायतका ज्ञान सिकाउनुको साथै किरा लागेको दाँतहरु समेत निकालिएको थियो । शिविरमा मेघराज आधारभूत विद्यालयका ८० जना र जनजागरण सामुदायिकका १ सय १६ जना विद्यार्थीहरुले सेवा लिए । विद्यालयका शिक्षकहरु र स्थानीयहरुले पनि शिविरको फाइदा लिए । शिविरमा जर्मन भोलेन्टियर डाक्टर सह्रा र डाक्टर कृष्टिनाले सेवा प्रदान गरेका थिए ।

घाचोकका ती विद्यालयहरुमा नै शिविर गर्नुको उद्देश्य बालबालिकाहरुलाई मुखको सरसफाईको बारेमा जानकारी दिन, मुखको स्वास्थ्यको बारेमा ज्ञानको कमिले हेलचक्राइँ गरेकाहरुलाई उपचार सेवा दिन साथै स्वास्थ्यजाँचको लागि सहजै पोखरासम्म आउन पहुँच नभएकाहरुलाई सेवा दिनु रहेको शिविरका संयोजक डा. सरोज पोखरेलले जानकारी दिए ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसका म्यानेजिङ डाइरेक्टर रमेश थापाले अन्य शिक्षाको बारेमा धेरै शिविरहरु हुँदै आएको र मुखको सरसफाई बारे कमै हुने भएकाले सहयोग गरेको बताए । ‘हात धुन धेरै ठाउँमा सिकाएको पाइयो,’ उनले भने, ‘हात धुन मात्र सिकाएर भएन । अब मुख पनि सफा राख्नुपर्छ, यसरी सफा राख्न सकिन्छ भन्ने चेतना सानै कक्षा र उमेरका बालबालिकाहरुलाई दिन सकियो भने राम्रो सन्देश जान्छ ।’ सोही शिविरको अबसरमा एक्स्पर्ट एजुकेशनले विद्यार्थीहरुलाई विभिन्न स्टेशनरीका सामग्रीहरु पनि सहयोग गरेको थियो ।

You might also like

Comments are closed.