आर्थिक आवाज
पोखरा, २१ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्स्पो जारी छ । एक्स्पोमा उद्यमशीलता सिकाउन शुक्रबार ‘बि टु बि मिटिङ’ आयोजना हुने भएको छ । नेपाल महिला उद्यमी संघमा आवद्ध महिला उद्यमीहरुको सहभागिता रहने छ भने सो कार्यक्रममा संयोजनमा उद्यमशीलता चाहने महिलाहरुलाई प्रशिक्षण दिइने कार्यक्रम संयोजक तथा संघका उपमहासचिव चिनु गुरुङले जानकारी दिइन् । कार्यक्रम शुक्रबार र शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्रमै आयोजना हुनेछ ।
पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेला अगाडि बढ्दै गर्दा दर्शक र कारोवारमा पनि वृद्धि भएको छ । संघका महासचिव अर्जुन पोखरेलका अनुसार मेलामा रहेका घरायसी सामान तथा अन्य दैनिक उपभोेग्य बस्तुहरुको किनेमेल बढ्दै गएको छ भने मनोरञ्जनात्मक कार्यक्रमहरु पनि उत्कर्षतिर पुगेको छ ।
साँस्कृतिक कार्यक्रम अन्तर्गत नै शुक्रबार चर्चित पप गायक अविनाश घिसिङको विशेष प्रस्तुति रहने साँस्कृतिक उपसमितिका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य केशवबहादुर खत्रीले जानकारी दिए । लोकदोहोरीतर्फ प्रजापति पराजुली, पशुपति शर्मा, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, पार्वती जिसी, सरला पाण्डे, सीता केसी, अमर धिताल, रामजी पौडेल, ज्योति लोहनी, केशव घिमिरे, लक्ष्मी सुवेदी, सीता परियार लगायतले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।
एक्स्पोमा आयोजना भएको लोकदोहारी प्रतियोगिता अन्तर्गत सुमन केसीको समूह र दोहोरी गीत प्रतिष्ठान स्याङ्जाको भीडन्त पनि शुक्रबारको आकर्षण रहनेछ । विद्यालयस्तरीय एकल तथा सामूहिक नृत्य प्रतियोगिता पनि उत्कर्षतिर पुगेकोले रोमाञ्चकता थपिएको उनले बताए । चण्डिका आमा समूह, नमूना आमा समूह, नेपाल प्रहरी महिला संघ, गण्डकी प्रदेशको रत्यौली तथा तायः मचाः साँस्कृतिक झाँकी पनि महोत्सवको आकर्षण रहेको छ ।
यता प्रवेश टिकटमा राखिएको दैनिक पुरस्कारअन्गर्तत बुधबार काटेको टिकटबाट सरस्वती नेपालीले करिब २५ हजार बराबरको युरोगार्ड उपहार प्राप्त गरेकी छन् । बुधबार काटेको टिकट नम्बर ८०५६ को अर्धकट्टीको आधारमा उनले पुरस्कार प्राप्त गरेकी हुन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले विजेता सरस्वतीलाई पुरस्कार हस्तान्तरण गरे ।